१ वैशाख, काठमाडौं । चार महिना अघि गठन भएको कांग्रेसका कृष्ण यादव नेतृत्वको मधेश सरकारका कामले गति लिन नसकेपछि गठबन्धनभित्र असन्तुष्टि बढ्न थालेको छ ।
सत्ता गठबन्धनमा रहेको जनमत पार्टीले सरकारको कार्यशैलीमाथि प्रश्न उठाउन थालेको छ । केही दिन अघि राजधानी काठमाडौंमा भएको पार्टीको सचिवालय बैठकमा मधेश सरकारको कामबारे समीक्षा भएको थियो । त्यसक्रममा सरकारको नेतृत्व सही तरिकाले नचलेको कुरा उठेको थियो ।
‘सरकारले भनेजस्तो काम गरेको छैन । यही अवस्थामा सुधार नल्याउने हो भने सरकारलाई दिएको समर्थन नै पुनर्विचार गर्नुपर्ने हुनसक्छ‘, जनमत पार्टीका महासचिव चन्दन सिंहले भने ।
उनका अनुसार सरकारले वार्षिक बजेट नै खर्च गर्न सकेको छैन । पुँजीगत खर्च नै हुन सकेको छैन । ‘सरकारले गति नै नलिने र कामै नगर्ने हो भने हामी चुप लागेर बस्दैनौं‘ महासचिव सिंहले भने । काम गर्ने कतिपय योजनाहरुको टेण्डर पनि नभएको उनले बताए ।
गत एमालेका सरोज यादवलाई होटलमा लगेर सपथ खुवाउँदै मुख्यमन्त्री बनाएको घटनापछि मधेश सरकार अस्थिर हुँदै आएको छ ।
उक्त घटनाका कारण मधेश प्रदेशका सबै दलहरूले एमालेविरुद्ध गठबधन्धन गरेर यादवको नेतृत्वमा सरकार बनाएका छन् । सरकारमा कांग्रेस, जसपा, जनमत र नेकपा चार दल सहभागी छन् ।
‘नयाँ बजेट बनाउने बेला भइसक्यो नीति आयोग पनि कमजोर अवस्थामा छ‘, जनमतका महासचिव सिंहले भने, ‘गठबन्धनको संस्कृति अनुसार चल्ने मामिलामा पनि सरकार सक्रिय छैन ।‘
अहिले मधेश सरकारमा जनमतले अर्थ र समाजिक तथा खेलकुद मन्त्रालय लिएको छ । जेनजी आन्दोलन पछि नेतृत्वको विवादमा कांग्रेस धेरै अल्झिँदा पनि सरकारमा समस्या देखिएको छ ।
प्रतिक्रिया 4