+
+
Shares

माथिल्लो तामाकोसीको ठाडो सुरुङमा साढे २७ मिटर पेनस्टक पाइप जडान

अनलाइनखबर अनलाइनखबर
२०७६ साउन ६ गते १५:२०

६ साउन, दोलखा । माथिल्लो तामाकोसी जलविद्युत आयोजनाको ठाडो सुरुङ (भर्टिकल साफ्ट) मा २७.५ मिटर पेनस्टक पाइप जडान गरिएको छ ।

आयोजनाको सबैभन्दा जटिल मानिएको तल्लो ठाडो सुरुङमा २० मिटर र माथिल्लो ठाडो सुरुङमा ७.५ मिटर पेनस्टक पाइप जडान गरिएको हो ।

तल्लो ठाडो सुरुङमा गत १ असार र माथिल्लोमा ९ असारबाट पेनस्टक पाइप जडान सुरु गरिएको थियो । ३७२ मिटर लामो तल्लो पेनस्टक साफ्टमा अब ५ मिटर लम्बाइ र २७ टन तौल भएका ७० वटा पाइप जडान गर्न बाँकी छ । माथिल्लो पेनस्टक साफ्टको लम्बाई ३१० मिटर छ ।

पेनस्टक पाइप आपूर्ति तथा जडानको लट २ को ठेक्का पाएको भारतीय कम्पनी टेक्स्म्याकोले काममा ढिलाइ गरेपछि तल्लो ठाडो सुरुङमा पाइप जडानको जिम्मा लट ३ को ठेकदार अष्ट्रियन कम्पनी एन्ड्रिज हाइड्रोलाई दिइएको छ ।

अपर तामाकोसी हाइड्रोपावर लिमिटेड, टेक्सम्याको र एन्ड्रिजबीच गत २३ पुसमा आयोजनालाई थप वित्तीय भार नपर्ने गरी यो काम गर्न त्रिपक्षीय सम्झौता भएको थियो । माथिल्लो ठाडो सुरुङमा पाइप जडान भने टेक्स्म्याकोले नै गरिरहेको छ ।

नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक एवं आयोजनाको प्रवर्द्धक अपर तामाकोसी हाइड्रोपावर लिमिटेडका अध्यक्ष कुलमान घिसिङले आइतबार निर्माणस्थलको निरीक्षण गरी आगामी चैत दोस्रो हप्ताभित्र पहिलो युनिटबाट विद्युत उत्पादन हुने गरी काम गर्न निर्देशन दिए ।

आयोजनाको पछिल्लो तालिकाअनुसार पहिलो युनिटबाट २०७६ चैत दोस्रो साताभित्र ७६ मेगावाट र बाँकी ५ युनिटबाट २०७७ चैत मशान्तभित्र विद्युत उत्पादन गर्नुपर्छ ।

‘निर्माण सम्पन्न हुने समय तालिकामा हाम्रो मुख्य चासो हो, त्यसले यसमा गम्भीर बन्नुहोस्, सँगै भएर निर्माण सम्पन्न गरौं, यसले सबैलाई खुसी बनाउँछ तालिकाअनुसार निर्माण सकेनौं भने सबैलाई तनाव सिर्जना हुन्छ’ घिसिङले आयोजना व्यवस्थापन, परामर्शदाता र ठेकेदारलाई भने ।

उनले जनशक्ति बढाएर दिनको तीनै सिफ्टमा काम गर्न पनि ठेकेदार कम्पनीहरुलाई निर्देशन दिएका छन् ।

तामाकोशीमा तल्लो ठाडो सुरुङमा पहिलो पाइप जडान, वेल्डिङलगायतका काम गर्न ३६५ घण्टा लागेको थियो । चौथो पाइप जडान गर्दा भने १२८ घण्टा लागेको थियो । कार्यकारी निर्देशक घिसिङले पाइप जडानका लागि लाग्ने समयलाई अझै घटाउन एन्ड्रिज हाइड्रोलाई निर्देशन दिए ।

माथिल्लो ठाडो सुरुङमा पाइप जडानको काम सन्तोषजनक नपाइएपछि घिसिङले भारतको कलकत्तास्थित टेक्स्याकोका प्रमुख कार्यकारी अधिकृत (सिइओ) जिसी अग्रवाललाई आयोजनास्थलबाटै फोन गरी विगतमा जनाइएका प्रतिबद्धता पूरा गर्न आग्रह गरे ।

‘टेक्स्म्याकोले कुनै पनि समयतालिकाअनुसार काम गरेको छैन, कम्पनीको साइटमा खटिएको व्यवस्थापन ज्यादै कमजोर छ, काममा पर्याप्त जनशक्ति पनि परिचालन गरिएको छैन’,घिसिङले भने ‘व्यवस्थापन सुधार गरी जनशक्ति थपेर साइटको क्रियाकलाप बढाउनुहोस् ।’

आयोजनाको निर्माण आर्थिक वर्ष २०७३/७४ भित्र सकी विद्युत् उत्पादनको लक्ष्य राखिएको थियो । भूकम्पलगायतका कारणले आयोजनाको निर्माण प्रभावित भएपछि विद्युत उत्पादन गर्ने समय सर्दै आएको छ । लट २ को ठेकदारको कमजोर कार्यसम्पादनका कारण ढिलाइ भएको अपर तामाकोसी हाइड्रोपावर लिमिटेडका सिइओ विज्ञानप्रसाद श्रेष्ठले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?