Comments Add Comment

सांसदलाई मुख्यमन्त्रीको आग्रह : अध्ययन गरेर मात्र बोल्नुस्

३१ असार, बुटवल । प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले अध्ययन गरेर मात्र बोल्न सांसदहरुलाई आग्रह गरेका छन् ।

नेकपाकै सांसद तुलाराम घर्तीमगरले आइतबार संसद वैठकमा बोल्दै प्रदेश सरकारले गोष्ठी र सेमिनारमा मात्रै १५ दिनमा डेढ अर्ब रुपैयाँ खर्च गरेको आरोप लगाएपछि मुख्यमन्त्री रुष्ट भएका थिए ।

मंगलबार बसेको प्रदेशसभाको बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री पोखरेलले प्रदेशसभाबाटै पारित बार्षिक कार्यक्रम अन्तर्गत गोष्ठी, सेमिनार लगायतका कार्यक्रमहरु भइरहेको तर, १५ दिनमा डेढ अर्ब रुपैयाँ खर्च नभएको दाबी गरे ।

अध्ययन नगरी संसदमा बोल्दा समाजमा नकारात्मक प्रभाव पर्नुका साथै प्रदेशसभा सदस्यकै कार्यक्षमतामा समेत प्रश्न उठ्ने भन्दै उनले विषयवस्तुको अध्ययन गरेर मात्रै बोल्न सुझाव दिए ।

गोष्ठी र सेमिनारका लागि वर्षभरिकै वजेट डेढ अर्ब नभएकाले १५ दिनमा त्यति रकम खर्च हुने कुनै आधार नरहेको मुख्यमन्त्रीले बताए ।

कसैले भनेकै भरमा तथ्यको गहिराइमा नपुगी प्रदेशसभा सदस्यले प्रदेशसभामा विषय उठाएको भन्दै उनले यस्ता कुराले बामे सर्दै गरेको प्रदेश र प्रदेशसभा सदस्यहरुकै गरिमामा आँच आउने तर्क गरे । केही व्यक्ति अहिले निराशाको खेती गर्न लागेको भन्दै उनले निराशाको खेतीले कसैलाई फाइदा नगर्ने बताए ।

आफ्नो चीन भ्रमणबारे प्रदेशसभालाई जानकारी दिँदै मुख्यमन्त्री पोखरेलले भ्रमणले दुई देशबीचको सम्बन्धलाई नयाँ उचाइमा उठाउनुका साथै प्रदेशको विकासमा समेत महत्वपूर्ण उपलब्धी हासिल भएको दाबी गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment