
३० असार, बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिकाले गर्भवती महिला र बालबालिकालाई पौष्टिक आहार वितरण गरेको छ ।
सोमबार वडा नं. ४ को सीमानगरबाट विपन्न तथा मजदुरी गर्दै आएका गर्भवती तथा सुत्केरी महिलाहरुलाई लक्षित गरेर सीमानगरबाट पौष्टिक आहार वितरण अभियान शुरु गरिएको हो ।
प्रारम्भिक चरणमा वडा नं. ३ र ४ का २४० जना गर्भवती महिला तथा दुई वर्षमुनिका बालबालिकालाई पौष्टिक आहार प्रदान गरिने स्वास्थ्य शाखा ईञ्चार्ज काशिनाथ बञ्जाडेले जानकारी दिए । आगामी दिनमा ‘उप–प्रमुखसँग गर्भवती महिला’ कार्यक्रममार्फत् पौष्टिक आहार वितरण कार्यक्रमलाई सबै वडामा कार्यान्वयन गरिने स्वास्थ्य शाखाले जनाएको छ ।
सामुदायिक विद्यालयमा दिवा खाजा चलाएको नगरपालिकाले सुनौलो हजार दिनका महिला तथा बालबालिकालाई पौष्टिक आहार दिएको हो । पोषण आहारमा एक क्यारेट अण्डा, एक लिटर खानेतेल, आयोडिनयुक्त नुन, साबुन, सर्वोत्तम पिठो, बालभिटालगायत छन् । दुई वर्षभित्र बालबालिकाको झण्डै ८० प्रतिशत मानसिक विकास हुने स्वास्थ्यकर्मीहरु बताउँछन् ।
नगर प्रमुख बासुदेव घिमिरेले गर्भवती महिला र दुई वर्षमुनिका बालबालिकाको स्वास्थ्यमा सुधार ल्याउन चेतना अभिवृद्धिका लागि यसप्रकारको अभियान सुरु गरिएको बताए । उप–प्रमुख जागेश्वरी चौधरीले गर्भवती महिला र बालबालिकाको पोषणले जीवनको समग्र स्वास्थ्य अवस्था निर्धारण गर्ने भएकाले नगरपालिकाले यो विषयलाई महत्व दिएको बताइन् । अभियानलाई शहरी स्वास्थ्य केन्द्र र स्वास्थ्य चौकीहरुमार्फत सञ्चालन गरिने छ ।
प्रतिक्रिया 4