
२९ असोज, काठमाडौं । मधेशका परम्परागत राजनीतिक दलहरूको विकल्पको रुपमा २०७९ सालको चुनावबाट उदाएको डा. सीके राउत नेतृत्वको जनमत पार्टी करिब तीन वर्षमै आन्तरिक सत्ता राजनीतिको झगडाका कारण छिन्नभिन्न भएको छ ।
मधेश प्रदेशको नेतृत्व गर्ने अवसर समेत पाएको यो दलमा सत्ताकै विषयलाई लिएर चुलिएको असन्तुष्टिले विभाजनको तहमा पुर्याएको छ ।
अध्यक्ष राउतले कारबाही गरेका संस्थापक नेताहरूको दीपककुमार साहसहितको एक समूहले नयाँ दल गठन गरेको छ । अर्कोतर्फ, पार्टीभित्र असन्तुष्टि बढ्दै गएपछि उपाध्यक्ष अब्दुल खानसहितका उच्च तहका नेताहरूको समूहले यसअघि नै दल त्यागेका छन् ।
मधेशमा मुख्यमन्त्री सतिशकुमार सिंहले मधेश प्रदेशमा नयाँ सरकार बनाउने क्रममा बुधबार जनमतबाट फुटेको पार्टीको पक्ष लिएपछि मधेशमा राजनीतिक उथलपुथलकै अवस्था आएको छ ।
२०७५ सालमा ‘स्वतन्त्र मधेश गठबन्धन’ को नाम परिवर्तन गरी राउतले जनमत पार्टी बनाएका थिए । गत निर्वाचनमा भाग लिएर मधेशको बलियो शक्तिको रुपमा आफूलाई उभ्याउने प्रयत्न गरेको जनमतको पछिल्लो समय आन्तरिक किचलोमा फस्दै गएको थियो ।
‘प्रभावशाली’ नेताहरू पार्टी परित्याग गरिरहेकै बेला मधेशको सत्ताको नेतृत्वबाट समेत जनमतले गुमाएको छ ।
मधेशमा सरकारको नेतृत्व मात्रै गुमाएन, संसदीय दल दुई कित्तामा देखिएको छ । मुख्यमन्त्रीबाट हटेका सतिशकुमार सिंह नयाँ दल जनस्वराज पार्टी (जस्वपा) को पक्षमा देखिएका छन् । जनमतकै पूर्वमन्त्री त्रिभुवन साह समेत जनस्वराज पार्टीमा लागेका छन् । जनस्वराज पार्टीमा सनाखत गर्न निर्वाचन कार्यालयमा उनीहरू दुई जना पुग्दा बुधबार दिउँसो दुई दलको झडप भयो ।
संस्थापक नेताहरू बाहिरिए
अध्यक्ष राउतसँग मतभेद बढ्दै जाँदा कारबाही भोगेका शीर्ष तहका नेताहरूले अलग्गै दल गठन गरेका छन् ।
उपाध्यक्ष र अनुशासन समितिको संयोजक समेत रहेका दीपककुमार साहलाई पार्टीबाट हटाइएको थियो । उनै साहको नेतृत्वमा जस्वपा गठन गरिएको छ ।
नवगठित दल गठन गर्दा साहले जनमतकै नेता कार्यकर्ता तानेका छन् । जनमतका संस्थापक नेताहरू सम्मिलित गरेर जनस्वराज पार्टी निर्माण गरिएको छ ।
जस्वपाका अध्यक्ष साहका अनुसार १५ सदस्यीय कमिटीका सबै जना जनमतका संस्थापक नेताहरू हुन् ।
जस्वपामा तीन उपाध्यक्षहरूमा सुरज सिंह, सुरेन्द्र नारायण यादव, शम्भुनाथ साह रहेका छन् । सचिवमा हेमलता देवी, सुनिलकुमार यादव र सञ्जयप्रसाद यादव छन् । जनमत त्यागेका र कारबाहीमा परेका नेताहरूले गठन गरेको नयाँ दललाई निर्वाचन आयोगले मान्यता दिएको छ । जस्वपा दलका अध्यक्ष साहले जनमतका अध्यक्ष सीके राउतको हैकमवादी सोंचका कारणले उक्त दलमा क्षति पुगेको बताउँछन् ।
साहले अनलाइखबरसँग भने,‘एक जना आफू राजा हुन पाए सीकेलाई पुग्ने रहेछ । पार्टी एक सिट जिते पनि उनले आफूलाई राजा नै ठान्छन् ।’
संस्थापक नेता एवं उपाध्यक्ष अब्दुल खानको नेतृत्वमा ६ नेताले गत असोजको पहिलो साता जनमत पार्टी परित्याग गरेका थिए । पार्टी अध्यक्ष राउतलाई २४ घण्टाभित्र पदबाट राजीनामा दिन अल्टिमेटम दिएका उनीहरूले नै दल त्याग गरेका थिए ।
उपाध्यक्ष अब्दुल खान, प्रवक्ता डा. शरदसिंह यादव, युवा संघका केन्द्रीय संयोजक सीके सिंह, सुदूरपश्चिम इञ्चार्ज राजाराम चौधरी र राष्ट्रिय परिषद सदस्य विक्रमबहादुर बमले पार्टी छाडेका हुन् ।
जनमतमा वरिष्ठ उपाध्यक्ष रहेका खान पार्टीका तर्फबाट मन्त्रीसमेत बनेका थिए । पार्टीको शीर्ष नेतृत्वबाट देखिएको कमजोर कार्यशैली, निर्णय प्रक्रियामा पारदर्शिताको अभाव तथा जनभावनासँग विमुख हुने गतिविधिहरूले राउतले देखाएको उनीहरूको आरोप थियो ।
सीके राउतसँग सत्तालाई प्राथमिकतामा दिने बाहेक सिद्धान्त नरहेको जनमतका पूर्वप्रवक्ता शरदसिंह यादव बताउँछन् ।
अध्यक्ष राउतले आफ्नै दाजु जयकान्त राउतलाई सर्वेसर्वा बनाउन थालेपछि जनमतमा संकट बढ्दै गएको पूर्वप्रवक्ता यादव दाबी गर्छन् ।
जनमत त्यागेका नेताहरूका अनुसार उक्त दलमा समस्या बढ्नुमा राउत दाजुभाइको आफन्त मोह पनि कारण रहेको छ ।
पार्टी वा सरकारी पदमा नियुक्त हुँदा राउत दाजुभाइले उनीहरू निकटलाई प्राथमिकता दिने गरेको आरोप लागेको छ । जनमत त्यागेका एक नेताका अनुसार अध्यक्ष राउतले १२ जना नातेदारलाई नियुक्ति दिएका छन् ।
संस्थापक नेताहरू कैलाश महतो, डा. रविन्द्र यादव, जासर यादव लगायत हाल जनमतमा छैनन् । जनमत महासचिव चन्दन सिंह पार्टीभित्र संकट नरहेको दाबी गर्छन् । उनले अनलाइनखबरसँग भने,‘पार्टी ठिक तरिकाले चलिरहेको छ । अरु केही छैन ।’
हतारिँदा गुम्यो सत्ता
जेनजी आन्दोलनको रापतापमा हतारिएर निर्णय लिँदा मधेश सरकारको नेतृत्व जनमतले गुमाएको छ । कांग्रेस र एमालेको समर्थनमा जनमतका सतिशकुमार सिंह मधेशका मुख्यमन्त्री बनेका थिए ।
अन्य छ प्रदेशका मुख्यमन्त्रीहरू पदमा यथावत् रहँदा अध्यक्ष राउतले मुख्यमन्त्री राउतलाई राजीनामा गर्न लगाए । सिंहले सामाजिक सञ्जालबाट राजीनामा दिएको घोषणा गरे ।
सामाजिक सञ्जालबाट दिएको राजीनामा सिंहले फिर्ता लिएपछि जनमतको संसदीय दलमा दुई कित्तामा उभियो । मधेशका संसदीय दलका नेता महेशप्रसाद यादवले मुख्यमन्त्री–मन्त्रीलाई फिर्ता बोलाएको पत्र प्रदेश सभामुख रामचन्द्र मण्डललाई बुझाएका थिए ।
जनमतबाट मन्त्री बनेका दुई जनाले राजीनामा दिए पनि सिंहले भने पद त्याग गरेनन् । मुख्यमन्त्रीसहित आफ्नो पार्टीका मन्त्रीहरूलाई फिर्ता बोलाउने निर्णय संसदीय दलले गर्दासमेत सिंहले पद छोड्नन् । सिंहले अरू पार्टीहरूसँग साँठगाँठ गरी जनमतलाई क्षति पुर्याएको संसदीय दलको ठहर थियो द सिंहले पद त्याग नगर्दा संसदीय दलभित्र सिंह एक्लिएका छन् ।
कांग्रेस–एमालेको अवरोध विना संख्यामा शक्तिशाली रहेर मुख्यमन्त्री चलाइराख्न पाएको जनमतले सत्ताको नेतृत्वबाट हात धुनु परेको छ ।
नयाँ सरकारको समीकरण बनाउने क्रममा समेत जनमतले दोहोरो चरित्र देखाएको छ । दुई दिन अघिसम्म कांग्रेसको नेतृत्वमा सरकार बनाउन जनमत सहमत देखिएको थियो ।
उक्त निर्णयबाट पछि हटेर लोसपाको नेतृत्वमा सरकार बनाउने अवस्थामा जनमत आइपुगेको छ । संसद्को संख्यामा बलशाली नहुने सत्ता समीकरणपछि जनमत लागेको छ ।
प्रदेश सभामा संख्या कम रहेका दलहरूको समीकरण बनाएर लोसपाको नेतृत्वमा सरकार गठन गर्न जनमतले साथ दिएको छ ।
लोसपाको नेतृत्वमा जसपा नेपाल, जनमत, नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादी समाजवादीले सरकार बनाउने सहमति बनेको छ । जनमतका महासचिव चन्दन सिंहले लोसपाको नेतृत्वमा मधेशमा सरकार बन्ने बताए । मुख्यमन्त्री गुमाएर लोसपालाई समर्थन गर्ने अवस्थामा जनमत किन आइपुग्यो भन्ने प्रश्नमा महासचिव सिंह भन्छन्, ‘लोसपाको मुख्यमन्त्री बनाएर मधेशमा सरकार बनाउने कुरा भएको छ । अहिले यत्ति भनौं ।’
उपेन्द्र यादव नेतृत्वको जसपा नेपालसँग ‘दुश्मनी’ को व्यवहार गर्दै आएको जनमत त्यही दलसँग सरकारमा सहभागी हुने भएको छ । उपेन्द्र र सीके बीचमा वैमनस्यता कायमै छ ।
उपेन्द्र यादवलाई अनेक थरी गाली गर्ने सीके राउतले अहिले मधेशमा सत्ता सहकार्य गर्नुलाई जनमतका पूर्व नेता शरद् यादव घृणित कार्य भएको बताउँछन् ।
सीकेलाई जनमतका पूर्व नेता यादव प्रश्न गर्छन्, ‘उपेन्द्रलाई पहिले पहिले सीके राउतले गर्नुभएको गालीको अब उहाँले कसरी प्रतिवाद गर्नसक्नु हुन्छ ?’
उपेन्द्र नेतृत्वको जसपा नेपालले जनमतलाई सैद्धान्तिक एवं वैचारिक दृष्टिकोणले अस्पष्ट र सिद्धान्तहीन दलका रूपमा व्याख्या गर्दै आएको छ । सीकेलाई विचलित मानसिकता भएको व्यक्ति भएको आरोप जसपा नेपालले लगाउँदै आएको छ ।
पार्टी नेतृत्वको उक्साहटमा मुख्यमन्त्री गुमाएका सिंह मूल नेतृत्वसँग क्रुद्ध बनेका छन् । पार्टीभित्रको प्रवृत्ति यस्तै दल पतन हुने चेतावनी सिंहले दिएका छन् । केन्द्र र प्रदेश संसदीय दलले असहयोग गरेको सिंहले आरोप लगाएका छन् । केन्द्रीय नेतृत्व र प्रदेशमा संसदीय स्पष्टीकरण सोधेर आफ्नो चरित्र हत्या गरेको सिंहले बताएका छन् ।
प्रतिक्रिया 4