
२९ असोज, जनकपुरधाम । मधेश प्रदेशमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेता जितेन्द्र सोनालाई मुख्यमन्त्री नियुक्त गर्न प्रदेश प्रमुख समक्ष दाबी पेस गरिएको छ । ६ राजनीतिक दलले प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारी समक्ष ५७ सांसदको हस्ताक्षर रहेको दाबी पेस गरेका हुन् ।
दाबी पेस गर्ने दलहरूमा जनता समाजवादी पार्टी (जसपा) नेपाल, जनमत पार्टी, नेकपा माओवादी केन्द्र, लोसपा, नेकपा एकीकृत समाजवादी र नागरिक उन्मुक्ति पार्टी छन् ।
नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम नयाँ सरकार गठनका लागि दाबी गरिएको छ।
१०७ सदस्य प्रदेश सभामा सरकार बनाउन ५४ सिट आवश्यक पर्छ । जसपा नेपालको १९, जनमतका १३, नेकपा माओवादी केन्द्र र लोसपाका ९/९, नेकपा एकीकृत समाजवादीको ७ सिट छ । यस आधारमा तीन दल मिलाएर ५७ सिट पुग्छ । जसमध्ये लोसपाका एकजना सांसद निलम्वित छन् । नागरिक उन्मुक्तिले समेत समर्थन दिएपछि ५७ सांसद पुगेको छ ।
प्रतिक्रिया 4