Comments Add Comment

मध्यपहाडी राजमार्ग अवरुद्ध हुँदा लोकसेवाका परीक्षार्थीलाई तनाव

मन्त्री भन्छन्ः तीन दिनभित्र सडक सञ्चालन हुन्छ

३१ असार, काठमाडौं । अविरल वर्षासँगै विभिन्न स्थानमा गएको पहिरोले मध्यपहाडी राजमार्ग शुक्रबारदेखि अवरुद्ध छ ।

खुर्कोटदेखि ओखलढुंगा हुँदै सोलुखुम्बु र खोटाङ जोड्ने सडक अवरुद्ध हुँदा लोकसवा आयोगका परीक्षार्थी पनि प्रभावित भएका छन् ।

लोकसेवा आयोगले स्थानीय तहमा कर्मचारी भर्नाका लागि खोलेको विज्ञापनको परीक्षा साउन ४ गतेलाई तोकिएको छ । परीक्षा केन्द्र प्रदेश १ को खोटाङमा पनि छ । सडक सञ्चालन नहुँदा लोकसेवाको जाँच दिने विद्यार्थी परीक्षाबाट बञ्चित हुने खतरा छ ।

ओखलढुंगा, सोलुखुम्बु र खोटाङका सांसदहरुले भौतिक पूर्वाधारमन्त्री रघुवीर महासेठलाई भेटेर सडक सञ्चालन गर्न माग गरेका छन् ।

मन्त्रीलाई दबाव दिन ओखलढुंगाका सांसद यज्ञराज सुनुवार, खोटाङका विशाल भट्टराई र सोलुखुम्बुका हेमकुमार राई मन्त्रालय पुगेका थिए । आफैं तीन दिन पहिरोमा थुनिएर कष्टकर ढंगले काठमाडौं आएको भन्दै ओखलढुंगाका सांसद यज्ञराज सुनुवारले पहिरोमा परेका बेला खिचेको भिडियोसमेत मोबाइलबाट देखाएका थिए ।

सडकको अवस्था देखाउँदै परीक्षा सार्न आग्रह गर्दा लोकसेवालाई नमानेको सांसद विशाल भट्टराईले बताए ।

जवाफमा मन्त्री महासेठले तीन दिनभित्रमा तीनै जिल्लामा सडक यातायात सञ्चालन गर्ने प्रतिबद्धता जनाएका छन् । मन्त्रालयका सचिव र सडक आयोजना प्रमुख समेतलाई राखेर महासेठले भएभरको शक्ति लगाएर भए पनि मध्यपहाडी राजमार्गको खुर्कोट पूर्वको भाग तीन दिनभित्र खोलिने बताए ।

बाढी र पहिरोले गर्दा मध्यपहाडी राजमार्गको खुर्कोट घुर्मी–ओखलढुंगा–सल्लेरी र खोटाङ खण्डका ठाउँ ठाउँमा सडक भत्किएको छ । अक्कड भीर, नवलपुर, खाङसाङ, नागथान, भँडारे, घुर्मी गैरा, सोकु लगायतका ठाउँमा पहिरोले सडक अवरुद्ध भएको सांसद सुनुवारले बताए ।

अहिले सडक सफा गर्न ९ वटा एक्साभेटर सञ्चालनमा रहेको र तीन दिनभित्र सडक सुचारु गर्नका लागि आवश्यक सबै शक्ति परिचालन गरिने मन्त्री महासेठले बताए ।

सांसदहरुले सोखु खोला, बादुरा खोला र खाङसाङमा पुल निर्माण गर्ने ठेक्का पाएको पप्पु कन्सट्रक्सन र सगरमाथा जेभीमाथि कारवाहीको माग समेत गरे । जवाफमा मन्त्रीले पप्पु लगायतका कम्पनीलाई कालोसूचीमा राखिएको र अरुमाथि पनि कारबाही हुने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment