Comments Add Comment

पुर्नवास र पुनर्निर्माणमा केन्द्रको सहयोग खोज्दै प्रदेश सरकार

२ साउन, जनकपुरधाम । अविरल वर्षासँगै आएको बाढीले प्रदेश २ को अधिकांश जिल्ला डुवानमा पर्‍यो । अरु जिल्लाको तुलनामा रौतहट, सर्लाही, र सिराहा बढी प्रभावित छन् ।

प्रदेश  र स्थानीय सरकार उद्दार तथा राहतमा जुटेका छन् । बुधबार संघीय सरकारका मन्त्रीहरुले डुवान प्रभावित क्षेत्रहरुको अवलोकन त गरे तर, हेलिकोप्टरबाट । खाली हात आएको र पीडितहरुसँग नभेटेको भन्दै मन्त्रीहरुको आलोचना समेत भएको छ ।

संघीय सरकारका मन्त्रीहरुको भ्रमणको भोलिपल्टै प्रदेश सरकारका मुख्यमन्त्री र मन्त्रीहरुको टोली भने राहतसहित रौतहट जिल्ला पुगेको छ ।

मुख्यमन्त्री लालबाबु राउत, आन्तरिक मामिला तथा कानूनमन्त्री ज्ञानेन्द्र यादवसहितको टोली बिहीबार रौतहट पुगेर बाढीपीडितलाई राहत बितरण गरेको छ । ‘हामी रौतहटका लागि एक करोड ३७ लाख बराबरको राहत बितरण गर्दैछौं’ मन्त्री यादवले भने, ‘५ हजार परिवारलाई राहत बितरण गर्ने लक्ष्य छ ।’

उनका अनुसार प्रदेशका आठ वटै जिल्लाका बाढीपीडितलाई राहत बितरण गर्ने योजना छ । ‘यसका निम्ति दुई वटा टोली बनाएर तथ्यांक संकलन गरिरहेको छौं’ उनले भने, ‘पर्सा, बारा, रौतहट र सर्लाहीका लागि एक टोली र महोत्तरी, धनुषा, सिरहा र सप्तरीका लागि अर्काे टोली बनाइएको छ ।’

मुख्यमन्त्री र मन्त्रीहरुको टोली नै प्रभावित क्षेत्रमा पुगेर पीडितहरुको अवस्था पनि बुझ्नेछ । मन्त्री यादवकाअनुसार प्रारम्भीक तथ्यांकअनुसार १८ हजार घर पूर्णरुपमा क्षतिग्रस्त भएको छ भने १ लाख २५ हजारमा आंशिक क्षति पुगेको छ ।

पुर्नवास र पुनःनिर्माणमा संघको सहयोग आवश्यक

बाढीले व्यक्तिको घर मात्र होइन, सडक, विद्युत लगायतका संरचनामा पनि क्षति पुर्‍याएको छ । सडकहरु भत्किँदा आवतजावतमा समस्या भएको छ भने तटबन्धहरुमा पनि क्षति पुगेकाले फेरि पानी परे थप क्षति हुने खतरा छ ।
बाढीले क्षति पुर्‍याएका संरचना बनाउन आफूले मात्र नसक्ने प्रदेश २ सरकारले बताएको छ । आन्तरिक मामिलामन्त्री यादवले भने, ‘संघले सहयोग नगरेसम्म सबै संरचना बन्न सक्दैन ।’

उनका अनुसार आठै जिल्लाको सदरमुकाम प्रवेश गर्ने सडक क्षतिग्रस्त हुनुका साथै मुख्य सडकहरु पनि बिग्रिएको छ । मुख्य नदीहरुको तबटबन्ध धेरै ठाउँमा भत्किएको छ । मर्मत सम्भार गराउन प्रदेश सरकारको आर्थिक क्षमताले नभ्याउने मन्त्री यादवको भनाइ छ ।

बाढीका कारण घर गुमाएकाहरुलाई आवास उपलब्ध गराउन पनि केन्द्रको सहयोग चाहिने उनले बताए । ‘पुनर्वास र पुनर्निर्माणमा केन्द्र सरकारले सहयोग गर्छ भन्ने हाम्रो विश्वास छ’ उनले भने, ‘प्रधानमन्त्रीले सकारात्मक जवाफ दिनुभएको छ ।’

उद्वारका लागि हेलिकप्टर माग

बुधबार संघीय सरकारका मन्त्रीहरुको टोली बाढी प्रभावित क्षेत्रमा आउँदा मुख्यमन्त्री राउतले हेलिकप्टर माग गरेका छन् ।

जिल्लाहरुमा आउने बाढीमा धेरै व्यक्ति फँस्ने गरेकाले द्वारका लागि हेलिकप्टर चाहिएको मन्त्री यादवले बताए । ‘यस पटकको बाढीमा धेरै व्यक्ति दुई दिनसम्म फँसेका थिए’ आन्तरिक मामिलामन्त्री यादवले भने, ‘उनीहरुलाई जसोतसो उद्वार गरेर सुरक्षित स्थानमा ल्याइएको छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment