+
+
Shares

अवैध हातहतियार बनाएको र किनबेच गरेको आरोपमा तीन जना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ २४ गते २०:११

२४ भदौ, गुल्मी । गुल्मी प्रहरीले अवैध रूपमा हातहतियार बनाएर बिक्रीवितरणको आरोपमा तीन जनालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय गुल्मीका अनुसार छत्रकोट गाउँपालिका–५ मानकोट ख्याउडाँडाका बुद्धिबहादुर कामी, प्रेमबहादुर सिंजाली र झगिन बिकलाई पक्राउ गरेको हो ।

बुद्धिबहादुरको घर तथा आरनमा खानतलासी गर्दा हातहतियार, हतियार बनाउन प्रयोग हुने औजार तथा जंगली जनावरका आखेटोपहार बरामद गरेको प्रहरीले भनेको छ ।

उनको आरनबाट एक नाले भरुवा बन्दुक एक थान बरामद भएको पनि प्रहरीको भनाइ छ ।

बुद्धिबहादुरलाई समातेर सोधपुछ गर्दा उनले बनाएको बन्दुक प्रेमबहादुर सिंजालीसँग बेचेको खुलाएको प्रहरीले जनाएको छ । त्यसपछि प्रेमबहादुरको घरमा खानतलासी गर्दा एक नाले भरुवा बन्दुक फेला परेको र उनलाई पनि पक्राउ गरेको प्रहरीले जनाएको छ ।

त्यसपछि झगिन बिकको घरमा पनि एक थान भरुवा बन्दुक फेला परेको प्रहरीले जनाएको छ ।

तीनै जनालाई बरामद हतियारसहित बुधबार प्रहरीले सार्वजनिक गरेको छ । बरामद सामग्रीमा विभिन्न साइजका फलामका बन्दुकका नाल ४२ थान, काठको नालसहित फिट भएको भरुवा बन्दुक, निर्माण हुँदै गरेको कुन्जी सहितको सानो ठूलो ले (बट) लगायतका सामग्री छन् ।

    साथै, फलामको छर्रा २२५ थान, बन्दुकका चापु पुर्जा, गेलेन्डर तथा ड्रिल मेसिन, ओल्डिङ मेसिन, पित्तल पाता, हेक्सा ब्लेड, आरी, बसुला, पिलास, फलामको गज र पेचकस लगायतका हतियार निर्माणमा प्रयोग हुने औजार बरामद गरिएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक वीरेन्द्र विश्वकर्माले बताए ।

घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?