+
+
Shares

नेकपाको गणित : प्रचण्डलाई ३३, ओलीलाई २६ प्रतिशत

माधव नेपालका भागमा १७ पर्‍यो, वामदेव र बादललाई बराबर

अनलाइनखबर अनलाइनखबर
२०७६ साउन ६ गते २०:५५

६ साउन, काठमाडौं । पार्टी एकीकरणको एक वर्ष पुग्दासम्म जिम्मेवारी पाइएन भन्दै काठमाडौंतिरै भाैतारिने नेकपाका ६० प्रतिशत केन्द्रीय सदस्यहरुलाई प्रदेश र जिल्लाको भूगोलका काममा खटाइएको छ । जिल्ला इञ्चार्जहरु तोकिँदा गणितको हिसाबले केपी ओलीभन्दा प्रचण्ड समूहमा बढी इञ्चार्जहरु परेका छन् ।

जिल्ला नेतृत्वमा माधव नेपाल तेस्रो शक्तिका रुपमा कायम छन् भने चौथो गुटका नेताहरु वामदेव गौतम र बादलले लगभग बराबरी हिस्सा पाएका छन् । नारायणकाजी समूहमा जिल्ला इञ्चार्जहरु थोरै मात्र छानिएका छन् ।

नेकपाले ७७ जिल्ला र ६ महानगरपालिकाका इञ्चार्ज र सहइञ्चार्ज तोक्दा २३६ जना केन्द्रीय सदस्यले जिम्मेवारी पाएका छन् । यसअघि नै ७ प्रदेशका इञ्चार्ज, सहइञ्चार्ज तथा अध्यक्ष र सचिव केन्द्रीय सदस्यबाटै तोक्दा २८ जनाले जिम्मेवारी पाइसकेका छन् ।

डीआर पौडेलको निधन र वंशीधर मिश्रको राजदूतमा नियुक्तिसहित हाल नेकपा केन्द्रीय कमिटीको संख्या ४४१ सदस्यीय छ ।

नेकपाको कुल ४४३ सदस्यीय केन्द्रीय कमिटीका २६४ जनाले प्रदेश र जिल्लाको जिम्मेवारी पाउँदा ६० प्रतिशत नेताहरु अब भूगोलको काममा खटिनुपर्नेछ ।

महासचिव बिष्णु पौडेलले पार्टी एकीकरण लगत्तै केन्द्रीय कमिटीका ६० प्रतिशत नेताहरुलाई भूगोलको काममा खटाउने योजना नेतृत्वलाई सुनाएका थिए ।

महासचिव पौडेलको प्रस्तावअनुसार नै दुवै अध्यक्ष सहमत भई केन्द्रीय सचिवालयले आइतवार ८३ जना इञ्चार्जसहित १५३ जना केन्द्रीय सदस्यलाई सहइञ्चार्ज बनाएर जिल्लाको काममा खटाउने निर्णय गरेको हो । बाँकी ४० प्रतिशतमध्ये २० प्रशितलाई केन्द्रीय विभाग र २० प्रतिशतलाई जनसंगठनको काममा खटाउने पौडेलको प्रस्ताव थियो ।

नेकपाका एक नेताले भने, जिम्मेवारी पाइएन भन्दै बालुवाटार, खुमलटार र कोटेश्वरतिर नेताका निवास धाउने कमरेडहरुलाई आ-आफ्नो जिल्लामा पार्टी बलियो बनाउने जिम्मा दिइएको छ । अब पनि काठमाडौंमै देखिए भने तपाई यतै हुनुहुन्छ ? भनेर सोध्दा लाज हुन्छ भनेर पनि उहाँहरु कार्यक्षेत्रमा जानुहुनेछ ।

केन्द्रीय कमिटीको दुई तिहाई संख्यालाई भूगोलको काममा केन्द्रित गर्नका लागि एउटै जिल्लामा धेरै सहइञ्चार्जहरु राखिएको नेताहरुले बताएका छन् । यद्यपि इञ्चार्ज र सहइञ्चार्ज कार्यकारी पद नभएकाले उनीहरुले जिल्ला र निर्वाचन क्षेत्र तथा स्थानीय तहसम्मका पार्टी कामको संयोजनमा सघाउने एक नेताले बताए ।

‘कार्यकारी भनेका प्रदेश कमिटी, जिल्ला कमिटी र स्थानीय तहका कमिटी नै हुन् । प्रदेश अध्यक्ष र जिल्ला अध्यक्षले नै ती कमिटीहरु परिचालन गर्ने हो । इञ्चार्जले केन्द्रीय कमिटीको नीति निर्देशन लागू गर्ने मात्र हो’ उनले भने ‘त्यसैले एउटै जिल्लामा धेरै सहइञ्चार्ज हुँदैमा ती कमिटीमा सहइञ्चार्जको कार्यकारी भूमिका नहुने भएकाले कुनै असर गर्दैन ।’

यी हुन् ओली निकट इञ्चार्ज

७७ जिल्ला र ६ महानगरका ८३ इञ्चार्जमध्ये पूर्वएमालेले पाएका ४५ जनामा केपी ओली पक्षका २२ जना छन् । त्यस्तै माधव नेपाल पक्षका १७ जना छन् । दुई पटक पार्टीको प्रमुख भइसकेका बरिष्ठ नेता झलनाथ खनालले भने आफ्नो अलग्गै गुट खडा गरेका छैनन् ।

अध्यक्ष तथा प्रधानमन्त्री ओलीको आफ्नै प्रदेश १ मा खोटाङका विशाल भट्टराई बाहेक अरु सबै माधव नेपाल पक्षका छन् । प्रदेश २ मा ओली पक्षबाट सप्तरीमा रामप्रित पासवान, सिरहामा लीलानाथ श्रेष्ठ र बारामा बलवीरप्रसाद चौधरी इञ्चार्ज बनेका छन् ।

प्रदेश ३ मा ओलीपक्षबाट जिल्ला इन्चार्ज बन्नेमा नुवाकोटका महेन्द्रबहादुर पाण्डे, काभ्रेपलान्चोकका गोकुल बाँस्कोटा मात्र छन् । गण्डकी प्रदेशबाट जिल्ला इञ्चार्ज बन्ने ओलीनिकट नेताहरुमा स्याङजाकी पद्मा अर्याल, मनाङका रामशरण बस्नेत, लमजुङका मायानाथ अधिकारी र नवलपरासी पूर्वका तिलक महत छन् ।

प्रदेश ५ मा रुपन्देहीका लीला गिरी, पश्चिम नवलपरासीका बैजनाथ चौधरी, बाँकेका दिनेश यादव, अर्घाखाँचीका नजिर मिया, रुकुम पूर्वका खेममान खड्का ओली निकट हुन् ।

कर्णाली प्रदेशबाट जाजरकोटका भैरवसुन्दर श्रेष्ठ, मुगुका मोहन बानियाँ, दैलेखका लक्ष्मी पोखरेल, डोल्पाका हंशवहादुर शाही ओली निकट हुन् ।

सुदूरपश्चिम प्रदेशमा डोटीका प्रेम आले पछिल्लो समय भीम रावलसँगको विवादका कारण ओली पक्षमा खुलेका छन् भने कञ्चनपुरका विक्रम शाही ओली निकट हुन् । पोखरा महानगरपालिकाका इञ्चार्ज मानबहादुर जीसी पनि ओली निकट मानिन्छन् ।

नेपाल गुटका इञ्चार्ज

माधव नेपाल पक्षले प्रदेश १ मा सबैभन्दा धेरै जिल्लामा इञ्चार्ज प्राप्त गरेको छ । ताप्लेजुङका भाष्कर काफ्ले, झापाका रविन कोइराला, सुनसरीका धर्म निरौला, संखुवासभाका राजेन्द्रकुमार राई, तेह्रथुमकी जयन्ती राई, उदयपुरका बलदेव चौधरी र ओखलढुंगाका यज्ञराज सुनुवार माधव नेपाल निकट हुन् ।

मोरङका इञ्चार्ज बनेका घनेन्द्र बस्नेत विगतमा केपी ओली निकट रहे पनि हाल माधव नेपाल पक्षसँग नजिक रहेको बताइन्छ ।

प्रदेश २ मा माधव नेपाल पक्षबाट इञ्चार्ज बन्नेमा पर्साका नागेन्द्र चौधरी र वीरगञ्ज महानगरपालिकाका इञ्चार्ज दिनेश राई छन् ।

प्रदेश ३ मा नेपाल पक्षबाट धेरै इञ्चार्ज बनेका छन् । चितवनका कृष्ण खनाल, मकवानपुरका बिरोध खतिवडा, रामेछापका देवशंकर पौडेल, काठमाडौं महानगरका जीवनराम श्रेष्ठ, ललितपुर महानगरकी सुशीला नेपाल माधव नेपाल पक्षका हुन् ।

गण्डकी प्रदेशमा माधव नेपाल पक्षबाट इञ्चार्ज हुनेमा मुस्ताङकी श्रीमाया थकाली मात्र छिन् भने प्रदेश ५ मा पाल्पाका सोमप्रसाद पाण्डे मात्र माधव नेपाल पक्षबाट इञ्चार्ज बनेका छन् । यद्यपि पाण्डे माधव नेपालका सम्धी हुनुबाहेक ओली पक्षसँग सहकार्य गर्ने नेतामा पर्छन् । उनी महासचिव बिष्णु पौडेलका विश्वासपात्र हुन् ।

कर्णाली प्रदेशका कुनै पनि जिल्लामा नेपाल पक्षले इञ्चार्ज पाएको छैन । सुदूरपश्चिम प्रदेशमा पनि नेपाल पक्षले जिल्ला इञ्चार्ज पाएन । सुदूरपश्चिम प्रदेशका ५ जिल्ला इञ्चार्ज पूर्वएमालेले पाउँदा बामदेव गौतम निकट तीन जनाले पाएका छन् ।

वामदेवको बाजी

केही दिनयता प्रधानमन्त्री केपी शर्मा ओलीले वामदेव गौतमलाई पुनः आफ्नो पक्षमा पार्न खोज्नु र जिल्ला इञ्चार्ज तथा सहइञ्चार्ज चयन गर्दा गौतम निकट केन्द्रीय सदस्यहरुले उल्लेख्य जिम्मेवारी पाउनु संयोग मात्र हुन सक्छ । तर, नेकपामा विशेष गरी पूर्वएमालेभित्र गौतमले तेस्रो शक्तिको मान्यता पाएका छन् ।

नेकपाका ७७ जिल्ला र ६ महानगर कमिटीका ८३ इञ्चार्ज तोकिँदा गौतम निकट ६ जना नेताले जिम्मेवारी पाएका छन् । यद्यपि उनीहरु वामदेव निकट भएका कारण भन्दा पनि साविकको मापदण्डबाट परेको नेताहरु बताउँछन् ।

देशको राजधानीका १० निर्वाचन क्षेत्र र सबैभन्दा धेरै पार्टी सदस्य रहेको काठमाडौं जिल्लाको इञ्चार्ज बनेकी सावित्रा भुसाल वामदेव निकट मानिन्छिन् । उनी साबिक एमालेमा पनि काठमाडौं जिल्लाको इञ्चार्ज थिइन् ।

दार्चुलाका गणेश ठगुन्ना, बझाङका भैरबबहादुर सिंह र बाजुराका लालबहादुर थापा पनि बामदेव गौतम निकट मानिन्छन् । म्याग्दीका भुपेन्द्रवहादुर थापा र बर्दियाका इञ्चार्ज लक्ष्मण ज्ञवाली पनि बामदेव निकट हुन् ।

पूर्वएमालेमा नवौं महाधिवेशनदेखि ओली र वामदेव सँगै थिए । पछिल्लो समय गौतम ओलीसँग टाढिएका छन् । यद्यपि उनले आफू कुनै गुटमा नरहेको भन्दै आफूनिकट नेता कार्यकर्तालाई जता राजनीतिक भविष्य सुरक्षित हुन्छ, त्यतै लाग्न पहिले नै आग्रह गरेका थिए ।

आठौं महाधिवेशनसम्म गौतमसँग ०५४ सालमा एमाले फुटेर माले बन्दाखेरिका अधिकांश नेता कार्यकर्ता थिए । तर, ५ वर्षअघिको नवौं महाधिवेशनसम्म आउँदा गौतम ओलीतिर लागे भने गौतमलाई साथ दिँदै आएका घनश्याम भुसाल, योगेश भट्टराई लगायतका नेताहरु माधव नेपालतिर लागेका थिए ।

गौतम पछिल्लो समय नेकपाको संगठन विभाग प्रमुखको दाबेदार छन् । शुरुमा उनलाई संगठन विभाग प्रमुख बनाउन अनुदार रहेको भनिएका अध्यक्ष ओली पछिल्लो समय सहमत भएका थिए । उनले गौतमलाई जन्मदिनको अवसर पारेर बालुवाटारस्थित निवासमै बोलाएर केक काटेका थिए ।

पूर्वमाओवादीमा प्रचण्ड गुटको बाहुल्य

पूर्वमाओवादीले पाएका ३८ जिल्ला इञ्चार्जमध्ये अधिकांश प्रचण्ड निकटका छन् । तर, यसपटक जिल्ला इञ्चार्जमा नारायणकाजी श्रेष्ठ र रामवहादुर थापा बादल पक्षधरले पनि स्थान पाएका छन् । श्रेष्ठ निकट ३ जना इञ्चार्ज बन्दा बादल निकट ६ जना बनेका छन् ।

श्रेष्ठ निकटका इञ्चार्जमध्ये सर्लाहीका डाचाराज वाग्ले, महोत्तरीका राजु खड्का र दाङका जीवन गौतम छन् ।

बादल निकट जिल्ला इञ्चार्जहरुमा पाँचथरका इन्द्र आङ्बो, सिन्धुलीका बिषमलाल अधिकारी, भक्तपुरका दिलिप प्रजापति, तनहुँका हरिबहादुर चुमान र कैलालीकी रुपा चौधरी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?