
२ साउन, काठमाडौं । अमेरिकी संसद्को माथिल्लो सदनका प्रतिपक्षी दलका नेता चक शुमरले ‘फेसएप’माथि अनुसन्धान गर्न आग्रह गरेका छन् ।
साविकको तस्वीर सम्पादन गरेर तन्नेरी र वृद्ध बनाइदिने यो एप्सको गोपनीयतालाई लिएर अनेक प्रश्न उठिरहेका बेला शुमरले यसमाथि अनुसन्धान गर्न फेडेरल व्युरो अफ इन्भेस्टिगेसन (एफबीआई) र फेडेरल ट्रेड कमिसनसँग आग्रह गरेका हुन् ।
ट्वीटरमा एक पत्र पोस्ट गर्दै शुमरले फेसएपलाई ‘गम्भीर समस्या’ को संज्ञा दिएका छन् । फेसएप असुरक्षित रहेकाले आफ्ना देशका नागरिकको डाटा सत्रूतापूर्ण सम्बन्ध भएका देशले लैजानसक्ने चिन्ता उनले पत्रमार्फत व्यक्त गरेका छन् ।
रसियन कम्पनीले निर्माण गरेको यो एप यतिबेला सामाजिक सञ्जालमा भाइरल छ । एप्सको प्रयोग बढेसँगै प्रयोगकर्ताको गोपनीयताको विषय बहसमा छ ।
तर, फेसएप निर्माणकर्ता रसियन कम्पनीले आरोप अस्वीकार गर्दै आएको छ । एप्सको प्रयोगबाट व्यक्तिको गोपनीयतामा कुनै खतरा नरहेको निर्माणकर्ताको दाबी छ ।
प्रयोगकर्ताको इमेज लामो समयसम्म नरहने उल्लेख गर्दै कुनै डाटा संकलन नगर्ने फेसएपको भनाइ छ । एपले प्रयोगकर्ताले इडिट गर्न चाहेको तस्वीर मात्रै अपलोड गरिदिने उसको दाबी छ ।
‘प्रयोगकर्ताको डाटा रसियामा स्थानान्तरण हुँदैन’, फेसएप निर्माणकर्ता कम्पनीद्वारा जारी विज्ञप्ति उद्धृत गर्दै टेक क्रन्चले लेखेको छ ।
यद्यपि, शुमरले एफबीआई र फेडेरल ट्रेड कमिसनलाई यसमाथि अनुसन्धान गर्न आग्रह गरेका छन् ।
प्रतिक्रिया 4