Comments Add Comment

‘निर्मलाका हत्यारा कहाँ छन् ?’

‘जनताको आवाज बोलेकी हुँ, अहिले पनि बोल्छु’

७ साउन, काठमाडौं । गृहमन्त्री रामबहादुर थापा बादलले मंगलबार निर्मला पन्त प्रकरणमा राजनीतिकरण भएको आरोप लगाइरहँदा कांग्रेस सांसद डा. डिला संग्रौला अनलाइनखबरको स्टुडियोमा थिइन् ।

निर्मला पन्तको हत्या र बलात्कार प्रकरणमा नेपाली कांग्रेसले राजनीतिकरण गरेको गुनासो सरकारले सुरुदेखि नै गर्दै आइरहेको छ । यही सिलसिलामा मंगलबार गृहमन्त्री थापाले विपक्षीप्रति लक्षित गर्दै गुनासो मिसिएको प्रश्न गरे, ‘यो घटनामा गृह नै जोडिएको छ, अपराधीलाई बचाउने खोजिएको छ भनेर राजनीतिकरण गर्नु दुःख हो । के साँच्चै गृहले छुटाउन खोजेकै हो त ?’

गृहमन्त्री थापाले विपक्षीमाथि यस्तो आरोप लगाइरहँदा कांग्रेस नेतृ संग्रौलाले चुनौतीको भाषामा भनिन्– ‘यो त मैले जनताको आवाज बोलेकी हुँ, अहिले पनि बोल्छु । अपराधीलाई सिंहदरबार र बालुवाटारको कुर्सीमा बसेका प्रधानमन्त्री र गृहमन्त्रीले संरक्षण गरेका छन् कि भन्छु । म अहिले पनि यही बोलिराखेकी छु । म बोल्न डराउँदिनँ ।’

निर्मला पन्तले न्याय पाउनुपर्छ भनेर सुरुदेखि नै सदन र सडक दुबै ठाउँमा आन्दोलनमा होमिएकी कांग्रेस सांसद एवं महिला संघकी नेतृ संग्रौलासँग यही प्रकरणका सम्बन्धमा हामीले कुराकानी गरेका छौं ।

निर्मला पन्तको बलात्कार र हत्या प्रकरणलाई राजनीतिकरण गरिएको आरोप कांग्रेसमाथि लाग्दै आएको छ । मंगलबार पनि गृहमन्त्रीले यो प्रकरणमा राजनीतिकरण भएको दोहोर्‍याए । कांग्रेसले किन यो घटनालाई राजनीतिकरण गरेको ?

२०७५ साउन १० मा कञ्चनपुरको भीमदत्त नगरपालिकामा निर्मला पन्तको बलात्कारपछि हत्या भयो । त्यो घटना हुनेवित्तिकै यो संसदीय प्रणालीमा हामी माननीयहरुले संसदमा सरकारको ध्यानाकर्षण गराएका थियौं । र, निर्मलाको न्यायका लागि सिंगो नागरिक समुदाय संघर्षमा आउनुपर्छ भनेर पत्रकार सम्मेलन गरेका थियौं ।

नेपाली कांग्रेसले सदनभित्र सशक्त रुपमा यो कुरा उठाएको हुनाले सभामुखबाट गृहमन्त्रीलाई रुलिङ गरेर यस केसका बारेमा सत्य–तथ्य के हो भनिकन जवाफ मागिएको थियो । यसले गर्दा सरकारले पनि उच्चस्तरीय छानविन समिति गठन गर्न बाध्य भयो । छानविन समिति जसरी गठन भयो, नाटकीय ढंगले त्यसको प्रतिवेदन आयो, त्यसले रिजल्ट दिन सकेन ।

अर्कोतिर, निर्मलाको हत्यापछि नेपाली कांग्रेसका भातृ संगठनहरु, त्यसमा पनि नेपाल महिला संघले देशव्यापी रुपमा सिडियोमार्फत सरकारलाई ज्ञापन पत्र बुझाउने, प्रधानमन्त्रीको ध्यानाकर्षण गर्ने काम गर्‍यो । कांग्रेसको केन्द्रीय कार्यसमिति र महासमितिले पनि अपराधीहरु कहाँ छन्, तिनीहरु पत्ता लाग्नुपर्‍यो भन्यो । म आफैंले पनि निर्मलाको न्यायका लागि हाम्रो अभियान भनेर ३५ जिल्लामा चलाएँ ।

यो विषयलाई पत्रकारहरुले उठाए । नेपाली समाजले उठायो । राष्ट्रियकरण भयो । अन्तरराष्ट्रियकरण भयो । तैपनि सरकारले नसुनेपछि निर्मला पन्तका बुबा अनसन बसे । उनको मानसिक सन्तुलन गुम्यो । त्यसपछि हामीले पत्रकार सम्मेलन गर्‍यौं र अब सदनबाट मात्रै हुँदैन भनेर दबाव आन्दोलन गर्ने घोषणा गर्‍यौं । देशव्यापी रुपमा जनता संघर्षमा उत्रनुपर्‍यो भन्यौं ।

सत्तापक्षबाट धेरै ठाउँमा मैले फेस गरेको प्रश्न के थियो भने कांग्रेसले सरकारको विरोध गर्ने केही एजेण्डा पाएन र निर्मला हत्या प्रकरणलाई राजनीतिकरण किन गर्दैछ भनेर कतिपयले सोधे ।

मैले के जवाफ दिएकी थिएँ भने निर्मला भनेको त नेपालकी छोरी हुन् । उनी कांग्रेसकी छोरी त होइनन् नि त । आज एउटा चेलीको बलात्कारपछि हत्या हुँदाखेरि हजारौं चेली र आमाहरुको अस्मिता र ममतामाथि प्रहार भएको छ । सिंगो नेपाली समाजको शीर त निहुरिएको छ नि त । त्यसकारणले यसमा सत्तापक्ष, प्रतिपक्ष नभनेर सिंगो नेपाली समाजले निर्मलाका हत्यारा कहाँ छन् भनेर सोधेका छन् । त्यसैले सरकारले अपराधीलाई जनतासमक्ष उभ्याउनुपर्छ ।

त्यसैकारण, हामीले सरकारको आलोचना गर्ने एजेण्डा नपाएर होइन, जसरी पासविक ढंगले निर्मला पन्तको बलात्कारपछि हत्या भयो, प्रहरीले प्रमाणहरु पनि नष्ट गरे, यो घटनाको विरोधमा कञ्चनपुरका जनताले आन्दोलन गर्दैगर्दा सरकारले मानसिक सन्तुलन गुमाएका व्यक्तिलाई थुन्यो । त्यसपछि झन आन्दोलन चर्कियो । उनलाई अपराध गरेको भनेर जबरजस्ती बकाइयो । तर, डीएनए नमिलेपछि उनी फिर्ता भए ।

यो घटना भइसकेपछि सरकारले एसपी डिल्लीराज विष्टलाई पनि निलम्बन गर्‍यो । छानविन आयोग गठन गर्‍यो । छानविन आयोगले कुनै किटान गर्न सकेन, घटनाहरुलाई मात्रै मुखरित गर्‍यो । र, जब सरकार भेटियो न्याय भेटिएन भनेर देशैभरि आन्दोलन चल्यो, ठाउँ ठाउँमा निर्मलाका पोष्टरहरु लागे ।

त्यहीबेला सामाजिक सुरक्षा अभियानका नाममा सम्माननीय प्रधानमन्त्रीज्यूबाट त्यसबेला निर्देशन नै दिएको छ कि जहाँ जहाँ निर्मलाको पोष्टर छ, त्यो हटाउने र प्रधानमन्त्रीको पोष्टर पोलपोलमा टाँस्न लगाउने गरेपछि सरकार भेटियो, न्याय भेटिएन भन्ने अभियान चल्यो । आज एक वर्ष पुग्दै गर्दा पनि त्यही भयो नि त । सरकार त छ, तर न्याय कहाँ गयो ?

जो पीडित छन्, तिनले न्याय पनि पाएनन् । आन्दोलनमा घाइतेहरुको उपचार पनि भएन । अनुसन्धानको प्रक्रिया वीचैमा रोकियो । नयाँ शिराबाट अनुसन्धानको सुरुवात पनि भएन । जसले निर्मलाले न्याय पाउनुपर्छ भनेर संघर्ष गरे, आज तिनीहरुमाथि पनि उल्टै खोजतलास गरिँदैछ । जसले कमल चलाए, तिनीहरुमाथि पनि आरोपहरु लगाइँदैछ ।

विपक्षी दलले देशमा हुने यस्ता घटनाबारे सरकारको ध्यानाकर्षण गराउँदै संसदमा कुरा उठाउनु स्वाभाविकै हो । तर, यसमा कांग्रेसमाथि लागेको आरोपचाहिँ के हो भने प्रहरीले अनुसन्धान गरिरहेको केसमा अनुसन्धानलाई नै प्रभावित बनाउने गरी आन्दोलन र घुसपैठ भयो….

सरकारको यो आरोप आज झूठा सावित भइसक्यो । सरकारले अनुसन्धान गर्ने क्रममा जो–जोलाई अपराधी सावित गर्ने कोसिस गर्‍यो, सबैको डीएनए मिलेन । अपराधी पत्ता लगाउन पनि सकेन ।

सरकारले केसम्म गर्‍यो भने आन्दोलनमा गोली चलाउँदा एकजनाको मृत्यु पनि भयो । आज कैयौं अपाङ्ग पनि बनेका छन् । जो मानवअधिकारकर्मी र नागरिक समाजका अगुवाहरु थिए, सरकारले अहिले उनीहरुलाई दुःख दिइरहेको छ ।

कांग्रेसले अनुसन्धान प्रक्रिया फितलो होस् र त्यो प्रभावित होस् भनेर घटनालाई अर्को रुप दिनका लागि घुसपैठ गर्न मान्छे पठाएको होइन । स्वतस्फूर्तरुपमा नागरिक समाजले गरेको आन्दोलन थियो त्यो ।

तर, भीडले प्रहरीको अनुसन्धानलाई डिस्टर्ब गरिदियो भन्ने गुनासो पनि त छ नि ?

कहाँ डिस्टर्ब गर्‍यो ? प्रहरीको अनुसन्धानमा संलग्नमध्ये कतिलाई सरकारले निलम्बन गर्‍यो । तर, खै त अपराधी कहाँ पत्ता लाग्यो ? कहाँ छन् ? अनुसन्धानको प्रक्रिया नै फितलो थियो । रेप केसमा पहिलो प्रमाण भनेको उनको शरीर र कपडा हैन ? त्यही नै नष्ट गरियो । सरकारले ती प्रहरीलाई निलम्बन गर्‍यो, तर कहाँ आयो त सत्य–तथ्य ? कतिजनालाई थुनियो, डीएनए परीक्षण गरियो । अपराधी नियन्त्रणमा आइसक्यो भनियो, तर त्यो अपराधी कहाँ गयो त ?

७÷८ महिनायता यो केसमा हामीले सरकारलाई केही भनेका छैनौं । गृहमन्त्री बादलले सदनमा ९० प्रतिशत भैसक्या छ, केही प्रतिशत बाँकी छ, सार्वजनिक गर्छौं भन्नुभएको थियो । तर, खै कहाँ भयो त ? यसमा के देखिएको छ भने यो घटना घट्दै गर्दा सम्माननीय प्रधानमन्त्रीज्यूबाट अभिव्यक्ति पनि आयो । त्यसपछि जब उहाँले बम दिदीबहिनीलाई भेट्नुभयो, घटनाले नयाँ मोड लियो ।

त्यसपछि प्रधानमन्त्रीज्यूले अमेरिकाबाट फर्केर आउँदा निर्मला पन्तका हत्यारा पत्ता लाग्न १२ वर्ष पनि लाग्न सक्छ भन्नुभयो ।
आन्दोलन चर्किँदै गयो । उच्चस्तरीय छानविन समितिको रिपोर्ट आइसकेपछि गृहमन्त्रीज्यूले यो राज्यव्यवस्था दोषी छ भन्नुभयो । छानविनको सत्य–तथ्य दिन सक्नुभएन ।

त्यसैले यो घटना जसरी भयो, यसको ढाकछोप गर्नेतिर सरकार लागेको देखिन्छ । हामीले डिस्टर्ब गरेर यस्तो भएको होइन । अहिले पनि कांग्रेस शान्त छ । तर खै त सरकारले अनुसन्धान कहाँ गर्‍यो ? सरकार किन बोलिराखेको छैन ?

सरकारले निर्मला हत्या प्रकरणमा के भइरहेको छ भनेर नेपाली जनतालाई जानकारी दिइरहेको छैन । यसमा सरकारले नै ध्यान दिइरहेको छैन । विपक्षीलाई आरोप लगाउने काममात्रै गरिरहेको छ ।

तर, को अपराधी हो र को होइन भनेर भिडले भनिदियो भन्ने गुनासो छ नि सरकारी अनुसन्धानकर्ताहरुको ?

भीडको कुरै होइन । सरकारले अनुसन्धानबाट पुष्टि, प्रमाण पुर्‍याएर अगाडि ल्याओस् न त । किन ल्याउन सकेन ? एक वर्षको समय सानो हो ? कि यसलाई पञ्चायतकालको नमिता र सुमिता काण्ड बनाउन खोज्या हो ? अहिलेको सरकार त पञ्चायती सरकार त होइन होला नि त । शान्ति सुरक्षा यो सरकारको पहिलो प्राथमिकता होइन ? अनि न्याय दिनुपर्दैन ? पत्ता लाउनुपर्दैन ?

पहिलो प्राथमिकता यो होइन ? अनि उल्टै न्यायका लागि आवाज उठाउने मानवअधिकारकर्मी, नागरिक समाज र पत्रकारलाई गाली गर्ने ?

स्वयं प्रधानमन्त्रीले १२ वर्ष लाग्न सक्छ भन्नुभएको छ । अहिले एक वर्षमात्रै बितेको छ । के यसलाई इतिहासको एउटा कालखण्डको कथाजस्तो मात्रै बनाउन खोजेको हो सरकारले ? तर, यो कुनै दन्त्य कथा त होइन नि । यथार्थको पीडा बोकेर निर्मलाका बुवाआमा र आन्दोलन गर्ने सिंगो नागरिक समाज अहिले पीडा बोकेर बसेका छन् ।

अनि सरकारको यस्तै कमजोरीमा टेकेर आन्दोलनमा उत्रने कांग्रेसको नीति चाहिँ छ होला, हैन ?

त्योभन्दा पनि यो सरकार गठन भएको लगभग १७ महिना भएछ । हामीलाई त मानिसहरुले के भनिरहेका छन् भने जुनरुपमा प्रतिपक्ष सशक्तरुपमा उभिनुपर्ने हो, त्यसअनुसार अझै हामी उभिन सकिरहेका छैनौं ।

शान्ति सुरक्षा हाम्रो पनि एजेण्डा हो । यो एजेण्डामा सरकार अगाडि जाओस् भन्ने हाम्रो चाहना हो । तर, यसमा सरकार असफल भयो । निर्मलाले अहिलेसम्म न्याय नै पाइनन् । त्यसैले यो हाम्रो एजेण्डा हो, हामी अझै यसलाई उठाइरहने छौं । नेपाली कांग्रेसको जागरण अभियानको एजेण्डाभित्र यो पनि छ । दोस्रो जागरण अभियान भदौ २४ बाट सुरु हुँदैछ ।

नेपाली चेलीको अस्मिता लुटिँदै गर्दा उसले न्याय नपाएर विक्षिप्त अवस्था रहेको अवस्थाको फाइदा सरकारले उठाउने हो त ? सरकारले मुख बन्द गरिराखेको छ । निर्मला पन्तकी आमालाई १८ लाख बुझाउँदैमा, उसलाई नगरपालिकाको जागिर दिनु सकारात्मक भएता पनि के यो केसलाई यत्तिकै डिसमिस गर्न मिल्छ ?

तर, जति नै मुख थुने पनि नेपाली जनताले छाड्दैन । नेपाली जनताले न्यायका लागि अझै लड्नुपर्छ ।

निर्मला पन्तका परिवारलाई ‘डलरवादीहरु’ ले उकासेर आन्दोलनमा होमेका हुन् कि हैनन् ?

हैन, यो स्वतस्फूर्त आन्दोलन हो । कतिले डलरवादीको खेती भनेर आरोप लगाए । उनका बुबालाई उकासेर अनसनमा बस्न लगाए पनि भने । तर, यो डलरवादीको कुरै हैन क्या । नेपाली जनताको यथार्थता हो । नेपाली जनताले बल्ल बुझे ।

तर, खै त जति बुझे पनि आन्दोलनले के उपलब्धी दियो ?

एकदम ठूलो उपलब्धी दियो । यस्ता बलात्कारका घटना पहिल्यैदेखि भएका थिए । तर, नेपाली जनताले आन्दोलन नगर्दा दबिँदै आएका थिए । निर्मला पन्तको न्यायको आन्दोलन राष्ट्रियकरण मात्रै होइन, अन्तरराष्ट्रियकरण पनि भयो । यसले गर्दा सरकार, अनुसन्धानकर्ता र स्थानीय प्रहरीहरु यस्ता घटना सजग रहन थाले ।

बलात्कार गर्दै, लुट्दै हिँड्नेहरु पनि केहीरुपमा निरुत्साहित भए । बलात्कारका घटनाहरुको अनुसन्धानमा अलिकति भए पनि सजगता अपनाउन थालियो । दोस्रो कुरा, अब अपराध सहेर बस्न हुन्न है भन्ने चेतना पनि जागरुक भयो । र, तेस्रो कुरा– अब नेपाली जनताले छाड्ने रहेनछन् भनेर सरकार चनाखो बन्यो । यसले गर्दा बलात्कारका घटनाहरु अलि कम भएका छन् ।

तपाईले यसअघि निर्मला पन्तका हत्यारा बालुवाटार र सिंहदरबारका कुर्सीमा छन् भनेर गम्भीर आरोप लगाएको सुनिएको थियो । के आधारमा यस्तो आरोप लगाउनुभएको थियो ?

म तपाईहरुलाई स्मरण गराउन चाहन्छु, मैले प्रधानमन्त्री र गृहमन्त्रीलाई सोधेकी थिएँ, के निर्मलाका हत्यारा बालुवाटार र सिंहदरबारका कुर्सीमा छन् ? किन पत्ता लगाएर उभ्याउनुहुन्न ?

मैले त्यसबेला भनेको कुरा याद छ । त्यसबेला त्यत्रो घटना भाइरल हुँदावित्तिकै प्रहरी अनुसन्धानमा जान चाहेन । उखुबारीमा फालिएको लास जनताले भेट्टाएपछि प्रहरी पुग्या छ । प्रहरी त पुग्यो, आन्दोलन पनि चर्कियो ।

रेप केसमा पहिलो प्रमाण भनेको उनको लुगा र शरीर हो, दुईवटै धोई पखाली गरियो । जब आन्दोलन चर्किइरहेको थियो, त्यही आन्दोलनमा लाठीचार्ज गरेर प्रहरीको घेराभित्र निर्मलाको दाहसंस्कार गरियो, त्यहाँ बाबुआमा पनि पुग्न सकेनन् ।
दिलिपसिंह विष्ट अपराधी हुन्, उनलाई थुन्दै गर्दा उनले बके भनियो । त्यसलाई पुष्टि गर्नका लागि डीएनए परीक्षण भयो, त्यो मिलेन ।

त्यसपछि सरकार भेटियो, न्याय भेटिएन भनेर आन्दोलन चर्कँदै गर्दा यो मुलुकका उपप्रधानमन्त्री÷रक्षामन्त्री ईश्वर पोखरेल र मुलुकका आइजीपी सर्वेन्द्र खनालले के बोले भने आज राति नै अपराधी पत्ता लाग्दैछन्, आन्दोलनको अब आवश्यकता छैन । उनीहरुले यसो भन्दै गर्दा प्रदीप रावल र तिलक चौधरीलाई पक्रिइयो । अपराधी पत्ता लागिसक्यो भनेर सरकारी निकायमार्फत सनसनी फैलाइयो ।

भोलिपल्ट फेरि डीएन परीक्षण मिलेन, थप केही समय लाग्छ भनेर गृहमन्त्रीले बोल्नुभयो । प्रधानमन्त्रीले सदनमा यतिसम्म भन्नुभयो कि अब यो सदनबाट, सडकबाट होइन, यो सरकारले न्याय दिने हो । सरकारले खोई कहाँ दियो न्याय ? के यो प्रमाण होइन ?

यो सबै श्रृंखलावद्ध घटना जसरी स्टोरी बनाएर सरकारले रच्यो र अपराधीलाई पक्रन सकेन, त्यसले गर्दा अहिले पनि म बोलिराखेकी छु । यो अपराधी सिंहदरबार र बालुवाटारको कुर्सीमा बसेका प्रधानमन्त्री र गृहमन्त्रीले संरक्षण गरेका छन् कि भन्छु । म अहिले पनि यही बोलिराखेकी छु । म बोल्न डराउँदिनँ ।

तपाई नेपाली कांग्रेसको केन्द्रीय नेता, प्रतिनिधिसभा सदस्य पनि हुनुहुन्छ, तपाईले शंकाकै भरमा यस्तो गम्भीर आरोप….

किनभने, जनताले बोले नि । जनताको कुरा मैले बोल्या हो । जनताले किन बोलिरहेका छन् ? म त धेरैचोटि कञ्चनपुरमा गएँ ।
यो पनि पढ्नुहोस निर्मला हत्या प्रकरण : चार प्रतिवेदन बने, हात लाग्यो शून्य

त्यहाँका मानवअधिकारकर्मीहरुसँग छलफल गरेर आएँ । प्रमाणचाहिँ डीएनएको मात्रै उठिराखेको छ । घटना कसरी भयो, आन्दोलनकारीले बोलिराखेका छन्, उनका परिवारले बोलिराखेका छन् । देख्ने सुन्नेले बोलिराखेका छन् ।

अनि सरकारले बोल्न नसक्ने ? अनुसन्धान फितलो हुने ? उनीहरुले बनाएको छानविन समितिको रिपोर्ट थन्केर बस्ने ? मानव अधिकार आयोगले सिफारिस गरेका कुराहरु पनि सरकारले नमान्ने हो भने कहाँ छ त अपराधी ? के भन्ने ? यो त मैले जनताको आवाज बोलेकी हुँ, अहिले पनि बोल्छु । जबसम्म अपराधी पत्ता लगाउँदैनन् तबसम्म यो अभियान जारी रहन्छ ।

भनेपछि कांग्रेसले यो एजेण्डा छाड्नेवाला छैन ?

कांग्रेसले होइन, नेपाली जनताले छाड्नुहुन्न भन्छु म ।

उसोभए अब के गर्ने त ?

यसमा तीनवटा कुराहरु गर्नुपर्छ । प्रथमतः अब यसको नयाँ तरिकाले अनुसन्धान र विश्लेषण गर्नुपर्छ । दोस्रोचाहिँ जसले आन्दोलन गरे, जो घाइते छन्, तिनीहरुका ईस्युलाई पनि नयाँ ढंगले सोच्नुपर्‍यो । र, तेस्रो, यसका बारेमा अब नेपाली कांग्रेसले पनि संसदमा फेरि नयाँ ढंगले आवाज उठाउनुपर्‍यो र सरकारलाई सहयोग पुर्‍याउनुपर्‍यो ।

अहिले वर्ष दिन पुग्दै गर्दा मेरो मानसपटलमा यो घटना बारम्बार आइरहेको छ । त्यो घटना म सम्झन्छु, निर्मलाका बुबाले मानसिक सन्तुलन गुमाउँदै गइरहेका थिए । सरकार, कि मलाई फाँसी देऊ, कि न्याय देऊ भनिरहेका थिए । आमा पनि राइरहेकी थिइन्, बाबु पनि रोइरहेका थिए ।

आज निर्मलाकी आमालाई सरकारले राहतस्वरुप केही रकम दिएको छ । उनले नगरपालिकामा जागिर खाइरहेकी छन् । बाबु त्यही अवस्थामा छन् । आन्दोलनकर्मीहरुले सरकारले किन न्याय दिन सकेन भनेर प्रश्न गरिरहेका छन् । त्यसैले अब नयाँ शिराबाट सोच्नुपर्ने स्थिति छ ।

अब निर्मलाको न्यायका लागि नयाँ शिराबाट अनुसन्धान सुरु गर्नुपर्छ । अपराधीहरु कहाँ छन्, त्यो पत्ता लगाउनुपर्छ । अब यसलाई सत्तापक्ष, प्रतिपक्ष केही नभनी अगाडि बढ्नुपर्छ । यो नेपाली कांग्रेसको मात्रै एजेण्डा होइन । यसलाई सबैको मूल मुद्दा बनाउनुपर्छ कि यसमा प्रहरीले किन अपराधी पत्ता लगाउन सकेन ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment