Comments Add Comment

संसदमा बाढी, पहिरो र डुवानबारे छलफल हुन पाएन

३० असार, काठमाडौं । लगातारको वर्षासँगै आएको बाढी, पहिरो र डुवानले देश आक्रान्त बनेको बेला बोलाइएको संसद बैठक भने सूचना टाँसेर स्थगित भएको छ ।

सत्तारुढ नेकपा र प्रतिपक्षी कांग्रेस र राजपाले संसद बैठक बस्न नसक्नुको दोष एकअर्कालाई लगाएका छन् ।

सर्लाही घटनाबारे छानविन गर्न संसदीय समिति गठनको माग गर्दै कांग्रेस र राजपाले २५ असारमा संसद अवरुद्ध गरेका थिए । माग पुरा नभएसम्म सदन चल्न नदिने दुई दलको अडान थियो । तर वढी, पहिरो र डुवानका कारण ६७ जनाको मृत्यु हुनुका साथै धनजनको क्षति भएपछि दुबै दलले सदन चलाउने बाटो खोजे, नियमित कार्यसूची हटाएर बाढीबारे छलफल गर्ने ।

त्यसका लागि मिनेन्द्र रिजाल, पुष्पा भुसाल र राजकिशोर यादवले स्थगन प्रस्ताव दर्ता गरे ।

तर सत्तारुढ नेकपा विपक्षीको स्थगत प्रस्तावलाई संसदमा प्रवेश गराउन तयार भएन । बाढी, पहिरो र डुबानबारे गृहमन्त्री रामबहादुर थापा बादलले सार्वजनिक महत्वको वक्तव्य दिने र शोक प्रस्ताव पेश गर्ने कार्यसूची तयार भयो ।

कांग्रेस प्रमुख सचेतक बालकृष्ण खाँड भन्छन्, ‘हामीले नियमित कार्यसूची स्थगित गरोर स्थगन प्रस्तावमा छलफल गरौं । त्यसमा गृहमन्त्रीले पनि सम्बोधन गर्नुहुन्छ भनेका थियौं । तर उहाँहरुले स्थगन प्रस्तावलाई प्रवेश गराउन चाहनु भएन ।’
बाढी पहिरो र डुवानबारे छलफल गरेर संसदमा भएका सबै दल एकसाथ हिडौं भन्ने आफूहरुको प्रस्ताव भएपनि सरकार एक्लै हिँड्न चाहेको उनको आरोप छ ।

तर सत्तारुढ नेकपाका प्रमुख सचेतक देव गुरुङ भने कांग्रेसको आरोप अस्वीकार गर्छन् । ‘गृहमन्त्रीले सम्बोधन गरेपछि स्थगत प्रस्ताव राखौं र शोक प्रस्ताव पास गरौं भन्दा उहाँहरुले मान्नुभएन’ उनले भने, ‘बनिसकेको कार्यसूची हटाएर स्थगन प्रस्ताव राखौं मात्र भन्नुभयो । यसमा सहमति भएन ।’

दलहरुले आरोप प्रत्यरोप गरिरहँदा सदन भने देशमा विद्यमान प्राकृतिक विपद्बारे छलफल गरेर सरकारलाई आवश्यक निर्देशन दिने अवसर भने गुमाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment