Comments Add Comment

प्रदेश २ को बजेट सर्वसम्मतले पारित

१ साउन, जनकपुरधाम । प्रदेश २ सरकारले आर्थिक वर्ष ०७६/७७ का लागि प्रस्तुत गरेको बजेट पारित भएको छ । मंगलबार बसेको प्रदेशसभा बैठकले सर्वसम्मतिका आधारमा बजेट पारित गरेको हो ।

प्रदेश १ सरकारले गत असार १ रु ३८ अर्ब ७२ करोड ५६ लाख ६१ हजारको बजेट प्रस्तुत गरेको थियो । चालूतर्फ रु १९ अर्ब ११ करोड ९७ लाख ३८ हजार र पुँजीगततर्फ रु १९ अर्ब २६ करोड ५४ लाख ६४ हजार बजेट प्रस्तुत गरेको थियो ।

सरकारले प्रस्तुत गरेको विधेयकउपर प्रतिपक्षी सांसदहरुले उठाएको सवालमा मुख्यमन्त्री लालबाबु राउतसहित सम्बन्धित मन्त्रालयका मन्त्रीहरुले जवाफ दिएपछि बजेट सर्वसम्मतिले पारित भएको हो ।

मंगलबार संसदलाई सम्बोधन गर्दै मुख्यमन्त्री राउतले विगतमा मन्त्रीहरुले जे गरे पनि आगामी दिनमा सांसदहरुको सहभागितामा बजेट खर्च गर्ने प्रतिवद्वता जनाए । उनले आगामी दिनमा सबै सांसदको रोहवरमा बजेट खर्च हुने बताएपछि सत्तासीनका साथै प्रतिपक्षी सांसदहरुले सहमति जनाएका थिए ।

नेपाली कांग्रेसका सांसद् शिवचन्द्र चौधरी र नेकपाकी सदस्य सीता गुरुङ्गले खर्च कटौतीको प्रस्ताव दर्ता गराए पनि सत्तापक्षको आग्रहपछि उनीहरुले आफ्नो प्रस्ताव फिर्ता लिएका थिए ।

प्रदेश सरकारले यसपटक निर्वाचित सांसदले रु ३ करोड र समानुपातिक सांसदले रु १ करोडका दरले पाउने गरी बजेट ल्याएको छ । यसमध्ये निर्वाचित सांसदले रु १ करोड आफ्नै इच्छाले र बाँकी २ करोड संसदीय विकास कार्यक्रमअन्तर्गत पाउने भएका छन् ।

यस्तै, समानुपातिक सांसदले रु १ करोडका दरले बजेट पाउने भएका छन् । यो बजेट समानुपातिक सांसदहरुले आफ्नै इच्छा अनुसार खर्च गर्न पाउनेछन् । प्रदेश २ मा ६४ जना समानुपातिक र ४१ जना समानुपातिक गरी १०७ जना सांसद छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment