
३० असार, काठमाडौं । अविरल वर्षाका कारण मकवानपुरस्थित कुलेखानी जलविद्युत आयोजनाको सरोवर भरिएको छ । ईन्द्र सरोवरमा पानी अत्यधिक भएपछि बाँध खोलेर बाहिर निकालिँदै छ ।
कुलेखानीको क्षमताभन्दा बढी पानी भरिएर जोखिम भएकाले जिल्ला सुरक्षा समिति मकवानपुरको बैठकले ड्याम खोलेर पानी निकाल्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले जानकारी दिए । कुलेखानीको पानी कुलेखानी खोला हँुदै वाग्मती खोला भएर बग्छ ।
त्यसैले मकवानपुरका भिमफेँदी, इन्द्रसरोवर, वाग्मती गाउँपालिका, रौतहटको नुनथर, चन्द्रपुर, क्यान्टिन, सर्लाहीको विभिन्न क्षेत्र, सिन्धुलीको हरिहरपुर गढी क्षेत्र आसपासका नागरिकलाई सचेत रहन आग्रह गरिएको छ ।
कुलेखानी जलविद्युत आयोजनाको सरोवर भरिएर २५.४/३० मिटर पुगेको हुँदा बाँध खोलेर नियन्त्रित निकास गर्नुपर्ने भएको छ । केही घण्टा पछि खोल्न शुरु हुन्छ । तल्लो तटिय क्षेत्रमा सतर्कता अपनाउनु होला।
— NEOC, MoHA Nepal (@NEOCOfficial) July 15, 2019
कुलेखानीको क्षमता कूल एक हजार ५३० घनमिटर रहेको छ । बिहान ६ बजेसम्ममा एक हजार ५२५ दशमलव चार घनमिटर पानी भरिइसकेको छ । ३७ वर्षअघि निर्माण गरिएको ड्याम समुद्री सतहबाट ११४ मिटर उचाइमा छ ।
केही घण्टापछि बाँध खोलिने भएकाले तल्लो तटीय क्षेत्रमा सतर्कता अपनाउन गृह मन्त्रालयले अनुरोध गरेको छ । सतर्कताको लागि सम्बन्धित प्रदेश प्रहरी कार्यालयहरुलाई पनि सजग रहन र आवश्यक तयारी गर्न भनिएको छ ।
कुलेखानी आयोजनालाई सुख्खायाममा लागि ‘पावर ब्याक अप’का रुपमा राखिने गरेको छ । कुनै प्रसारणलाइन बिग्रँदा वा सब-स्टेसनमा गडबडी आउँदा प्राधिकरणले यो आयोजना सञ्चालन गरेर विद्युत आपूर्ति गर्छ ।
आपतका बेलामा सञ्चालन गर्न सकिने ‘रिजर्भवायर प्लान्ट’ प्राधिकरणसँग यो एक मात्र हो । सुख्खायाममा ‘पिक आवर’मा विद्युत उत्पादन गरिने भएकाले यस आयोजनालाई महत्वपूर्ण रुपमा लिने गरिन्छ ।
प्रतिक्रिया 4