Comments Add Comment

काठमाडौंमा ‘रअ’को ‘माइक्रो म्यानेजमेन्ट’ ?

खुमलटारकोे भेट खुल्यो, बालुवाटारको भेट ‘अपुष्ट’

६ साउन, काठमाडौं । नेपालका राजनीतिक दलहरु यति अपारदर्शी काम गर्छन् कि नलुकाउनुपर्ने सूचना पनि ‘बिरालाले आची’ लुकाएजसरी लुकाइदिन्छन्, जसले गर्दा सामान्य घटनामा पनि सनसनी हुने गर्छ ।

एक महिना अघिमात्रै भारतीय गुप्तचर संस्था रअको प्रमुखमा नियुक्त भएका सामन्त गोयलको काठमाडौं भ्रमणलाई नेपालका राजनीतिक दलहरुले ‘गुपचुप’ राख्न खोज्दा यसले ‘र्‍युमर’ को रुप लिएको छ ।

‘रअ’ का चीफ गोयल आइतबार काठमाडौं आएका थिए । उनी सोमबार दिल्ली फर्किएका छन् । दिल्ली फर्कनुअघि सोमबार बिहान उनी खुमलटारस्थित प्रचण्डनिवासमा पुगेका थिए ।

‘रअ’ का प्रमुखले प्रचण्डलाई भेटेको कुरा उनको निजी सचिवालयले औपचारिक रुपमा स्वीकार्न मानेको छैन ।

बालुवाटारको भेट झनै ‘अपुष्ट’

प्रचण्डनिकट नेकपाको एक उच्च स्रोतले अनलाइनखबरसँग भन्यो, ‘आइतबार बेलुका बालुवाटारमा प्रधानमन्त्री ओली र गोयलवीच एक घण्टा भेटवार्ता भएछ, त्यसपछि सोमबार बिहान खुमलटारमा केहीबेर भेट भएको हो । गोयलको काठमाडौं भ्रमण कुनै गोप्य होइन, उच्चस्तरीय भेटघाट हुनु स्वाभाविकै हो ।’

तर, प्रधानमन्त्री ओली र गोयलवीच आइतबार साँझ भेट भएको कुरा बालुवाटार स्रोतले भने स्वीकार गरेन । विभिन्न च्यानलमार्फत् कुरा गर्दा समेत प्रधानमन्त्रीसँगको भेटवार्ता भएको कसैले पुष्टि गरेन ।

यद्यपि, बालुवाटारमा ओली र गोयलवीच एक घण्टा कुराकानी भएको र त्यसको भोलिपल्ट प्रचण्डसँग भेटघाट भएको पूर्वमाओवादी निकट नेताहरुको दाबी छ ।

खुमलटारमा प्रचण्ड र गोयलवीच भेटवार्ता भएको स्वीकार गरे पनि उनी निकट नेताहरुले के विषयमा कुराकानी भएको थियो भन्नेबारे बताउन चाहेनन् ।

बालुवाटार र खुमलटारवीच सूचना लुकाउने र चुहाउने होडबाजी चले पनि यी भेटघाटहरु ओली र प्रचण्ड दुबैको जानकारीमै भएको सूत्रको दाबी छ । तर, सूचनाहरु पारदर्शीरुपमा बाहिर नल्याइँदा प्रचण्डले भारतीयलाई भेटेको र ओलीले नभेटेर ‘राष्ट्रवाद’ प्रदर्शन गरेको जस्तो प्रचारबाजी नेकपाभित्रैबाट हुने गरेको छ ।

‘रअ’ का प्रमुखले काठमाडौंमा आएका बेला अन्य राजनीतिक दलका नेताहरुसँग पनि भेटघाट गरेको चर्चा चलेको छ । तर, कसैले पनि यो स्वीकार गरेका छैनन् ।

कांग्रेस सभापति शेरबहादुर देउवाले गोयलसँग भेट गरेको चर्चा चले पछि हामीले पार्टीका प्रवक्ता विश्वप्रकाश शर्मालाई सोध्दा उनले यसबारे आफूलाई जानकारी नभएको बताए ।

त्यसैगरी राजपाका अध्यक्ष मण्डलका नेता राजकिशोर यादवले पनि गोयलले आफ्नो पार्टीका नेताहरुसँग भेट गरेकोबारे जानकारी नभएको प्रतिक्रिया दिए ।

यो पनि पढ्नुहोस भारतीय दूतावासमा महिला सांसदको चियापान

विगतमा ‘रअ’ले नेपालको आन्तरिक राजनीतिमा ‘माइक्रो म्यानेजमेन्ट’ गर्ने गरेको आरोप लाग्दै आएको छ । पछिल्लो समयमा ओली सरकारले राजनीतिक तहबाट भारतसँग सम्बन्ध बढाउने कोशिस गरिरहेका बेला ‘रअ’ का नयाँ चीफको नेपाल भ्रमण किन भयो भन्ने चासो बढ्नु स्वाभाविकै छ । तर, दलका नेताहरुले गोयलसँगको भेटघाटलाई ‘गोप्य’ बनाउन खोज्दा यसले अनावश्यक संशय पैदा गरेको छ ।

को हुन् गोयल ?

सामन्त गोयल भारतीय गुप्तचर संस्था रअको चीफमा नियुक्त भएको एक महिना पनि बितेको छैन । उनी गत असार ११ गते मात्र आइपीएस अफिसरबाट रअको प्रमुख बनेका हुन् ।

गोयल अनिल कुमार धस्मानाको ठाउँमा रअका चीफ भएका हुन् । धस्माना अढाइ वर्षे सेवा अवधि पूरा गरेर असारमा रिटायर्ड भएका छन् ।

यसअघि आइपीएस अफिसर रहेका गोयल पाकिस्तानको बालाकोटमा आतंकवादी शिविरमाथि भएको हवाइ हमलाका योजनाकार मानिन्छन् । जून २६ मा भारतीय प्रधानमन्त्री मोदीबाट रअको चीफ बनाइएका उनी सन् २०१६ को सर्जिकल स्ट्राइकका योजनाकार मानिन्छन् ।

आएपीएस अफिसर सामन्तलाई रअको चीफ बनाएपछि खाली रहेको पदमा मोदीले अरविन्द कुमारलाई ल्याएका छन् ।

अरविन्द कुमार भारतको नक्सलाइट आन्दोलनका जानकार एवं काश्मिर मामिलाका विज्ञ मानिन्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment