
२८ असोज, काठमाडौं । हमासबाट मारिएका नेपाली युवा विपिन जोशीको झण्डै दुई वर्ष अघि नै हत्या भएको पाइएको छ ।
इजरायली सैनिक अस्पतालमा गरिएको डीएनए परीक्षणको रिपोर्टमा उनको सन् २०२३ को अन्त्यतिर नै मृत्यु भइसकेको देखिएको इजरायलस्थित दूतावास स्रोतले अनलाइनखबरलाई बताएको छ ।
‘ हमासले हस्तान्तरण गरेको शव विपिन जोशीकै भएको डीएनए परीक्षणबाट पुष्टि भयो । उनको प्राकृतिक मृत्यु नभइ हत्या नै भएको रिपोर्ट पाएका छौं,’ स्रोतले भन्यो ।
उनको शव अन्तर्राष्ट्रिय रेडक्रस सोसाइटी (आईसीआरसी)ले सैनिक अस्पताल लगेर डीएनए गरेको थियो ।
यसबारे नेपाली इजरायलस्थित दूतावासले औपचारिक रुपमा जानकारी गराएको छैन । परराष्ट्र मन्त्रालयका अधिकारीहरूले पनि अहिलेसम्म जानकारी नभएको बताएका छन् ।
स्रोतका अनुसार, परराष्ट्र मन्त्रालयको समेत जिम्मेवारी सम्हालेकी प्रधानमन्त्री सुशीला कार्कीलाई यसको औपचारिक जानकारी भएपछि विपिनको डीएनए परीक्षणको रिपोर्टबारे सार्वजनिक गराउने तयारी छ ।
आईडीएफका प्रतिनिधिहरूले पनि सोमबार हमासले बुझाएका २३ वर्षीय नेपाली नागरिक विपिन र २६ वर्षीय गाई इलोज इजरायली नागरिकको शव फरेन्सिक परीक्षणपछि पुष्टि भएको जनाएका छन् ।
विपिनलाई सन् २०२३ अक्टोबर ७ मा इजरायलको किब्बुत्ज अलुमिमस्थित बम शेल्टरबाट हमासले अपहरण गरेको थियो । त्यसपछि उनको अवस्था अज्ञात रहेकोमा केहीदिन अपहरणपछि हमासले कैद गरेको भिडियो इजरायली सेनाले सार्वजनिक गरेको थियो । इजरायली सेनाका अनुसार विपिनलाई युद्धको सुरुवाती महिनाहरूमा कैदकै मै रहेका बेला हत्या गरिएको आकलन गरिएको छ ।
हामासले गए राति फिर्ता पठाएका शवहरूमा योसी शाराबी र सेनाका कप्तान डानियल पेरेज पनि रहेका छन् । उनीहरूको पहिचान भइसकेको छैन ।
इजरायली सेनाका अनुसार इलोज उपचार नपाएर बन्धक अवस्थामा नै मृत्यु भएका हुन् ।
अध्ययनको सिलसिलामा इजरायल पुगेका कञ्चनपुरका विपिन जोशी गत अक्टुबर ७ मा हमासले किबुत्ज क्षेत्रमा गरेको आक्रमणको क्रममा बन्धक बनाइएका थिए ।
सो आक्रमणको क्रममा १० जना नेपाली विद्यार्थीहरु मारिएका थिए भने हमास लडाकुहरुले विपिनलाई आफूसँगै लिएर गएका थिए ।
त्यसयता उनको अवस्था अज्ञात थियो । इजरायल र हमासबीच युद्धविराम भएपछि मंगलबार बिहान मात्रै इजरायली सेनाका अधिकारीले विपिनको मृत्यु भएको पुष्टि भएको औपचारिक जानकारी दिएका थिए । बन्दीहरु मुक्त गर्ने क्रममा हमासले विपिनको शव मंगलबार हस्तान्तरण गरेको थियो ।
प्रतिक्रिया 4