Comments Add Comment

गुल्मीमा पहिरो : एकै परिवारका ८ सहित १० को मृत्यु, २ जना बेपत्ता

७ साउन, गुल्मी । गुल्मीमा पहिरोमा पुरिएर मृत्यु हुनेको संख्या १० पुगेको छ । २ जना बेपत्ता भएका छन् । जिल्लाको सत्यवति गाउँपालिकाको २ वटा वडामा पहिरोले घर पुरिँदा १० जनाको मृत्यु भएको प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले पुष्टि गरे ।

सत्यवति गाउँपालिकाको लिम्घामा ८ जनाको र ठूलो लुम्पेकमा २ जनाको मृत्यु भएको छ । वडानम्बर ४ को लिम्घामा एकै घरका ८ जनाको मृत्यु भएको हो ।

मृतक मध्ये ६ जनाको शव बाहिर निकालिएको छ । अरुको शव निकाल्ने काम भइरहेको प्रहरीले जनाएको छ ।

मृत्यु हुनेहरुमा एकै घरका ६५ वर्षीय छल्ली बिक, २८ वर्षीय पम्फा बिक, १२ वर्षीय अंजली बिक, १० वर्षीय हेमन्त बिक, रुपा बिक, सिवानी बिक, निर्मला बिक, हिमान्सु बिक रहेका छन् । एकजना बालक सन्दीप बिक मावली घरमा गएकाले जिवितै रहेको बताइएको छ ।

सत्यवति गाउँपालिका ३ को ठूलो लुम्पेक कसिन डाँडा पहिरोमा पुरिएर ३२ वर्षीय तिलकुमारी त्रामु, ९ वर्षीय दर्शन त्रामु मृत्यु भएको हो । उनीहरु आमाछोरा हुन् ।

सोही वडामा रुद्र बिकको घर पनि पहिरोले बगाएको छ । पहिरोले घर बगाउँदा ४० वर्षीय मायाँ बिक र १६ वर्षीय गबि बिक बेपत्ता भएका छन् ।

पहिरोमा पुरिएर २ जना घाइते भएका छन् । सत्यवति ४ का १० वर्षीय करिश्मा त्रामु र १३ वर्षीय धनि त्रामुको घाइते भएको प्रहरीले जनाएको छ । सोमबार रातिदेखि परेको अबिल वर्षातले घरमाथिबाट पहिरो जँदा घरमा सुतिरहेकाहरुको मृत्यु भएको हो ।

उद्धारको लागि जिल्लाबाट प्रहरी नायव उपरीक्षक मिनबहादुर घले, सशस्त्र प्रहरी नायव उपरीक्षक दिनेश रामयमाझीसहितको टोली घटनास्थलमा छ ।

थप राहत र उद्धारको लागि जिल्ला बिपद व्यवस्थापन समिति तयारी अबस्थामा राखिएको प्रमुख जिल्ला अधिकारी पौडेले बताए ।

ठूलो पहरो भएकाले मृत्यु हुनेहरुको संख्या वृद्धि हुनसक्ने बताइएको छ । पहिरोले लिम्घासमा ४ घर जोखिममा रहेका छन् । उनीहरुलाई स्थानिय विद्यालयमा राखिएको छ । घटनास्थल जिल्ला सदरमुकाम तम्घासबाट पूर्वतर्फ पर्दछ । घटनास्थल पुग्न करिब ३ घण्टा बढी समय लग्छ ।

– अनिल खत्रीबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment