Comments Add Comment

महानगरमै बल्ल खानेपानी !

२९ असार, पोखरा । पोखरा महानगरको दुर्गम वडा २० नम्बर वडाको मौजामा खानेपानी समस्या थियो । अग्लो स्थानमा बस्ती भएकाले त्यहाँका जनतालाई खानेपानीको जोहो गर्नै मुस्किल थियो । पोखरा महानगरबासी भएर पनि खोनपानीको सुविधाबाट उनीहरु टाढा थिए ।

मौजाबासीले अहिले लामो समयपछि घर आँगनमै धारा पाए । यसबाट उनीहरु खुसी छन् । गोर्खा वेल्फेयर ट्रस्ट र युके एडले घरघरै धारा जडान गरिदिएपछि खानेपानीका लागि घन्टौं धाउनुपर्ने समस्याबाट उनीहरु मुक्त भएका हुन् । आइतबार ट्रस्टले धारा गाउँलेलाई हस्तारन्तरण गरेको हो ।

ट्रस्टले ग्रामीण खानेपानी सरसफाइ कार्यक्रम अन्तर्गत मौजाको ४५ घरमा धारा बनाइदिएको हो । धारा बनिसकेपछि २ सय ६६ जना लाभान्वित भएका छन् । धारामा पानी काब्रोको युम्जा मुलबाट ल्याइएको ट्रस्टका प्रोजेक्ट म्यानेजर बुद्धिबहादुर श्रीसले जानकारी दिए ।

मौजा खानेपानी आयोजना ३३ लाख ७३ हजार रुपैयाँमा सम्पन्न भएको हो । जसमा स्थानीयको ११ लाख ९९ हजार रुपैयाँ लागत छ । ‘योजना हामीले फागुनमा सुरु गरेर चैत महिनामै सक्यौं,’ प्रोजेक्ट म्यानेजर श्रीषले भने, ‘योजना पूरा गर्न २ महिना लाग्यो ।’

काम चैतमा सकिएको भए पनि अन्य ठाउँमा पनि प्रोजेक्ट पूरा गर्नुपर्ने भएकाले हस्तान्तरणमा ढिलाइ भएको श्रीषले प्रष्ट्याए ।

‘प्रोजेक्ट पूरा भइसकेपछि त्यसको प्रयोग र मर्मतबारे पनि स्थानीयलाई तालिम दिनुपर्ने हुन्छ । त्यही भएर पनि हस्तान्तरणमा ढिलाइ भयो,’ उनले भने । उनले विभिन्न ठाउँमा १ सय १ वटा ट्रस्टका तर्फबाट खानेपानीको योजना सञ्चालन भइरहेको जानकारी दिए ।

पोखरा २० का अध्यक्ष सिम गुरुङले उक्त आयोजना पहिले नै सञ्चालन हुनुपर्नेमा विविध कारणले १ वर्ष ढिलाइ हुन पुगेको बताए । ‘यहाँ खानेपानीको ठूलो समस्या छ । यसका लागि पहिलेदेखि नै पहल गरिरहेको थिएँ । अहिले आएर त्यो काम पूरा भएको छ,’ उनले भने । उनले घरघरमा धारा आइसकेपछि उचित तरिकाले प्रयोग गर्नसमेत गाउँलेलाई सुझाए ।

मौजा पोखरा महानगरको विकट वडा भएकै कारण महानगरबाट पाउनुपर्ने सुविधाबाट बञ्चित हुनुपरेको गुरुङको गुनासो थियो ।

उनले भने, ‘दुर्गममा भएकै कारण धेरै सुविधा पाएका छैनौं । हाम्रो लडाइँ भनेकै महानगरसँग हो । आफूले पाउनुपर्ने सुविधा दिलाउन कुनै कसर बाँकी राख्दिनँ,’ उनले भने । उनले मौजामा कृषिको राम्रो अवसर रहेकाले त्यसलाई सदुपयोग गर्न पनि स्थानीयलाई सुझाव दिए ।

मौजा खानेपानी उपभोक्ता समिति अध्यक्ष देवबहादुर गुरुङले घरमै धारा आइसकेपछि खानेपानीको समस्या धेरै न्यूनीकरण भएको बताए । धारा हस्तान्तरण कार्यक्रममा समिति उपाध्यक्ष खौमाया गुरुङले स्वागत गरेकी थिइन् भने सचिव सीता गुरुङले आयव्यय प्रस्तुत गरेकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment