Comments Add Comment

निर्मला प्रकरण पहिलो होइन, भोलि पनि रहन्छ : गृहमन्त्री

'राजनीतिकरण गर्नु दुःखद'

७ साउन, काठमाडौं । गृहमन्त्री रामबहादुर थापा बादलले निर्मला पन्त प्रकरणको राजनीतिकरण भएको भन्दै असन्तुष्टि जनाएका छन् । गृह जोडिएको छ, अपराधीहरुलाई बचाउन खोज्यो भन्नु दुःखद भएको उनले बताए ।

मंगलबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा गृहमन्त्री थापाले निर्मला पन्तको बलात्कारपछि हत्याको घटना जघन्य अपराध भएको बताए । तर यस्ता घटनालाई पूर्णरुपमा रोक्न नसक्ने भन्दै उनले भने, ‘यस किसिमका अपराध नयाँ र पहिलो होइन । निर्मला प्रकरणहरु यसभन्दा अगाडि पनि थिए, आज पनि छ र भोलि पनि केही समयसम्म रहन्छ । यस किसिमको अपराधलाई पूर्ण रुपमा निषेध गर्न हामी सक्दैनौं ।’

उनले निर्मला प्रकरणको राजनीतिकरण भएको बताए । ‘यो घटनामा गृह नै जोडिएको छ, अपराधीलाई बचाउन खोजिएको छ भनेर राजनीतिकरण गर्नु दुःखद हो’ उनले प्रतिप्रश्न गरे, ‘के साच्चै गृहले छुटाउन खोजेकै हो त ?’

यो पनि पढ्नुहोस निर्मला हत्या प्रकरण : चार प्रतिवेदन बने, हात लाग्यो शून्य

उनले यस्ता घटनामा ९५ प्रतिशत र समग्र अपराधमा संलग्नलाई पक्राउ गरी कारबाही गर्न नेपाल प्रहरी ९७ प्रतिशत सफल भएको तथ्यांक प्रस्तुत गरे । केही घटनामा सफलता हात पार्न नसकिएको र विगतका सरकारका पालामा भएका घटनामा पनि यस्तो हुने गरेको भन्दै गृहमन्त्री थापाले भने, ‘यस्तो अरु देशमा पनि हुन्छ । अमेरिकामा पनि हुन्छ ।’

यद्यपि निर्मला प्रकरण र यस्ता अपराधिक घटनामा संलग्नहरुलाई कानुनी कठघरामा ल्याउन सरकार प्रतिवद्ध रहेको गृहमन्त्री थापाले बताएका छन् ।

‘सुन तस्करीको सञ्जाल तोड्न सफल’

थापाले राष्ट्र विखण्डन र पृथकतावादको चुनौति सफलतापूर्वक अवतरण गरेको सुनाउँदै शान्ति, सुरक्षा कायम गर्ने विषयमा गृह मन्त्रालय सफल रहेको पनि बताए ।

थापाले सुन तस्करीको सञ्जाल र आर्थिक अपराध नियन्त्रणमा पनि उल्लेख्य प्रगति भएको उनले सुनाए । ‘तस्करीको सञ्जाललाई हामीले मुलभूत रुपमा तोडेका छौं । थोकथोकमा जसरी सुन तस्करी हुन्थ्यो, अहिले छैन’, उनले भने, ‘अहिले चाहिँ मान्छे एक/दुई तोला विभिन्न रुपमा ल्याएका छन् । तर, योभन्दा अगाडिको जस्तो अवस्था छैन ।’

उनले शुसासन र भ्रष्टाचार नियन्त्रण गर्ने विषयमा पनि मन्त्रालय सफल भएको बताए । भ्रष्टाचारविरुद्ध कारबाहीलाई तीब्र पारिएको उनले बताए ।

‘सीमा क्षेत्रमा हुने तस्करी लगायतका विषयमा पनि हामी सफल छौं भन्ने विषय राजश्व वृद्धि हुनुले पुष्टि गर्छ’, उनले सुनाए, ‘मानव तस्करीको कुरामा अहिले विदेश जाने मानिसहरुकै कमी आएको छ । जसरी हिजो हरेक दिन डेढ/दुई हजार जान्थे । त्यसमा कमी आएको छ ।’ देशमा रोजगारी सिर्जना भइरहेकाले यो स्थिति आएको उनले बताए ।

उनले अध्यागमन कार्यालयको सुधार पनि भइरहेको जनाए । ‘कतै सेटिङ गरेर भइरहेका छन् भन्ने आयो भने हामीलाई सूचना दिनु होला’, उनले पत्रकारलाई पनि आग्रह गरे । विमानस्थलको सुरक्षालाई सुदृढ पार्नका लागि उच्च प्रविधियुक्त सफ्ट्वेयर पनि विकास गरिएको उनले बताए ।

‘बाहिरबाट हुनसक्ने अबाञ्छित गतिविधिलाई रोक्न हामीले नयाँ योजना लागू गरेका छौं’, थापाले भने, ‘भारततिर दुई वटा र उत्तरमा हिल्समा अध्यागमन कार्यालय स्थापना भएको छ ।’ यसले देशको आर्थिक समृद्धि र विकासमा मद्दत गर्ने उनले विश्वास व्यक्त गरे ।

मदिराका कारण अपराध वृद्धि भएकाले सदनमा समेत छलफल गरेर मदिरा नियन्त्रण निर्देशिका पनि तयार पारिएको उनले बताए । थापाले समयमा काम पूरा नगर्ने ठेकदारलाई पनि कारबाहीको दायरामा ल्याइएको जनाए ।

‘समयमा काम नगर्ने ठेकेदारको विषय भ्रष्टाचार र आर्थिक अपराधसित पनि जोडिएको छ । यो बारेमा गृहमन्त्रालय पनि लागिरहेको छ, हात हालेर छाडेको होइन’, उनले भने, ‘कानुन सम्मत ढंगले प्रक्रियालाई अघि बढाइरहेको छौं । यसलाई नियन्त्रण गर्ने कार्यमा अख्तियार पनि लागि परेको छ ।’

यो पनि पढ्नुहोस १८ सय ४८ ठेकदार अख्तियारको निगरानीमा

पूर्वगृहमन्त्रीको पीएसओ तानिँदै

मन्त्रालयका सचिव प्रेमकुमार राईले पूर्वगृहमन्त्री र मन्त्रीका घरमा राखिएका अनावश्यक सुरक्षाकर्मी पनि तानिने जनाए । कतिपयलाई सुरक्षा थ्रेटको आधारमा सुविधा दिइएको भए पनि अनावश्यक खटाइएको ठाउँबाट निकालिने उनको भनाइ छ ।

‘धेरै खटिएका ठाउँबाट यसअघि पनि कतिपयलाई निकालिसकेका छौं’, राईले भने ।

उनले नेपाल प्रहरी र सशस्त्र प्रहरी बलबीच कुनै असमझदारी नरहेको पनि बताए ।  ‘दुवै संगठनको आ–आफ्नै क्षेत्राधिकार रहेकाले कसैको विमती छैन’, उनले भने, ‘अहिले बनिरहेको ऐनमा पनि छलफल भइरहेको छ ।’

चर्चित निर्मला हत्या प्रकरणको अनुसन्धानको सुरुवात्मै केही प्राविधिक पक्षको त्रुटि भएको बताउँदै निरन्तर छानविन भइरहेको राईले जनाए ।

हेर्नुस् गृहको वार्षिक प्रगति विवरण

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment