+
+
Shares

विपिन जोशीको पोस्टमार्टम नेपालमा किन भएन?

त्रिवि शिक्षण अस्पतालका फरेन्सिक विभागका प्रमुख डा. गोपाल चौधरीका अनुसार विदेशबाट शव नेपाल आउँदा पोस्टमार्टम गर्ने वा नगर्ने निर्णय परिवार र राज्यको सहमतिमा निर्भर हुन्छ ।

पुष्पराज चौलागाईं पुष्पराज चौलागाईं
२०८२ कात्तिक ४ गते १५:२६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • इजरायलमा हमास लडाकुले नियन्त्रणमा लिएर हत्या गरेका विपिन जोशीको शव दुई वर्षपछि नेपाल ल्याइयो र कञ्चनपुरमा अन्त्येष्टि गरियो।
  • इजरायली सेनाले विपिनको टाउकोमा गोली लागेको र हमास आक्रमणका कारण मृत्यु भएको पुष्टि गरेको छ।
  • विदेशमा गरिएको पोस्टमार्टम परिवारको सहमतिमा नेपालमा पुनः नगर्ने प्रचलन छ र विपिनको शवको डीएनए परीक्षणपछि मात्रै हस्तान्तरण भएको थियो।

४ कात्तिक, काठमाडौं । जीवित छन् भन्दाभन्दै विपिन जोशीले संसार छोडेको २ वर्ष भइसकेको रहेछ । यस अवधिसम्म उनको शवलाई कसरी राखियो ? थाहा छैन ।

सोमबार मात्रै उनको शव नेपाल ल्याइयो, बन्द कफिनमा । यतिबेलासम्म उनको शरीर कस्तो अवस्थामा थियो ?

उनका परिवारलाई अन्तिम झलक भए पनि आफ्नो सन्तानको सग्लो रूप हेर्ने इच्छा हुँदो हो ।

तर, त्यो इच्छा पनि पूरा भएन । किनभने, विपिनको अस्थिरपञ्जर मात्रै बाँकी थियो ।

मंगलबार कञ्चनपुरस्थित महाकाली नदी किनारमा उनको अन्त्येष्टि भइसकेको छ ।

टाउकोमा गोली हानेर मारिएको थियो

दुई वर्षअघि अध्ययनको सिलसिलामा इजरायल गएका विपिनलाई हमास लडाकुले नियन्त्रणमा लिएर हत्या गरेका थिए ।

सुदूरपश्चिम विश्वविद्यालयको ‘लर्न एन्ड अर्न’ कार्यक्रमअन्तर्गत इजरायल पुगेका विपिन एक महिनामै हमासको आक्रमणमा परेका थिए ।

हमास लडाकुहरू गाजा क्षेत्रबाट इजरायलमा प्रवेश गरी सन् २०२३ को अक्टोबर ७ मा आक्रमण गरेका थिए ।

उक्त आक्रमणमा परेर सुदूरपश्चिम विश्वविद्यालयका १० विद्यार्थीको मृत्यु भएको थियो भने विपिनलाई बन्धक बनाइएको थियो । दुई वर्षसम्म उनको अवस्था अज्ञात थियो ।

तर, इजरायल र हमासबीच हालै युद्धबिराम भएपछि बन्धकहरुको रिहाइ गर्ने क्रममा गत २८ असोजमा इजरायली सेनाले विपिनको सन् २०२३ तिरै हत्या पुष्टि भएको सूचना इजरायलस्थित नेपाली दूतावासलाई दिएको थियो ।

इजरायल र हमासबीच युद्धविराम सम्झौतापछि बन्दी साटासाट गर्ने क्रममा हमासले विपिनको भनेर इजरायली सेनालाई शव हस्तान्तरण गरेको थियो ।

इजरायलको द नेसनल सेन्टर अफ फरेन्सिक मेडिसिनको रिपोर्टअनुसार विपिनको टाउकोमा गोली लागेर मुत्यु भएको उल्लेख गरिएको छ ।

उक्त रिपोर्टअनुसार आंतकवादी हमलाका कारण विपिनको मृत्यु भएको हो ।

उनको शव अन्तर्राष्ट्रिय रेडक्रस सोसाइटी (आईसीआरसी)ले सैनिक अस्पताल लगेर डीएनएको परीक्षण भएको थियो ।

आमा र बुवाको डीएनए र शवको डीएनए म्याचिङ भएपछि मात्रै शव हस्तान्तरण भएको थियो ।

किन भएन नेपालमा पोस्टमार्टम ?

स्वदेशमा विपिनको शव आएपछि सामाजिक सञ्जालमा धेरैको प्रतिक्रिया नेपालमा पनि पोस्टमार्टम गर्नुपर्ने आएको थियो ।

मृत्युको कारण पत्ता लागिसकेकाले परिवारका सदस्य भने पोस्टमार्टम नेपालमा गर्न नपर्ने जनाएका थिए ।

यस विषयमा हामीले विदेशमा गरिएको पोस्टमार्टम पुन: नेपालमा गर्ने प्रचलन छ कि छैन भनेर वरिष्ठ फरेन्सिक विशेषज्ञसँग जिज्ञासा राख्दा परिवारको सहमतिको आवश्यकता हुने बताए ।

त्रिवि शिक्षण अस्पतालका फरेन्सिक विभागका प्रमुख डा. गोपाल चौधरीका अनुसार विदेशबाट शव नेपाल आउँदा पोस्टमार्टम गर्ने वा नगर्ने निर्णय परिवार र राज्यको सहमतिमा निर्भर हुन्छ ।

यदि परिवारले विदेशमा भएको पोस्टमार्टमको रिपोर्टलाई स्वीकार गर्दा नेपालमा थप पोस्टमार्टम गर्नु आवश्यक हुँदैन ।

तर, यदि परिवारले चित्त नबुझाएर प्रहरीमा उजुरी दियो वा राज्यलाई शंका लाग्यो भने राज्यले पोस्टमार्टम गर्नसक्छ ।

उनका अनुसार विदेशबाट आएका शवको पुनः नेपालमा पोस्टमार्टम गरिएको छैन ।

‘नेपालमा विदेशबाट आएका अधिकांश शव, विशेषगरी खाडी मुलुकबाट दुर्घटनामा परेका शवहरूमा पोस्टमार्टम हुँदैन,’ डा. चौधरीले अनलाइखबरसँग भने, ‘ ती शवहरू अन्तर्राष्ट्रिय मापदण्डअनुसार पोस्टमार्टम भइसकेका हुन्छन् । हाम्रो पोस्टमार्टमको रिपोर्ट पनि विश्वव्यापी रूपमा मान्य हुन्छ ।’

विपिनको शव अस्थिपञ्जरको रूपमा रहेको र मृत्यु भएको दुई वर्ष बितिसकेको अवस्थामा पोस्टमार्टमबाट मृत्युको कारण पत्ता लगाउन कठिन हुने डा. चौधरी बताउँछन् ।

उनका अनुसार यदि गोली लागेर मृत्यु भएको हो र हड्डीमा गोलीको चोट छ भने मात्र केही पत्ता लाग्न सक्थ्यो । तर शरीरको मासु गलेर अस्थिरपञ्जर मात्रै बाँकी हुँदा मृत्युको कारण पत्ता लगाउन सम्भव हुँदैन ।

यस्तो अवस्थामा शव पहिचानको लागि मात्रै डीएनए परीक्षण मात्रै हुन्छ ।

वरिष्ठ फरेन्सिक विशेषज्ञ डा. हरिहर वस्ती पनि अन्तर्राष्ट्रिय स्तरमा गरिएको पोस्टमार्टमको विश्वसनीयता गर्नुपर्ने बताउँछन् ।

उनका अनुसार विदेशमा गरिएको पोस्टमार्टमलाई सामान्य अवस्थामा नेपालमा पुनः परीक्षण नगर्ने प्रचलन छैन ।

‘अन्तर्राष्ट्रिय स्तरका देशहरूमा पोस्टमार्टमको मापदण्ड हाम्रो भन्दा उच्च हुन्छ । त्यहाँका विशेषज्ञ र अस्पतालहरूले गरेको पोस्टमार्टमको डकुमेन्टलाई हामीले विश्वास गर्नुपर्छ,’ वस्तीले अनलाइनखबरसँग भने, ‘विवाद वा शंका उत्पन्न भएमा मात्रै नेपालमा पुनः पोस्टमार्टम हुनसक्छ । तर सामान्यतया यस्तो गरिएको छैन ।’

लेखक
पुष्पराज चौलागाईं

अनलाइनखबरमा आबद्ध चौलागाईं स्वास्थ्य विटमा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?