Comments Add Comment

तीन विदेशी नागरिक तीन महिनादेखि काठमाडौंमा बन्धक

६ साउन, काठमाडौं । वैदेशिक रोजगारीका लागि इटाली, क्यानडालगायतका मुलुक लाने भन्दै भारतमा नेपाली अलपत्र बनाइएका खबर अब नौला होइनन् ।

तर प्रहरीको मानव बेचबिखन नियन्त्रण ब्युरोले हालै आकर्षक रोजगारीका लागि लिबिया लैजाने लोभमा नेपालमा बन्धक पारिएका तीन जना विदेशी नागरिकको उद्दार गरेको छ । पाकिस्तानी नागरिक सहजिव नजल, बंगलादेशी नागरिक शादा आलम खान र सैहिद सुमन मियाको उद्दार गरिएको हो ।

स्रोतका अनुसार उनीहरुलाई लिबिया पठाइदिने प्रलोभनमा ललितपुरको इमाडोलस्थित एक घरमा तीन महिनासम्म बन्धक बनाइएको थियो ।

प्रहरीले घटनामा संलग्नमध्येका एक जनालाई पक्राउ गरेको छ भने अन्य फरार छन् । ब्युरोका प्रवक्ता गोविन्द थपलिया भन्छन्, ‘हामीले घटनामा संलग्न पाकिस्तानको पञ्जाबका ३० वर्षीय खालिद मेहमुदलाई पक्राउ गरिसकेका छौं ।’

उनका अनुसार मेहमुदविरुद्ध मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण ऐन अनुसार म्याद थप गरेर अनुसन्धान भइरहेको छ ।

प्रतिव्यक्ति दुई लाख संकलन

अनुसन्धान अधिकृतका अनुसार नेपालीलाई तेस्रो मुलुक लगिदिने भन्दै भारतलगायतका देशमा लगेर जसरी पासपोर्ट खोसेर राखिन्छ, यो घटनाका पीडितलाई पनि त्यसरी नै बन्धक बनाइएको थियो ।

‘पासपोर्ट खोसिदिएर भिसा आउँछ भन्दै तीन महिनासम्म अलपत्र पारिदिएपछि यो घटना हामी कहाँ आएको हो’, ब्युरोका एक अधिकृतले अनलाइनखबरसँग भने, ‘प्रारम्भमा टेलिफोनबाट जानकारी आएपछि हामी इमाडोल पुगेका थियौं ।’

पीडितले बताएअनुसार पाकिस्तानी नागरिकलाई लिन खालिद आफैं त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसम्म पुगेका थिए । तर बंगलादेशी नागरिकलाई भने इमाडोलको लोकेशन बताइदिएर बोलाइएको पीडितको भनाइ छ । ‘हामी पुग्दा तीनै जनालाई एउटै कोठामा राखिएको थियो’, प्रहरी अधिकृत भन्छन् ।

अनुसन्धानमा संलग्नहरुका अनुसार बंगलादेशी नागरिकलाई त्यहीँका एक व्यक्तिले नेपालमा गएर खालिदलाई भेट्नू भनी पठाएका थिए । उनीहरुबाट प्रतिव्यक्ति दुई लाख रुपैयाँ उठाइएको पीडितको भनाइ छ । ‘हामीलाई नेपाल हुँदै लिबिया पठाउने भनिएको थियो’, पीडितले प्रहरीसँग भनेका छन् ।

हालसम्मको अनुसन्धानले घटनामा नेपाली नागरिकको संलग्नता देखिएको छैन । बरु बंगलादेश र पाकिस्तानमा केही व्यक्तिको संलग्नता खुलेको प्रहरी उपरीक्षक (एसपी) थपलिया बताउँछन् । उनका अनुसार मुलुकबाहिर रहेर यो घटनासँग जोडिएका एजेन्टबारे अनुसन्धान भइरहेको छ । ‘संलग्नता देखिए उनीहरुलाई पनि प्रतिवादी बनाएर अनुसन्धान प्रतिवेदन पेश गर्छौं’, उनले भने ।

घटनामा पीडित र पीडक दुवै विदेशी नागरिक भएकाले प्रहरीले आवश्यक परे त्यहाँको प्रहरीसँग पनि समन्वय गरिने जनाएको छ । प्रहरीकाअनुसार पीडित विदेशी नागरिकलाई कानूनी प्रक्रिया पूरा गरेपछि स्वदेश फर्काइनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment