Comments Add Comment

हिमाली किसानका दुख : हिउँ नपरे घाँस छैन, बढी परे चौपायाको आश छैन

३ साउन, पोखरा । गएको हिउँदमा हिमपातका कारण लोमान्थाङका वाङ्दी गुरुङका ५४ वटा याक र चौंरी मरे । वाङ्दीले १ सयभन्दा बढी याक, चौंरी पालेका थिए । त्यसको आधाभन्दा धेरै हिउँले खायो । हिमपातले मारिदिएको याक र चौरी मात्र होइन, त्यो त उनकै सपना र खुसी थियो ।

‘एउटै याकलाई १ लाख २० हजारसम्म पर्छ, पोथी चौंरी पनि ८० हजार तल पर्दैन । ५४ हिमपातले खाइदिँदा कस्तो भयो होला, आफैं हिसाब गरम न,’ आफ्नो दुःख साटे वाङ्दीले ।

हिमपातमा चौपाया गुमाउने वाङ्दी एक्ला होइनन् । माघ, फागुनमा परेको हिमपातले खुसी लुटिने किसान दर्जनौं छन् ।

हिमपातका कारण हरेक वर्ष चौपाया मर्छन्, तर यसपालि मुस्ताङमा ५ हजारभन्दा बढी चौपाया मरेका छन् । यो हिमाली किसानको दुःख हो– हिउँ नपरे खर्कमा घाँस उम्रिँदैन, बढी हिउँ परे चौपाया मर्छन् । हिमाली क्षेत्रका किसानलाई हिउँदमा याक, चौंरी, घोँडा, च्यांग्रा, भेँडा, गाईलगायतका चौपाया जोगाउनै हम्मे पर्छ ।

हिमपातले लोमान्थाङकै कुङ्गा गुरुङलाई पनि कम पिरोलेन । हिमपातले उनका पनि घोडा, चौंरी र याक खाइदियो ।

नेपालको हिमाली भेग र तिब्बतको पठारमा विचरण गर्ने गाई नै मुख्य आम्दानी र जीवनयापनको स्रोत हो । गत हिउँदमा उपल्लो मुस्ताङका किसानको याक, चौंरीमात्रै हिमपातले लगेन, तल्लो क्षेत्रका च्यांग्रा, भेँडा, गाईलाई पनि हिमपातले लग्यो ।

याकको मुख्य गोठ नै खर्क हो । भेडा, च्यांग्रा, घोडाका लागि किसानले घुम्ती गोठ बनाउँछन् । तर, ती घुम्ती गोठ पनि हिउँले पुरिएर थुप्रै भेँडा, च्यांग्रा मरेको थासाङका किसान महेन्द्र शेरचनको दुखेको छ । ‘हिमाली किसानका लागि हिउँ नै बरदान र कहिलेकाहीँ हिउँ नै अभिसाप बन्छ,’ शेरचनले भने ।

वाङ्दी, कुङ्गा, महेन्द्रजस्ता सयौं किसानले गत हिउँदमा परेको हिमपातको मार खेपे । ‘हिमपातले पुर्‍याएको क्षतिको कुनै लेखाजोखा नै छैन,’ मुस्ताङका सिडिओ गंगाबहादुर क्षेत्रीले भने, ‘कुनै चौपाया हिउँमा पुरिएर मरे, कति चौपाया कठ्यांग्रिएर मरे ।’

प्रदेश सरकारको मल्हम

हिमपातले सयौं चौपाया मरेपछि संघीय कृषिमन्त्री चक्रपाणि खनालले मुस्ताङ पुगेर किसानलाई सान्त्वना दिए, ‘पीडित किसानलाई सरकारले राहत उपलब्ध गराउने छ ।’ प्रदेश सरकारको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले निर्णय नै गर्‍याे, ‘हिमपातले चौपाया मरेका किसानलाई धेरै थोरै राहत उपलब्ध गराउने छौं ।’

संघ र प्रदेश सरकारले सँगै किसानलाई राहत उपब्ध गराउने सल्लाह भयो । तर, संघ सरकारबाट राहतको रकम नआएपछि प्रदेश सरकार मुस्ताङ पुगेर पीडित किसानको पीडामा मल्हम लगाएको छ ।

असार मसान्तमा मुस्ताङका पाँचै स्थानीय तहमा पुगेर कृषिमन्त्री लेखबहादुर थापा आफैंले किसानलाई राहत उपलब्ध गराए । ५४ वटा याक तथा चौंरी मरेपछि दुखी बनेका लोमान्थाङका किसान वाङ्दीले २ लाख १२ हजार रुपैयाँ राहत रकम पाए ।

‘यसअघि पनि याक, चौंरी त मर्थे । तर, अहिले ठूलो संख्यामा मरे,’ वाङ्दीले भने, ‘अहिलेसम्म कुनै राहत पाइएकै थिएन । क्षति ठूलो बेहोरे पनि यसपाली केही राहत रकम पाउँदा पनि खुसी मिलेको छ ।’

हिमाली क्षेत्रका किसानले आउ–जाउ गर्ने र ढुवानी गर्ने साथी घोडासमेत हिमापातबाट गुमाउनु पर्‍याे । एउटा घोडाको मूल्य १ लाख वा त्योभन्दा बढी पर्छ । मुस्ताङमा एउटा भेँडा वा च्यांग्राको मूल्य २० देखि ३० हजार रूपैयाँ पर्छ ।

मुस्ताङ जिल्लाभरि गाउँपालिका, जिल्ला प्रशासन कार्यालय हुँदै मृत चौपायाको विवरण संकलन भएको थियो । प्रशासनबाट प्राप्त विवरणकै आधारमा प्रदेशको कृषि मन्त्रालयले झन्डै ४ सय पीडित किसानलाई करिब ५ हजार चौपायाको करिब ४९ लाख रुपैयाँ राहत उपलब्ध गराएको छ ।

‘किसानलाई क्षतिपूर्ति उपलब्ध गराएका होइनौं । किसानले ठूलो क्षति बेहोरेका छन्,’ प्रदेशका कृषिमन्त्री लेखबहादुर थापाले भने, ‘ढिलै भएपछि गाउँसम्मै पुगेर किसानको पीडामा मल्हम लगायौं ।’

मन्त्री लेखबहादुर थापामगर, मन्त्रालयका अधिकृत तथा भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र म्याग्दीका प्रमुखसहितको टोली गाउँ पुग्दा संकलित विवरणमै छुटेका किसानसमेत भेला भएका थिए । मन्त्रालयले अति विपन्न तर सबै चौपाया गुमाएका किसानलाई समेत थप राहत उपलब्ध गरायो ।

मरेका चौँरी, याकको ठूलो प्रतिगोटा ४ हजार रुपैयाँ, घोडा ३ हजार, गाई १ हजार ५ सय तथा च्याङग्रा, भेँडा, बाख्राको ९ सय ५० रुपैयाँका दरले कृषि मन्त्रालयले राहत उपलब्ध गराएको कृषिमन्त्री थापाले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment