Comments Add Comment

साफ खेल्ने खेलाडीलाई प्रदेश सरकार र महानगरको सम्मान

महिला लिग विराटनगरमा गर्ने प्रतिवद्धता

७ साउन, विराटनगर । गत फागुनमा सम्पन्न महिला साफ च्याम्पियनसिपमा उपबिजेता बनेको नेपाली महिला फुटबल टोलीका सदस्यहरुलाई प्रदेश १ सरकार र विराटनगर महानगरपालिकाले सम्मान गरेको छ ।

फाइनल खेलमा भारतसँग ३-१ ले पराजित भएको महिला टोलीलाई प्रदेश सरकारले जनही १ लाख र विराटनगर महानगरपालिकाले जनहरी ५० हजारका नगद सहित सम्मान गरेको हो ।

सोमबार बेलुका विराटनगरले नगद ५० हजार सहित सम्मान गरेको थियो भने मंगलबार प्रदेश सरकारले सम्मान गरेको हो ।

विराटनगरको सहिद रंगशालामा सम्पन्न फाइनलअघि विराटनगर महानगरपालिका र प्रदेश सरकारले प्रोत्साहन रकम प्रदान गर्ने घोषणा गरेको थियो ।

महानगरले प्रतियोगिता जिते जनही १ लाख र उपबिजेता भए जनही ५० हजार रुपैयाँ सहित पुरस्कृत गर्ने घोषणा गरेको थियो । प्रदेश सरकारले पनि बिजयी भए २ लाख र उपबिजेता बने जनही एक लाख नगद सहित सम्मान गर्ने बताएको थियो ।

सोही घोषणा अनुसार प्रोत्साहन रकम हस्तान्त्रण गरेका हुन् । प्रदेश सरकारका मुख्यमन्त्री, समाजिक विकास मन्त्रीले पुरस्कार रकम हस्तान्त्रण गरेका थिए भने विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले पुरस्कार प्रदान गरेका थिए ।

खेलाडीलाई प्रोत्साहन रकम प्रदान गर्दै मुख्यमन्त्री शेरधन राईले प्रदेश सरकार खेल क्षेत्रको विकासमा लाग्ने बताए । प्रदेश सरकारले प्रदेश लिग र मुख्यमन्त्री कपकालागि अखिल नेपाल फुटबल संघ एन्पासँग गत वर्ष नै सम्झौता गरेको थियो । मुख्यमन्त्री राईले महिला फुटबलको विकासमा प्रदेश सरकार लागि पर्ने बताए ।

विराटनगरमा पहिलो महिला ए डिभिजन लिग

अखिल नेपाल फुटबल संघ (एन्फा)को आग्रहपछि विराटनगर महानगरपालिकाले पहिलो राष्ट्रिय महिला ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिता आयोजना गर्ने भएको छ ।

अखिल नेपाल फुटबल संघ एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पाको आग्रहपछि विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले पहिलो महिला लिग आयोजना गर्ने बताएका हुन् ।

सम्मान कार्यक्रममा क्रममा मेयर पराजुलीले अखिल नेपाल फुटबल संघले आयोजनाका लागि अवसर दिदाँ महानगर पछि नहट्ने बताए ।

एन्फाका अध्यक्ष कर्माछिरिङ शेर्पाले पनि ऐतिहासिक रुपमा साफ महिला फुटबल विराटनगरमा सम्पन्न भएको बताउँदै महिलाको व्यावसायीक फुटबलको सुरुवात पनि विराटनगरबाट नै सुरु भएको हेर्न चाहेको बताए । उनले महानगरले आयोजना गर्ने हुँदा एन्फाले सहयोग गर्ने बताए ।

व्यावसायिक रुपमासमेत महिला खेलाडीको आर्थिक पक्षलाई सबल बनाउन लिगको आवश्यक रहेको शेर्पाले बताए । विराटनगरमा प्रतियोगिता सम्पन्न भएपछि अन्तराष्ट्रिय स्तरमा नेपालको हैसियत उच्च भएको बताए ।

फुटबलको उर्वरभूमि विराटनगरले लिगको आयोजना गरे एन्फाले टेक्निकल सेन्टर स्थापनाका लागि पहल गर्ने शेर्पाले बताए ।

सागमा शाख जोगाउने आशा

नेपालले यसै वर्ष दक्षिण एशियाली खेलकुद साग आयोजना गर्दैछ । सागमा नेपालले फुटबलको स्वर्ण पदक जित्ने नेपाली महिला फुटबलका प्रशिक्षक हरि खड्काले बताएका छन् ।

कप्तान निरु खड्काले पनि १३ औं दक्षिण एशियाली खेलकुदमा नेपाललाई उपाधि जिताउने बताइन् । हिरो गोल्डकपमा भारतलाई पराजित गरेको नेपालले साफको फाइनलमा जित्ने अपेक्षा राखिएको थियो ।

तर, भारतसँग ३-० ले पराजित भएको थियो । हारको जिम्मा आफूले लिने बताउँदै प्रशिक्षक हरि खड्काले दक्षिण एशियाली खेलकुदमा सुखद सन्देश दिने बताए ।

खेलाडीहरुले उपाधि जित्ने प्रतिबद्धतासहित हस्ताक्षर गरेको बेल विराटनगरका मेयर भीम पराजुलीलाई हस्तान्त्र गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment