Comments Add Comment

तस्वीरमा सिगात्से रेल स्टेसन

६ साउन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको २०७२ चैतमा भएको साताव्यापी चीन भ्रमणसँगै चिनियाँ रेल काठमाडौं आउने कुराले चर्चा पाउन थाल्यो । तर, प्रधानमन्त्री ओलीको दोस्रो कार्यकालको दोस्रो वर्ष चलिरहँदा केरुङ–काठमाडौं रेलमार्गको संभाव्यता अध्ययनसमेत हुन सकेको छैन ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गतको रेल विभागका अनुसार यो रेलमार्गको विषयमा पूर्वसम्भाव्यता अध्ययन भने भइसकेको छ । सम्भाव्यता अध्ययन र डिजाइन सम्पन्न भएपछि निर्माण कार्यप्रारम्भ हुन्छ । यो रेलमार्गको विषयमा नेपाल र चीनबीच चारपटक संवाद भएको छ ।

केरुङ–काठमाडौं रेलको कुरा गर्दा विर्सन नहुने कुरा के हो भने केरुङ आफैंले रेलमार्गको पहुँचबाट ५४० मिलोमिटर टाढा छ । चिनियाँ रेलको पहुँच चीनको स्वशासित क्षेत्र तिब्बतको दोस्रो ठूलो शहर सिगात्सेसम्म मात्रै छ ।

तिब्बतको राजधानी ल्हासाबाट २५३ किलोमिटर दुरीमा रहेको सिगात्से रेलमार्गमा जोडिएको पाँच वर्ष भएको छ । चार वटा स्टेसन पार गरेर दिनमा दुईवटा यात्रुबाहक रेल ल्हासा–सिगात्से आवत–जावत भइरहेको सिगात्सेस्थित रेल स्टेसनका निर्देशक वाङ झिनपिङले जानकारी दिए ।

सीमावर्ती शहर केरुङसम्म रेलमार्ग जोड्ने विषयमा भने निर्देशक वाङसँग प्रष्ट जवाफ थिएनन् । ‘रेलमार्ग विस्तारसम्बन्धी सम्पूर्ण योजना केन्द्रीय सरकारको नीति अनुसार हुन्छ’ असार अन्तिम सञ्चारकर्मीहरूलाई उनले भने, ‘केरुङसम्म रेलमार्ग पुग्ने वा नपुग्ने कुराको विस्तृत जानकारी हामीलाई छैन ।’

सिगात्से टाढा छ

ल्हासालाई २००६ मा रेलमार्गमा जोडेको आठ वर्षपछि नै चीनले सिगात्सेमा रेल पुर्‍यायो । त्यसको छ वर्षपछि अर्थात २०२० मा केरुङसम्म रेल पुर्‍याउने घोषणामा उसले संशोधन गरिसकेको छ । चिनियाँ सरकारी सञ्चार माध्यम ग्लोबल टाइम्सका अनुसार केरुङसम्म रेलमार्ग पुर्‍याउने परियोजना २०२२ सम्म धकेलिएको छ ।

चीनद्वारा आयोजित दोस्रो बिआरआई अन्तराष्ट्रिय शिखर मञ्चको ३८ बुँदे घोषणा पत्रमा ‘नेपाल–चीन सीमापरा रेलमार्ग सहित नेपाल–चीन हिमालयपार बहुआयामिक सम्पर्क सञ्जाल’ बारे उल्लेख छ । तर यसलाई काठमाडौंसम्म रेल पुग्ने सुनिश्चितताका रुपमा लिन नहुने जानकारहरू बताउँछन् ।
गत जेठ पहिलो साता काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा नेपालका लागि चिनियाँ राजदुत हउ यान्छीले क्रस बोर्डर लाइन रेलमार्ग निर्माण कार्य भौगोलिक हिसाबले खर्चिलो र धेरै कठिन रहेको धारणा राखेकी थिइन् । यद्यपि चीन सरकार काठमाडौंसम्म रेल ल्याउन प्रतिबद्ध रहेको भन्न भने उनले छुटाइनन् ।

नेपाल सरकारले २० वर्षभित्र चीन–तिब्बत जोड्नेसहित चार हजार किलोमिटर रेल संजाल निर्माण गर्ने लक्ष्य लिएको छ । आगामी पाँच वर्षभित्र ७५० किलोमिटर रेलमार्ग निर्माण गर्ने लक्ष्य लिएको सरकारले चालु आर्थिक वर्षमा रेलमार्ग विकासका लागि ७ अर्ब ७० करोड रुपैयाँ बिनीयोजन गरेको छ ।

काठमाडौंसम्म रेल सञ्जाल जोडिने/नजोडिने निश्चित नभए पनि ६०० किलोमिटर टाढाको शहर सिगात्सेवासीले भने २०७१ सालदेखि आफूलाई रेल यात्रासँग अभ्यस्त गराउँदै लगेका छन् । सिगात्से रेल स्टेसनका निर्देशक वाङ ल्हासा–सिगात्से रुटमा दैनिक दुई हजार यात्रु आवतजावत गर्ने गरेको बताउँछन् ।

साढे दुई सय किलोमिटर भन्दा टाढाको गन्तव्य जम्मा दुई घण्टा १५ मिनेटमा पार गर्न पाउँदा यात्रुहरू दंग पर्ने गरेको वाङले सञ्चारकर्मीहरूलाई बताए । सिगात्से रेल स्टेसनका थप दृश्य:

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment