Comments Add Comment

‘वेइज्जत गरेर निकालियो, अब सम्मान चाहिएन’

६ साउन, काठमाडौं । नेपाली भलिबल टिमकी निवर्तमान कप्तान विनिता बुढाथोकी १४ जेठको साँझ मोबाइलमा फेसबुक चलाइरहेकी थिइन्, एउटा न्यूजफिडमा टक्क अडिइन् ।

त्यसमा लेखिएको थियो, ‘महिला राष्ट्रिय भलिबल टिमको घोषणा, कप्तान र उपकप्तान नै परेनन् ।’

यो हेडलाइनले भाउन्न छुट्यो, चिटचिट पसिना आयो, आफैंलाई सम्हाल्न मुश्किल भयो । देशका लागि खेल्दाखेल्दै गलहत्याएर निकालिएको जस्तो महसुस भयो । ‘यति बेइज्जत भएको महसुस भयो कि भोलिपल्ट अफिस जाँदा पनि मुख देखाउन गाह्रो भयो’, यो क्षण सम्झँदा विनिता अहिले पनि भावुक हुन्छिन् ।

उनी सशस्त्र प्रहरी बल (एपीएफ) मा आवद्ध थिइन् भने उपकप्तान मञ्जु गुरुङ बैंकको जागिरे थिइन् । अफिस पुग्दा साथीहरु पनि ‘तिमीहरु त फालिएछौं है’ भनेर चासो देखाए । उनीहरुका लागि भने आलो घाउमा नुनचुक छरे जस्तै भयो । ‘यत्रो वर्ष देशका लागि खेल्यौं, तीन तीन वटा मेडल ल्यायौं तर, खेलाडीको केही कदर नहुने रहेछ भनेर नराम्रो लाग्यो,’ विनिताले सुनाइन् ।

टिममा नपरेका मात्र होइन, परेका साथीहरुले पनि विनितालाई नै फोन गरे । (टिममा परेका नयाँ अनुहारहरु) फलानो नाम गरेको हो दिदी भन्दै सोधे ।

विनिता राष्ट्रिय मात्र होइन, सशस्त्र प्रहरीको महिला भलिबल टिमकी पनि कप्तान थिइन् । उनले पछिल्लो एक वर्षमा १७/१८ वटा खेल खेलेकी थिइन्, त्यसैले हामीले नचिने पनि दिदीले चिनेकी छन् कि भनेर उनलाई सोधेका थिए ।

तर उनले पनि चिन्न सकिनन् । यतिसम्म कि नेपालकै नम्बर वान लिफ्टर भनेर चनिएकी उनलाई आफैंलाई विस्थापित गर्ने नयाँ अनुहारसमेत को हो थाहा थिएन ।

‘हामीले वर्षमा १७/१८ वटा गेम खेल्छौं । त्यहाँसमेत नखेलेका खेलाडीहरु तानिएको रहेछ । त्यसैले कतिपयलाई त चिन्न सकेनौं’ निवर्तमान कप्तान विनिता भन्छिन्, ‘खेल्दै नखेलेको कुर्सीमा बसेकाहरु पनि टिममा परेका रहेछन् ।’

आफू टिममा परिन भन्ने त थाहा भयो तर, किन भन्ने प्रश्न मनमा आइरह्यो ।

निवर्तमान कप्तान विनिता र मञ्जुले भलिबल संघ र छनोट समितिका पदाधिकारीहरुलाई सोध्न प्रयास पनि गरिन् । सुरुमा त सम्पर्कमा आउनै चाहेनन् । तीन/चार दिनपछि सम्पर्कमा आएका संघका अध्यक्ष मनोरञ्जरमण शर्माले ‘अँ त है, तिमीहरु त परेनछौं । मैले पनि फेसबुक हेरेर थाहा पाएँ’ भनेपछि झन् नमज्जा लाग्यो ।

छनोट समितिले गरेको निर्णयमा भलिबल संघका अध्यक्षलाई थाहा नहुने कुरै थिएन ।

फेरि उनीहरु हामी जसरी टिममा पर्नुपर्छ भन्ने पक्षमा थिएनन् । ‘प्रारम्भिक टोलीमा राखेर राम्रो खेल्न नसक्दा निकालिएको भए वा पहिल्यै तिमीहरुलाई टिममा राख्न सकेनौं है भनेको भए हुन्थ्यो । अहिले बेइज्जतपूर्ण रुपमा निकालिएछ’ भन्ने गुनासो मात्र गर्न चाहन्थे । तर अध्यक्ष आफैं पन्छिएपछि गुनासो पनि पोख्न पाइनन् ।

विस्तारै गाइँगुइँ सुनियो, ‘उमेर बढी भयो’, ‘बुढी भई’ । खेल भन्दा उमेर हेरेपछि उनको कन्पारो नतातेको होइन तर, न छनोट कमिटी न संघको पदाधिकारीले आँखामा आँखा जुधाएर ‘बुढी भयौ, त्यसैले छनोट गरिएन’ भन्ने आँट गरेको छ ।

३३ वर्षकी उनको चुनौती छ, अहिले पनि नेपालमा राम्रो लिफ्टर म र कृपा (अधिकारी) मात्र हो ।

उनलाई दक्षिण एशियाली खेलकुद (साग) मा नेपालको खेल हेर्न रहर छ ।

उनलाई यो पनि थाहा छ, सागमा माल्दिभ्सलाई हराउन गाह्रो छैन । नेपालको ए होइन, बी टिम पनि जित निकाल्न सक्षम छ । तर श्रीलंका र भारत चुनौती हो ।

विनितालाई बेलाबेला त ‘कास्य पदक यसै आइहाल्छ, नयाँ खेलाडीहरु ल्याउँ’ भन्ने त सोचेनन् भन्ने पनि लाग्छ । तर धेरै नकारात्मक कुरा गर्न नचाहेको बताइन् ।

फुटबल त्यागेर भलिबलमा

विनितालाई सानो छँदा फुटबलर बन्ने चाहना थियो । इलाममा जन्मिएकी उनी राम्रो फुटबल खेल्थिन् पनि तर, कलेज पढ्ने क्रममा भलिबलतिर डोरियो ।

प्रशिक्षक कपिलकिशोर श्रेष्ठको नजर उनीमाथि पर्‍यो, उनलाई ताहचलबाट पीके क्याम्पसमा लगेर भलिबल टिममा राखे । विनिता भन्छिन्, ‘सुरुमा त म स्पाइकर थिए । कपिलकिशोर सरले तिमी लिफ्टर खेल, लामो समय खेल्न सक्छौं भन्नुभयो ।’

पद्मकन्यालाई कलेजस्तरीय प्रतियोगिताको उपाधि दिलाएपछि पूर्वबाट छनोट खेलेर उनी राष्ट्रिय टिममा परिन् । त्यसपछि कहिल्यै पछाडि फर्कनुपरेन । एपीएफ क्लबबाट खेल्न थालेको ८ वर्ष भयो । राष्ट्रिय टिमको कप्तानीको भूमिका निभाएको पनि चार वर्ष नाघिसक्यो ।

सुखद सन्यास टारिदिए

विनिताले सेन्टर जोन खेल्दा नै राष्ट्रिय टिमबाट सन्यास लिने प्रस्ताव भलिबल संघमा राखेकी थिइन् । लिप्टरमा कृपा अधिकारी पनि आइसकेकी थिइन् ।

तर भलिबल संघले दिएन । सुखद सन्यास टारिदिएको संघले अहिले सागको पूर्वसन्ध्यामा अपमानजनक रुपमा राष्ट्रिय टिमबाट निकालिदिँदा उनको मन निकै दुखेको छ ।

‘राम्रो खेल्थिन्, सन्यास लिइछे भन्नु र २५ जनामा नपरी फालिइछे भन्नुमा धेरै फरक छ’ विनिता भन्छिन्, ‘यत्रो वर्ष मैले देशका लागि खेलेँ । राम्रोसँग विदा हुन्छु भन्ने सोचेको थिएँ तर वेइज्जतपूर्वक विदा हुनुपर्दा निकै नराम्रो लाग्यो ।’

अब सशस्त्र प्रहरीको एपीएफ क्लबमा आफ्नो जिम्मेवारी कसैलाई सुम्पिएर सम्मानजनक विदा चाहन्छिन् । ‘क्लबमा भइन्जेल खेलिरहन्छु, अर्को लिफ्टरले राम्रो गर्दै गएपछि विदा लिन्छु’ उनले भनिन्, ‘तर राष्ट्रिय टिमबाट निकाल्दा बेइज्जत भयो, अब सम्मान लिन चाहन्न ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment