+
+
Shares

२४ वटा शवको पोस्टमार्टम सकियो, सात शव पूर्ण जलेको अवस्थामा

अन्य घटनामा मृत्युको कारण पत्ता लगाउन मात्रै पोस्टमार्टम गरिन्छ । तर, यस्तो विपदमा जलेको अवस्थाको शव पहिचानको लागि पोस्टमार्टम गरिन्छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ २९ गते १५:०८

२९ भदौ, काठमाडौं । जेनजी आन्दोलनको क्रममा मृत्यु भएका २४ वटा शवको पोस्टमार्टम भएको छ । त्रिवि शिक्षण अस्पतालको फोरेन्सिक विभागमा अहिले ४६ वटा शव पुगेका छन् । २४  शवको पोस्टमार्टम भइसकेका मध्ये १९ शव आफन्तले बुझिसकेका छन् ।

यी शव काठमाडौं उपत्याका मात्रै हुन् । फोरेसिन्सक विभागका प्रमुख डा. गोपाल चौधरीका अनुसार ७ वटाको शव पूर्ण रुपमा जलेको अवस्थामा छन् ।

‘चुच्चेपाटीको भाटभटेनीबाट नै सात वटा शव आएका छन् । जुन कंकालको अवस्थामा छन्,’ डा. चौधरीले भने, ‘उहाँहरू पोस्टमार्टम गर्नका लागि लामो समय लाग्छ ।’

डा. चौधरीका अनुसार अन्य शवको पोस्टमार्टम गरेपछि आगजानीमा परेका शवको पोस्टमार्टम गरिने छ ।

डा. चौधरीका अनुसार अन्य घटनामा मृत्युको कारण पत्ता लगाउन मात्रै पोस्टमार्टम गरिन्छ । तर, यस्तो विपदमा जलेको अवस्थाको शव पहिचानको लागि पोस्टमार्टम गरिन्छ ।

‘हामीलाई मृत्युको कारण स्पष्ट छ । तर कुन शव कसको हो भनेर पहिचान गर्न पोस्टमार्टम गर्नुपर्छ,’ डा. चौधरीले भन्छन्, ‘एकैपटक धेरै जनाको मृत्यु भयो भने  मृतकको पहिचान गर्न गाह्रो हुन्छ ।’

डा. चौधरीका अनुसार आफन्तले दिएको विवरण र क्लिनिकल तथ्यको आधारमा एक अर्काको विवरणलाई हेरेर पहिचान गरिने छ ।

सबभन्दा पहिले त मृतकको उचाइ, तौल, शरीरमा भएको दाग वा ट्याटुका आधारमा शव पहिचान गरिन्छ । तर, यसरी पत्ता नलागेमा मृतकको पहिचान खुलाउने तीन आधार हुन्छ– फिंगरप्रिन्ट डेन्टल एक्जामिनेसन र डीएनए परीक्षण ।

डा. चौधरीका अनुसार केही शव अत्यधिक जलेका कारण डीएनए टेष्ट पनि गर्नुपर्ने हुनसक्छ ।

‘सात शव जलेर नचिनिने अवस्थामा छन् । उनीहरूको दाँतको बनावट, शरीरभित्र इम्प्लान्ट (स्टिल) हालेको अवस्थामा वा फिंगर प्रिन्टको भरमा पहिचान भएपछि मात्रै शव दिन सकिन्छ,’ डा. चौधरीले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?