News Summary
Generated by OK AI. Editorially reviewed.- पोष्टमार्टम मृत्युपश्चात शवको जाँच हो र अप्राकृतिक मृत्युमा कानुन बमोजिम अनिवार्य हुन्छ।
- पोष्टमार्टमले मृत्युको कारण पत्ता लगाई न्यायमा मद्दत पुर्याउँछ र भवितव्य दुर्घटना तथा रोगबाट बचाउन सहयोग गर्छ।
पोष्टमार्टम भन्नाले मृत्युपश्चात गरिने शवको जाँच हो । नेपाली समाजमा पोष्टमार्टमबारे थुप्रै भम्र र गलत धारणाहरू रहेको पाइन्छ । पोष्टमार्टम सम्बन्धी हाम्रो समाजको यस्तै गलत धारणा र भ्रमका कारण अधिकांश मृतकका आफन्तहरू मृत्युपश्चात् आफ्ना मान्छेको शवको पोष्टमार्टम गर्न चाहँदैनन् ।
पोष्टमार्टम गर्दा शवलाई चिरेर भित्री अंगहरू जाँच गर्नुपर्ने हुन्छ । यही कारणले पनि धर्म, संस्कारका विषय जोडेर नेपाली समाजमा मानिसहरू सकभर पोष्टमाटर्म गर्न चाहँदैनन् ।
तर पनि यदि मृत्यु अप्राकृतिक तबरले भएको छ भने त्यस्ता शवको पोस्टमार्टम जरूरी हुन्छ । जस्तो कि: कसैद्वारा हत्या, आत्महत्या, शंकास्पद मुत्यु, दुर्घटनाबाट मृत्यु, एक्कासी मृत्यु तथा मृत्त अवस्था शव भेटिएमा, कानुन बमोजिम प्रहरीलाई खबर गरेर पोष्टमाटर्म गर्नुपर्छ । यस्ता प्रकृतिका मृत्युहरू शंकास्पद हुने हुँदा प्रहरी अनुसन्धनानका लागि मृत्युको कारण पत्ता लगाउनुपर्ने हुन्छ जसका लागि पोष्टमार्टम गर्नै पर्ने हुन्छ ।
पोष्टमार्टमको इतिहास
पोष्टमार्टमको इतिहास खोतल्दै जाँदा १४औँ शताब्दीको सुरुवाततिर पुग्नुपर्ने हुन्छ । सन् १३०२ मा इटालीको बोलोग्नो मृत्युको अनुसन्धान गर्न अदालती प्रक्रियाका लागि शवको पोस्टमार्टम भएको देखिन्छ । त्यसैगरी शताब्दी पहिलेदेखि नै फ्रान्स, इजिप्ट तथा चीनमा पनि पोष्ट माटर्म गरी कानुनलाई सहयोग गरेको देखिन्छ ।
१८औँ र १९औँ शताब्दीमा चीन र बेबिलोएनहरूको परम्परा र युरोपिएन मेडिकल विज्ञानको विकसित प्रयोगपछि पोष्टमार्टमको बिस्तारै विकास हुन थाल्यो । चिकित्सा शास्त्रमा यसको छुट्टै जन्म भयो, जसलाई ‘फरेन्सिक मेडिसिन’ भनेर नामाकरण गरियो । यस विधा अन्तर्गत शवको पोष्टमार्टम, मेडिको लिगल केसहरू सबै पर्छ ।
चिकित्साशास्त्रको यस विधालाई कुनै देशमा फरेन्सिक प्याथोलोजी, लिगल मेडिसिन भनेर पनि पढिने र बुझिने गरिन्छ । नेपालमा शंकास्पद मृत्युमा पोष्टमार्टम गर्ने प्रचलन सन् १९६० देखि सुरु भएको देखिन्छ । काठमाडौँको कारागार अस्पतालका सरकारी डाक्टरले वीर अस्पतालमा पहिलो पटक औपचारिक रुपमा पोष्ट माटर्मको सुरु गरेका थिए ।
किन गर्ने पोष्टमाटर्म ?
फौजदारी कार्यविधि (संहिता) ऐन २०७४ को दफा २० मा नेपालको भू-भागभित्र दुर्घटना वा आत्महत्या वा शंकास्पद मृत्यु भएमा सरकारले तिर्ने सम्पूर्ण खर्चसहित मृतकको पोस्टमार्टम गर्नुपर्ने व्यवस्था नेपाली संविधानमा उल्लेख छ । आकस्मिक र अप्राकृतिक मृत्युको अनुसन्धानका लागि जिम्मेवार कानुनी अधिकारीहरूको अनुरोधमा पोस्टमार्टम गरिन्छ र नेपालमा कानुनी अधिकार नेपाल प्रहरीले पाएका छन् ।
समाजमा प्रहरीलाई हरेक पटक मृत्युपश्चात आउने प्रश्न हो किन गर्ने त पोष्टमार्टम ? पोष्टमार्टम गरेर के फाइदा ? मर्ने मान्छे मरेर गइसक्यो अब अरू किन दुख दिने ?
सर्वप्रथम, के बुझ्नुपर्दछ पोष्टमार्टम हामीले मर्ने व्याक्तिका लागि भन्दा पनि जिउँदोहरूका लागि गर्ने हो । पोस्टमार्टमबाट तथ्य कुरा र मृत्युको कारण पत्ता लगाई, दोषीलाई सजाय दिने र निर्दोषलाई बचाउने आधार हुन्छ।
न्यायका लागि मद्दत मिल्छ । साथै पोष्टमार्टम गर्दा त्यसले मृत्युको धेरै कुराहरू खुलाउने गर्दछ, जसले गर्दा मृत्युको अनुसन्धान मात्र होइन जिउँदो मानिसलाई पनि रोगहरू र मृत्युको कारणहरू बारेमा सचेत गराउन र बचाउने काम गर्दछ ।
सवारी दुर्घटना हुँदा शरीरको भित्री चोटको प्रकृतिको जाँच गरी सवारी साधनहरूको सुरक्षा प्रणालीबारे सचेत गर्न सकिन्छ । पहिले-पहिले यस्तै अनुसन्धानबाट नै मोटरसाइकल चलाउँदा हेल्मेट लगाउने, गाडी चलाउँदा अनिवार्य रूपमा सिट बेल्टको र गाडीमा एयर ब्याग त्यस्तै गाडीको सिटमा दुर्घटना हुँदा हेड रेस्टको व्यवस्था गरिएको हो ।
पोष्टमार्टम गर्नुपर्ने कारणहरू
१. भवितव्य दुर्घटनामा
भवितव्य दुर्घटनामा पोष्टमार्टम अनिवार्य हुन्छ किनभने दुर्घटना हुँदा मानिसको कुन अंगमा बढी असर पर्ने गर्छ र धेरै कुन अंगमा असर परेर मानिसको मृत्यु हुने गर्दछ भन्ने कुरा पत्ता लगाउन सकिन्छ । यसले गर्दा भवितव्यबाट जोगिने उपाय, उपचारमा अपनाउनुपर्ने विधि र सचेतनाबारेमा थाहा हुने गर्दछ । जसले गर्दा भवितव्य दुर्घटनाले हुने मानिसको मृत्युलाई न्यूनिकरण गर्न मद्दत गर्दछ ।
२. एक्कासी मृत्यु भएमा
एक्कासी मृत्यु भएमा पोष्टमार्टम गर्नाले प्रायजसो मानिसहरूको मृत्यु कुन रोगले हुने गर्दछ भन्ने कुरा थाहा पाउन सकिन्छ । पोष्टमार्टमबाट त्यस्ता रोगहरूले मानिकसको कुन अंगमा असर गरेको छ भन्ने थाहा पाउन सकिन्छ । रोगको प्रकृति, रोगको अवस्था सबै पत्ता लगाई रोगहरूबाट समाजलाई बचाउन मद्दत गर्न सकिन्छ । त्यस्तै यसबाट वंशालुगत रोगहरूको बारेमा पनि पत्ता लगाएर समयमा नै परिवारको अरू सदस्यहरूलाई सतर्क गराएर अकालमा मृत्युबाट बचाउन सकिन्छ ।
३. कानुनलाई सहयोग
प्रहरीले अनिवार्य रूपमा मृत्यु अनुसन्धान गर्दा पोष्टमार्टम गर्नुपर्ने हुन्छ । पोष्टमार्टम रिपोर्टको आधारमा मृत्युको कारण उल्लेख गरिएको हुन्छ, जसलाई आधार बनाएर कानुनको थप अनुसन्धानको पाटो अगाडि बढ्ने गर्दछ ।
कुनै पनि मानिसको शंकास्पद मृत्यु भएमा मृतकका परिवार, आफन्तहरू तथा प्रत्यक्षदर्शीका पनि स्वार्थ अनुसार विभिन्न किसिमका बयान हुने गर्दछन् । भनाइकै आधारमा पोष्टमार्टम रिपोर्ट तयार गर्दा प्रहरी अनुसन्धान प्रभावित हुने गर्दछ तसर्थ मृत्युको यकीन कारण पत्ता लगाई निष्पक्ष अनुसन्धानलाई मद्दत गर्न कानुनी नजरमा पनि पोष्टमार्टम अनिवार्य छ ।
३. वैज्ञानिक अनुसन्धानका लागि
शवमा रहेका घाउको प्रकृति सवारी दुर्घटना, लडेको र कुटपिटमा फरक-फरक हुन सक्छ जसको उचित वैज्ञानिक अनुसन्धानले गर्दा भविष्यमा विवादित शवहरूमा चोटको प्रकृति जाँच गरी उक्त चोट सवारी ज्यान, कर्तव्य ज्यान (कुटपिट) वा लडेको भनी छुट्टाउने आधारहरू बन्न सक्छ ।
पोष्टमार्टम कसरी गरिन्छ ?
पोष्टमार्टम नेपालका सबै जिल्ला अस्पताल वा ठूला सरकारी अस्पतालहरूमा हुन्छ । प्रहरीको मुचुल्का पश्चात् नेपाल मेडिकल काउन्सिलमा दर्तावाला फरेन्सिक विशेषज्ञ वा मेडिकोलिगल तालिम प्राप्त चिकित्सकले गर्नुपर्दछ । पोष्टमार्टम गर्दा शवलाई पूर्णतया नग्न अवस्थामा शवको सम्पूर्ण विवरण लिएर, बाहिरी आवरण टिपोट गरी शरीरलाई पूर्णतया चिरेर चेकजाँच गर्ने गरिन्छ ।
प्रहरीलाई अनुसन्धान गर्न र पोष्टमार्टम गर्ने चिकित्सकलाई मृत्युको कारण पत्ता लगाउन थप आधार होस भनी कहिलेकाहिँ शवका विभिन्न अंगका टुक्राहरू निकालिन्छ । अनि त्यसलाई थप परिक्षणका लागि प्रहरीको विधि विज्ञान प्रयोगशालामा पनि पठाउने गरिन्छ । पोष्टमार्टम पश्चात् चिकित्सकको हस्ताक्षर सहितको रिपोर्ट प्रहरीलाई बुझाउने गरिन्छ ।
पोष्टमार्टम सम्बन्धी भम्र
१. पोष्टमार्टम गर्दा शवलाई टुक्राटुक्रा पारिने होइन
पोष्टमार्टम गर्दा शवलाई आवश्यकता अनुसार चिरफार गरेर महत्वपूर्ण अंगहरूको परीक्षण पश्चात पुन: शवलाई सिलाएर पुरानै अवस्थामा आफन्तहरूको जिम्मा लगाउने गरिन्छ ।
२. पोष्टमार्टम गर्दा शवका अंगहरू निकालिँदैन
पोष्टमार्टम गर्नुको मुख्य उद्देश्य नै मृत्युको कारण पत्ता लगाउने हो । तसर्थ, शवलाई चिरेरे महत्वपूर्ण अंगहरूको परीक्षण तथा जाँच गरिन्छ । त्यसपछि उक्त अंगहरूलाई शवभित्र राखेर सिलाएर पठाइन्छ । कुनै शंकास्पद अवस्थामा अवाश्यकता अनुसार विषाधि लगायत अन्य रसायनिक परिक्षण गर्न अंगको साना टुक्रा परीक्षणको लागि निकाल्न सकिन्छ । त्यसछि अंगहरूलाई पूरानै ठाँउमा राखेर शवलाई सिलाइन्छ । मृत्यु भइसकेपछि कुनैपनि अंग अर्को व्यक्तिका लागि काम गर्दैनन् ।
३. शवलाई नचिरिकन पोष्टमार्टम गर्न मिल्दैन
नेपालको अवस्थामा शवलाई नचिरेरे पोष्टमार्टम गर्न सकिँदैन । तर, पनि कहिलेकाहिँ अस्पतालको रिपोर्टहरू सिटी स्क्यान, एक्सरे हरूको आधार मृत्युको कारण खुल्ने भएकाले शवलाई कम चिरेर पनि पोष्टमार्टम गर्न सकिन्छ । त्यसैले मृत्यु पश्चात् अस्पतालको रिपोर्टको महत्व हुने गर्दछ ।
४. पोस्टमार्टम गरेपछि मरेको हो वा मरेको हो थाहा हुन्छ ?
पोष्टमार्टमले मुलत मृत्युको कारण पत्ता लगाउने हो । मृत्युको कारण पत्ता लागिसकेपछि बल्ल त्यो मृत्यु कर्तव्य हो वा भवितव्य हो कि आत्महत्या हो भन्ने अनुसन्धानको पाटो रहन जान्छ । चिकित्सकले मृत्युको कारण पत्ता लगाएपछि त्यसका आधारमा प्रहरीले अनुसन्धान गर्छ । पोस्टमार्टम गर्ने चिकित्सकले नै यकीन कारण खुलाउँदैनन् ।
तर कहिलेकाहिँ शवमा भएको चोटको प्रकृतिका आधारमा अदालतलाई कर्तव्य, आत्माहत्या, भवितव्यबारे राय दिन भने चिकित्सकले सक्छ ।
पोस्टमार्टम उपेक्षित
मृत्युको कारण पत्ता लगाउन र सम्भावित विपत्तिले हुने मृत्युलाई न्यूनिकरण गर्न पोष्टमार्टमको महत्वपूर्ण भूमिका रहेको हुन्छ ।
राज्यले यस क्षेत्रलाई महत्व नदिएका कारणले चिकित्सा विज्ञानले यस क्षेत्रमा भित्रिएका नयाँ-नयाँ विधिहरू नेपालमा अझै पनि भित्रिन सकेका छैनन्, जसले गर्दा आज पनि नेपालका सरकारी अस्पतालहरूमा पोष्टमार्टम गर्ने ठाँउ एक अन्धारमय कोठामा नै सिमित हुनु परेको अवस्था रहेको छ ।
विकसित मुलुकहरूमा पोष्टमार्टम गर्दा सकभर शवलाई कम चिरफार गर्न परोस् भनी शव परीक्षण पोष्टमार्टम रुममा नै पोष्टमार्टम एक्सरे र सिटी स्क्यान लगायत डिएनए लागूपदार्थ तथा विषाधी परीक्षणका लागि भनेर ल्याब सहितका अपकरणहरू राखिएका हुन्छन् । तर, बिडम्बना नेपालमा मरेको शव भनेर हो या भनौँ राज्यका निकायहरू कम जानकार भएर यस क्षेत्रलाई हरेक तबरबाट उपेक्षा गरेको पाइन्छ ।
(लेखक शाक्य हाल भेरी अस्पताल, नेपालगंजमा फरेन्सिक विशेषज्ञका रूपमा कार्यरत रहेका छन् । )
प्रतिक्रिया 4