+
+
Shares
अलविदा विपिन :

गाजा पट्टीमा मारिए, महाकालीमा बिलाए

इजरायली अधिकारीले महाकाली किनारबाट एउटा ढुंगा उठाए। र विपिनको सम्झनामा इजरायलमा राखिने बताए।

कृष्णसिंह धामी कृष्णसिंह धामी
२०८२ कात्तिक ४ गते १७:५६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • इजरायलमा हमास समूहले नियन्त्रणमा लिएका विपिन जोशी दुई वर्षपछि बाकसमा फर्किएर राष्ट्रिय सम्मानका साथ महाकाली नदी भुजेला आर्यघाटमा अन्त्येष्टि गरिए।
  • विपिनको रिहाइका लागि कतार, साउदी, इजिप्ट लगायत देशहरूसँग कुटनीतिक पहल गरिए पनि सफल हुन सकेन र उनको शव नेपाल ल्याइयो।
  • शवयात्रामा नेपाली सेना, प्रहरी र इजरायली दूतावासका अधिकारीहरूले मौन श्रद्धाञ्जली अर्पण गरे र विपिनका व्यक्तिगत सामानहरू महाकाली नदीमा विसर्जन गरियो।

४ कात्तिक, कञ्चनपुर। तिहारको मध्य समय। लक्ष्मीपूजाको रात। घर–घरमा दियो बालिँदै थियो। हर्षोल्लासको उज्यालोले बजार र गल्ली झलमलाइरहेका थिए। तर, भीमदत्त नगरपालिका–३ विचपुरीस्थित एक घर अश्रुपूरित अन्धकारमा थियो। त्यही घर थियो, विपिन जोशीको।

उनको घरमा दीपावलीको दीप होइन—शोकको धुवाँ उठिरहेको थियो। घरमा रुवाबासी चलिरहेको थियो। परदेशबाट छोराछोरी घर फर्किंदा कतिपयको घरमा खुसीयाली छाइरहेको थियो। विपिन पनि घर त पुगे तर, बाकसमा लास बनेर। व्यग्रतापूर्वक दाइको प्रतीक्षा गरिरहेकी बहिनी थप मूर्छित बनिन्।

इजरायलको बाट दुई वर्षपछि बाकसमा फर्किएका विपिन आज अन्तत: आफ्नै मातृभूमिको माटोमा विलाए। महाकाली नदी भुजेला आर्यघाटमा हजारभन्दा बढी मानिसहरूको उपस्थितिमा राष्ट्रिय सम्मानका साथ उनको अन्त्येष्टि गरियो। नेपालको राष्ट्रिय झण्डा र इजरायलको झण्डा ओढिएको पार्थिव शरीरले दुई देशबीचको साझा पीडा बोकेको जस्तो देखिन्थ्यो।

दुई वर्षको प्रतीक्षा जब बाकसमा कैद भयो

सन् २०२३ अक्टोबर ७, त्यो दिन विपिनलाई हमास समूहले नियन्त्रणमा लिएको थियो। सुदूरपश्चिम विश्वविद्यालयको लर्न एन्ड अर्न कार्यक्रमअन्तर्गत इजरायल पुगेका उनी कामको सिलसिलामा किबुत्ज क्षेत्रमा थिए। त्यसपछि उनको समाचार आयो, विपिनलाई हमास समूहले लग्यो। अनि लामो प्रतीक्षा सुरु भयो।

बुबा महानन्द, आमा पद्मा, र बहिनी पुष्पा, तीनैको जीवन त्यही दिनदेखि स्थिर भएन। नरोएको दिन भएन।

‘दाइ अवश्य फर्किन्छन्, म टीका लगाउँछु,’ बहिनी पुष्पा केही दिनअघिसम्म यही आशामा थिइन्। गत वर्षको भाइटीका समेत दाइको प्रतीक्षामा बिताएकी पुष्पा यो वर्ष टीका लगाउन पाइनेमा आशावादी थिइन्। उनले आमासहित इजरायल र अमेरिकासम्म पुगेर दाई खोजिन्, रिहाइका लागि सबैतिरबाट आश्वासन पाइन्। त्यसपछि पुनर्मिलनको आशा लिएर स्वदेश फर्किइन्। तर, आशाको त्यो प्रकाश अन्तत: निभ्यो,– विपिन बाकसमा फर्किए

महाकालीको तटमा अन्तिम बिदाइ

आज बिहान ८ बजे घरबाट शवयात्रा सुरु भयो। बाँसको खटमा पार्थिव शरीर राखेर मलामीहरू बजार हुँदै हिँडे। महेन्द्रनगरका चोकचोकमा मानिसहरू निहुरेर श्रद्धाञ्जली दिइरहेका थिए। कसैले फूल तथा अगरबत्ती चढाए, कसैले आँसु बगाए।

शवयात्रामा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीका अधिकारीहरू पनि सहभागी थिए। सशस्त्र प्रहरीले विपिनप्रति सलामी अर्पण गर्‍यो। कृष्णपुर नगरपालिकाको शवबाहनले अन्तत: विपिनलाई महाकालीको तटमा पुर्‍यायो।

टंटलापुर घाममा चलिरहेको हावाले पनि शोक मनाइरहेको जस्तो लाग्थ्यो। बुबा महानन्द र ठूला बुबाका छोरा किशोरले दागबत्ती दिए। इजरायली दूतावासका अधिकारीहरूले पनि मौन श्रद्धाञ्जली अर्पण गरे।

नेपालस्थित इजरायली राजदूत स्मुलिक एरि बासले इजरायली राष्ट्रपतिद्वारा पठाइएको सन्देश पढे। राष्ट्रपतिले पठाएको सन्देशमा भनिएको थियो, ‘विपिनले इजरायलमा देखाएको साहस र समर्पणका लागि हामी सधैं ऋणी रहनेछौं।’

त्यसपछि इजरायली अधिकारीले महाकाली किनारबाट एउटा ढुंगा उठाए। र विपिनको सम्झनामा इजरायलमा राखिने बताए।

महाकालीमा बिसर्जन गरियो सम्झना

अन्त्येष्टि सकेर परिवार र आफन्तहरूले विपिनका व्यक्तिगत सामानहरू लुगा, डायरी, औषधि, दैनिक रुटिन, झोला—महाकालीमै विसर्जन गरे।

‘मरेको मान्छेको कुरा उसैलाई फर्काउनुपर्छ,’ भन्ने मान्यताअनुसार उनका सम्झना बिसर्जन गरिएको थियो। त्यसमा उनको प्रिय गिटार पनि थियो।

‘विपिन, हामीलाई माफ गर’

शवयात्रामा सहभागी केही युवाहरूले हातमा प्लाकार्ड बोकेका थिए। ती कार्डमा ‘विपिन, हामीलाई माफ गर’ लेखिएको थियो। परदेशमा मरेर फर्किनु हाम्रो पुस्ताको नियति बनेको छ। जुन उनका लागि समेत दुर्भाग्य बन्न पुग्यो।

उनको रिहाइका लागि अनेकन प्रयास गरियो। हमाससँग नजिक मानिएका कतार, साउदी, इजिप्ट लगायतका देशहरूसँग समेत कुटनीतिक पहल गरियो। तर, अनेकन प्रयासले सार्थकता पाउन सकेन। र अन्तत: विपिनको शव नेपाल आइपुग्यो।

नेपालबाट आफ्नो जिउँदो अवस्थामा उद्धार हुन्छ कि भन्ने आशामा थिए होलान् विपिन। त्यो आशा पूरा गर्न नसकिएको र बाकसमा ल्याउनुपर्ने विवशता आइलागेकोमा युवाहरूले विपिनसँग माफी मागेका थिए, शब्दमार्फत्।

शव आर्यघाटतर्फ बोकिँदै गर्दा गाउँभर रुवाबासी थियो। उनको शव हेर्ने तथा मलामीको ताती देखेर बच्चाहरू पनि सोचिरहेका थिए होला सायद,— आफूलाई त्यस्तो नियति नलेखोस्।

महाकालीको पानी अझै त्यही बगिरहेको छ। आज त्यही पानीले विपिनका सपनाहरू र देशका युवा मनका पीडाहरू पनि बगाइरहेको छ। विपिन जोशी अब फर्किने छैनन्। तर उनको कथा हाम्रा प्रश्न बनेर बसेका छन्। किन हाम्रा सक्षम, शिक्षित, र आशावादी युवाहरू आफ्नै देशमा सपना देख्न सक्दैनन्?, किन, उनीहरूको अन्तिम बिदाई सधैं यस्तै बाकसमा हुनुपर्छ?

यी प्रश्नको उत्तर यसरी नै विदेशबाट बाकसमा आउने लासहरू देख्नेहरूले खोजिरहेका हुन्छन्। जाँदा आकाशमा, फर्किंदा बाकसमा, यो नियती नेपालीहरूले कहिलेसम्म भोग्नुपर्ने हो?

 

लेखक
कृष्णसिंह धामी

धामी अनलाइनखबरको बिजनेश ब्युरोका संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?