 
															७ साउन, काठमाडौं । नेपालको हिमालय क्षेत्रको पानी आयात गर्न सकिने सम्भावनाबारे दक्षिण कोरियाली कम्पनीले चासो देखाएका छन् । कोरिया पुगेको नेपाल उद्योग वाणिज्य संघको एक टोलीसँग त्यहाँका पानी प्रशोधन गर्ने कम्पनीहरूले यस्तो चासो व्यक्त गरेका हुन् ।
नेपाल बोटल्ड वाटर उद्योग संघका अध्यक्ष सुवास भण्डारीका अनुसार ४ वटा कोरियन कम्पनीले बीजनेस–टू–बिजनेश (बीटूबी) बैठकमा नेपालमा ‘ग्लासियर’ पानीको उत्पादन र निर्यातको व्यवस्थबारे जानकारी लिएका थिए । नेपालमा त्यस्तो पानी उत्पादन भएमा कोरियामा त्यसको ठूलो बजार रहेको भन्दै उनीहरूले सहकार्यका लागि नेपाली व्यवसायीलाई अनुरोध गरेका थिए ।
कोरियन कम्पनीहरूले आवश्यक परे आफूहरू त्यस्तो पानीको उत्पादन र अन्तर्राष्ट्रिय बजारीकरण सहभागी हुन सक्ने बताएको भण्डारीले जानकारी दिए ।
‘अहिलेसम्म उनीहरूले भनेजस्तो पानी हामीले उत्पादन गर्न सकेका छैनौं । तर, ३ हजार मिटरभन्दा माथिको उचाइका क्षेत्रमा हामी त्यस्तो पानी प्रशस्तै उत्पादन गर्न सक्छौं,’ उनले भने, ‘हिउँबाट पग्लिएको पानीलाई कुनै पनि मिनरल पनि नहाली सीधै बोटलिङ गर्नेमा कोरियनको चासो छ ।’
तर, सरकारले हालसम्म पानी निर्यातको स्पष्ट नीतिगत व्यवस्था गरेको छैन । हालै प्रस्तावित खानेपानीसम्बन्धी विधयेकमा नेपालले पानी उत्पादन गरेर बिक्री गर्न सक्ने कानूनी व्यवस्था गरिएको छ । पानी निर्यातबारे नीतिगत व्यवस्था नहुँदा सीमा नाका छेउका भारतका बजारमा समेत औपचारिक च्यानलबाट पानी निर्यात हुन सकेको छैन ।
नेपालले पानी निर्यातको नीति ल्याएर खुला गरेमा तत्कालै दैनिक २० देखि २५ लाख कार्टुन ‘प्रोसेस्ड वाटर’ भारतको बिहार र उत्तरप्रदेश, पश्चिमबंगाललगायतका क्षेत्रमा बिक्री गर्न सकिने अध्यक्ष भण्डारीले बताए । यस्तो व्यवस्थाका लागि सरकारसँग छलफल भइरहेको र हिमालको पानी पनि विदेशसम्म पु¥याउने वातावरण सिर्जना गर्न विभिन्न किसिमबाट पहल भइरहेको उनले बताए ।
विशेषगरी प्रोसेस्ड वाटर भारत पठाउन क्वारेन्टाइनलगायतका समस्या छ । त्यसैले सरकारहरूबीच जीटूजी सम्झौता गरेर भारतमा नै नेपालको पानी निर्यात गर्ने वातावरण बनाउनुपर्ने पक्षमा व्यवसायी छन् ।
मुहान खोज्दै सरकार
सरकारले हालै गरेको अध्ययनमा नेपालका एक दर्जनभन्दा बढी क्षेत्रबाट विदेशमा निर्यातयोग्य पानीको उत्पादन गर्न सकिने देखिएको छ । खानेपानी विभागले गरेको एक अध्ययनबाट विभिन्न क्षेत्रहरू पहिचान भएका छन् ।
‘बेबी वाटर’ भनिने नेपालको हिमनदी र पहाडी क्षेत्रको ठूला मुहानका पानीलाई खाडीसहित युरोपियन देशहरूमा निर्यात गर्न सकिने सम्भावनाबारे ‘डेस्क स्टडी’ गरेको थियो । उक्त अध्ययनका क्रममा १३ वटा क्षेत्रमा यस्तो सम्भाव्यता देखिएको विभागका महानिर्देशक सुनील दासले बताए ।
विज्ञहरूसँग सुझावका आधारमा विभिन्न हिमाली तथा पहाडी क्षेत्रका गाउँपालिकाहरूमा त्यस्तो पानी उत्पादन गर्ने उद्योग खोल्न सकिने उनको भनाइ छ । पहिचान भएका क्षेत्रको उद्योग खोल्न गर्नुपर्ने कामका बारेमा स्थलगत अध्ययन चाँडै सुरु गर्ने विभाग बताउँछ ।
‘अध्ययन सकिएपछि निजी क्षेत्रलाई सम्भावित स्थानमा लगानी गर्न प्रोत्साहित गरिन्छ,’ महानिर्देशक दासले भने ।
हिमालबाट बग्दै आएको पानीलाई हिमाली क्षेत्रमा नै भरेर विदेश पठाउने योजनमा सरकार पनि छ । नेपालको पानी विदेशमा निर्यात गर्न नेपालको व्यापार घाटा घटाउन मद्दत पुग्ने दास बताउँछन् ।
हाल अजेयराज सुमार्गी स्वामित्वको ‘हिमालय वन–टप’ कम्पनीले रसुवाबाट उत्पादित पानी विदेश निर्यात गरिरहेको छ । यो कम्पनीले लाङटाङ क्षेत्रको पानीलाई सामान्य प्रशोधन गरेर युरोप पठाउँछ । हिमाली क्षेत्रको पानी विदेशका तारे होटलहरूमा धेरै खोजिन्छ ।
नेपालकै तारे होटलहरूमा पनि यस्तो पानीको माग उच्च छ । स्वदेशी उत्पादनबाट माग पूर्ति हुन नसक्दा विदेशबाट आयात गर्नुपर्ने अवस्था छ ।
हाल विभागले गरेको अध्ययनमा हिमाली क्षेत्रमा यस्ता पानी उद्योग खोल्न उपयुक्त मुहानहरू भेटिएको छ । कञ्चनजंगा, सगरमाथा, अपी, लाङटाङ, अन्नपूर्णलगायतका हिमश्रृंखला र संरक्षण क्षेत्रभित्र यस्तो पानी उद्योगको प्लान्ट लगाउन सकिने देखिएको छ ।
निजी क्षेत्रलाई मौका
यस्ता क्षेत्रहरूमा उद्योगका लागि पहुँचमार्ग पु¥याउन भने कठिन हुने देखिएको महानिर्देशक दासले बताए । ‘अब स्थलगत अध्ययनबाट थप विषयहरू पत्ता लाग्छन्, अवसर र चुनौती के–के छन् भन्ने कुरा प्रस्तावित स्थलहरूमा गएर हेरेपछि नै भन्न सकिन्छ,’ उनले भने ।
नेपालको हिमालय क्षेत्रको पानी विदेश निर्यात गर्नेबारे नीतिगत व्यवस्था गर्न उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयसँग पनि समन्वय भइरहेको विभाग बताउँछ ।
‘हामीले अध्ययन गरेपछि निजी क्षेत्रलाई यो काममा प्रोत्साहित गर्छौं,’ दास भन्छन्, ‘अहिले पनि निजी क्षेत्रका अनुभवी उद्योगीसँग हामी छलफलमा र्छौं । यसमा निजी क्षेत्रको लगानी आवश्यक हुन्छ ।’
उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले पनि व्यापार घाटा घटाउन यसलाई एउटा रणनीतिक योजनामा रूपमा अघि सारेको छ । उसले तयार गरेको व्यापार घाटा न्यूनीकरण रणनीतिमा हिमाली क्षेत्रको पानीलाई निर्यात प्रवद्र्धन गर्न सकिने वस्तुको सूचीमा राखेको छ ।
हाल नेपालमा आयात भइरहेको प्रशोधित पानीलाई रोक्दै नेपालमै सोही गुणस्तरको पानी उत्पादन गर्ने लक्ष्य पनि लिइएको छ । यस्तो पानीलाई विदेशी बजारसम्म निर्यात गर्न सहुलियत र सहजीकरण गर्ने नीति वाणिज्य मन्त्रालयको छ ।
खानेपानी तथा सरसफाइसम्बन्धमा व्यवस्था गर्न विधयेकमा पनि पानीलाई बिजुली जस्तै निर्यात गर्न सकिने उल्लेख छ ।
खानेपानीमा निजी क्षेत्रलाई पनि समावेश गराउने गरी आएको विधयेकमा नै पानीलाई निर्यातजन्य वस्तु बनाउन सकिने स्पष्ट व्यवस्था गरिएको छ । यसका कारण भविष्यमा पानी निर्यात गर्दा पर्ने सक्ने कानुनी व्यावधानहरू पनि फुकाउन सहज हुनेछ ।
‘हामी विदेशमा कस्तो गुणस्तरको पानीको माग छ भनेर पनि अध्ययन गर्दैछौं । विदेशी बजारहरू कुन–कुन हुन सक्छन् भनेर पनि प्रतिवेदनमा उल्लेख गर्छौं,’ खानेपानी विभागका महानिर्देशक दास भन्छन्, ‘सबै खालका नीतिगत र कानुनी व्यवस्थाहरू गर्दै ठूलो मात्रामा पानी निर्यात गर्नका लागि उचित वातावरण तयार गर्ने सरकारको लक्ष्य हो ।’
खाडीको पनि चासो
नेपालको हिमाली क्षेत्रको पानी आयात गर्न खाडी देशहरूले पनि चासो देखाएका छन् । यसै विषयमा खानेपानी मन्त्री वीना मगरसँगको छलफलमा नेपालका लागि कतारी राजदूत बिन मोहम्मद अल हेलले औपचारिक छलफल नै गरेका थिए ।
नेपालका हिमनदीको पानीलाई कतार लैजाने वातावरण तयार गर्न उनले मन्त्री मगरसँग आग्रह गरेका थिए । राजदूत हेलले नेपालको खानेपानी मानव स्वास्थ्यका लागि निकै लाभदायक रहेकाले आवश्यक नीतिगत व्यवस्था र पूर्वाधार तयार गरेर निर्यातको योजना बनाउन मन्त्रालयलाई सुझाव दिएका थिए ।
यसै छलफलपछि मन्त्री मगरले दासको संयोजकत्वमा अध्ययन समिति बनाएकी थिइन् । यसैका आधारमा नेपालमा हिमनदी र प्राकृतिक मुहानहरूको अध्ययन सुरु भएको थियो ।
यो अध्ययनपछि यस्तो पानी उत्पादन र निर्यातको क्षमतासहित गुणस्तर र सम्भावित मूल्यको प्रराम्भिक आंकलन गर्न सकिने छ । योजनाअनुसार काम गर्न सके हिमनदीबाट बगेर जाने पानीलाई पैसामा रुपान्तरण गर्न सकिने खानेपानी मन्त्रालयको विश्वास छ ।
नेपालको हिमाली र पहाडी क्षेत्रका पानीमा मानव स्वास्थ्यमा लागि आवश्यक खनिजतत्व (मिनरल्स) हरू हुन्छन् । त्यसैले विदेशमा यस्तो पानीको माग उच्च रहेको बोटल्ड वाटर उद्योगीहरू बताउँछन् ।
 
                









 
                     
                                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                .jpg) 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
     
     
     
     
     
                
प्रतिक्रिया 4