Comments Add Comment

पानी घटाउन कुलेखानी पूर्ण क्षमतामा चलाइयो, भारतबाट विद्युत आयात घट्यो

३० असार, काठमाडौं । इन्द्र सरोबरमा पानी भरिएपछि कुलेखानी जलविद्युत आयोजनालाई पूर्ण क्षमतामा चलाउन थालिएको छ ।

कुलेखानी पहिलो (६० मेगावाट) र दोस्रो (३२ मेगावाट) पूर्ण क्षमतामा चलाइएको नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जानकारी दिए ।

कुलेखानीको जलाशय अघिल्ला वर्षहरुमा असोजमा मात्र भरिने गरेको थियो । यस वर्ष असारमै भरिएपछि बाँध खोल्नु नपरोस् भनी आयोजनालाई पूर्ण क्षमतामा चलाइएको उनले जानकारी दिए ।

प्राधिकरणले वर्षातको समयमा कुलेखानीको विद्युत्गृह नचलाई राख्ने गरेको थियो । कुलेखानी वर्षाको पानी जम्मा गरी मुख्य रुपमा विद्युत्को अधिक माग हुने हिउँदमा मात्रै चलाउने आयोजना हो । विद्युत्को आवश्यक परेको बेला प्रणालीलाई सन्तुलन कायम गर्न मात्रै कुलेखानी चलाइन्छ । अहिले असारमै पानी भरिएपछि कुलेखानीलाई पूर्णक्षमतामा चलाई भारततर्फको विद्युत् आयात घटाइएको घिसिङले जानकारी दिए ।

यो पनि पढ्नुहोस कुलेखानीमा पानी भरिएपछि बाँध खोलिँदै, गृहले भन्यो- सतर्क रहनू

कुलेखानी पहिलो विद्युतगृह पूर्ण क्षमतामा चलाउँदा एक घण्टामा जलाशयको पानीको सतह २ सेन्टिमिटर घट्ने प्राधिकरणको भनाइ छ । प्राधिकरणका अनुसार अहिले ढक्केबर-मुजफ्फपुर क्रस बोर्डर प्रसारण लाइनबाट करिब १५० मेगावाट मात्र विद्युत् आयात भइरहेको छ । अविरल वर्षका कारण तराईमा विद्युत माग घटेको प्राधिकरणले बताएको छ । अहिले देशभर करीब ६ सय मेगावाट मात्रै माग रहेको छ ।

सतर्क रहन आग्रह

प्राधिकरणले कुलेखानी जलाशय भरिँदै गएका कारणले पानी निकासका लागि बाँधको गेट खोल्नुपर्ने अवस्था आउनसक्ने भएकाले सर्तक रहन तल्लो तटीय क्षेत्रका बासिन्दालाई आग्रह समेत गरेको छ । कुलेखानीको पानी बाग्मती नदीमा गएर मिसिन्छ । ‘जलाशयको पानीको सतह घटाउन जलाशयलाई पूर्ण क्षमतामा चलाइरहेका छौं, यसबाट पनि नघटेमा पानी ‘स्पिल वे’बाट बाहिर जान्छ’ कार्यकारी निर्देशक घिसिङले भने ।

यसो हुँदा पनि पानीको सतह बढेर जलाशयको क्षमताले नभ्याउने अवस्था आए बाँधका गेटहरु खोलेर पानी बाहिर निकाल्नुपर्ने वाध्यात्मक अवस्था आउने उनले जानकारी दिए ।

यो पनि पढ्नुहोस कुलेखानीको बाँध खोल्ने योजना स्थगित, टर्वाइनबाटै निकासको प्रयास

गत वर्ष वर्षभर जलाशयमा पानीको सतह १५२६ मिटर मात्र थियो । यसवर्ष सोमबार विहानसम्ममा १५२६ मिटर पुगेको छ । सोमबार बिहान साढे पाँच बजे १५२५.१७ मीटर रहेको जलाशयको पानीको सतह १० बजे बढेर १५२६ मिटर पुगेको हो । जलाशयमा अधिकतम १५३१ मीटरसम्म मात्रै पानी भण्डारण हुन सक्छ ।

लगातार परिरहेको पानीका कारण तीन/चार दिनमै जलाशयमा पानीको सतह करिब २० मिटर बढेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment