+

जाडोमा कम पानी पिउनु किन हुन सक्छ खतरनाक ?

२०८२ फागुन  ७ गते १६:४२ २०८२ फागुन ७ गते १६:४२
जाडोमा कम पानी पिउनु किन हुन सक्छ खतरनाक ?

News Summary

Generated by OK AI. Editorially reviewed.
  • जाडो मौसममा प्यास कम लाग्ने र पसिना कम आउने हुँदा मानिसहरूले पानी कम पिउँछन्, तर शरीरलाई गर्मी जत्तिकै पानी आवश्यक हुन्छ।

गर्मी मौसममा पसिना आउने हुनाले हामीले प्रायः हातमा पानीको बोतल बोकिरहन्छौं । घरबाट निस्कँदा, बाटोमा हिँड्दा वा घर फर्किँदा हामी तिर्खा मेटाउन पानी पिइरहन्छौं । तर, जाडो सुरु हुन साथै यो बानी परिवर्तन हुन्छ । भनौं न, पानीको बोतलसँग हाम्रो दूरी बढ्दै जान्छ ।

अहिले ने‍पालमा गर्मी याम सुरु हुनै लागेको छ । तर पनि काठमाडौंसहित धेरै भेगमा अझै जाडो छ । यस्तोमा तपाईंले कहिल्यै सोच्नुभएको छ, जाडोमा प्यास किन लाग्दैन ? त्यसले के असर गर्छ ? के त्यो बानी सामान्य हो?

जाडोमा पनि शरीरलाई उत्तिकै चाहिन्छ पानी

स्वास्थ्य विज्ञहरूका अनुसार जाडो मौसममा हाम्रो प्यास कम हुन्छ । पसिना पनि कम आउँछ । यसकारण नै हामीलाई शरीरलाई पानी कम चाहिएको भान हुने गर्छ । यस्तोमा धेरैले त बारम्बार शौचालय जानुपर्ने डरले पनि जानीजानी पानी कम पिउने गर्छन् ।

तर, वैज्ञानिक रूपमा नै जाडोमा पनि शरीरलाई गर्मीमा जत्तिकै पानीको आवश्यकता पर्ने पुष्टि भइसकेको छ । जाडो मौसममा मिर्गौलाले पिसाबको माध्यमबाट बढी पानी बाहिर निकाल्छ । साथै घर वा कार्यालयमा प्रयोग गरिने हिटर र इन्डोर हिटिङ सिस्टमले हावालाई सुक्खा बनाइरहेको हुन्छ । यसो हुँदा छाला र श्वासप्रश्वासको माध्यमबाट शरीरको पानी खेर गइरहेको हुन्छ ।

त्यस्तै बाक्लो लुगा लगाउनाले पसिना नदेखिए पनि शरीरबाट सूक्ष्म रूपमा पानी बाहिर निस्किरहेको हुन्छ । तर, पानी कम पिउँदा शरीरमा क्रोनिक डिहाइड्रेसन (लामो समयसम्म पानीको कमी) हुन सक्छ, जसले मिर्गौलाको पत्थरी र मूत्रमार्गको संक्रमणको जोखिम बढाउँछ ।

प्यास किन कम लाग्छ ?

जाडो मौसममा शरीरले तापक्रम जोगाउन रक्तनलीहरूलाई खुम्च्याउने गर्छ । यसले गर्दा शरीरको भित्री भागमा रगतको मात्रा बढी देखिन्छ । र, मस्तिष्कलाई शरीरमा पानी पर्याप्त छ भन्ने भ्रम हुन्छ । यसैकारण प्यास लाग्ने क्षमता ४० प्रतिशतसम्म कम हुन सक्ने स्वास्थ्य विज्ञहरू बताउँछन् । तर, शरीरको आधारभूत आवश्यकता भने साढे दुईदेखि तीन लिटर पानी नै रहन्छ ।

कम पानी पिउँदा हुने गम्भीर समस्या

हाम्रो शरीरको करिब ६० प्रतिशत भाग पानीले बनेको हुन्छ । पानीले नै रगतको माध्यमबाट अक्सिजन र पोषक तत्वहरू शरीरका कोषहरूसम्म पुऱ्याउँछ । तर, कम पानी पिउँदा मुटु र मस्तिष्कको जोखिम बढ्छ । किनकि पानी कम हुँदा रगत बाक्लो हुन्छ । बाक्लो रगत पम्प गर्न मुटुलाई बढी मेहेनत गर्नुपर्छ, जसले रक्तचाप बढाउँछ । यसले मस्तिष्कघात र हृदयाघातको जोखिम निम्त्याउछ ।

त्यस्तै मिर्गौलाको समस्या पनि उत्तिकै हुन्छ । किनकि पानीको कमीले मिर्गौलामा दबाब पर्छ । यस्तो हुँदा पत्थरी बन्ने सम्भावना धेरै रहन्छ । पाचन प्रणालीमा समस्या हुने, मानसिक र शारीरिक थकान हुने त सामान्य भइहाले । थकान बढी लाग्छ, टाउको दुख्छ, चक्कर लाग्छ, छटपटी र आलस्य हुन्छ भने त्यो पनि शरीरमा पानी कम भएको संकेत हो ।

कसलाई बढी खतरा छ ?

विशेषत: शरीरमा पानीको अभाव हुँदा वृद्धवृद्धा र दीर्घरोगीलाई नै बढी खतरा हुन्छ । किनकि उनीहरूलाई पहिल्यै उच्च रक्तचाप, मधुमेह र मुटुको समस्या भएको हुन सक्छ । त्यस्तोमा पानी कम हुँदा बढी खतरा हुने हो । त्यस्तै हर्मोनल परिवर्तनका कारण महिलाहरूमा डिहाइड्रेसनले महिनावारीको दुखाइ बढाउने, ग्यास हुने र मुड स्विङ्स जस्ता समस्या समेत देखिन्छन् ।

चिसो पानी मूल्यांकन
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

फिचर

न्याम्सका आवसीय चिकित्सक आन्दोलनमा, सेवा बन्द गर्ने चेतावनी

न्याम्सका आवसीय चिकित्सक आन्दोलनमा, सेवा बन्द गर्ने चेतावनी

के हातमा पसिना आइरहनु कुनै रोगको संकेत हो ?

के हातमा पसिना आइरहनु कुनै रोगको संकेत हो ?

रोगप्रतिरोधि क्षमता, दीर्घायु र यौवन जोगाउने अमला

रोगप्रतिरोधि क्षमता, दीर्घायु र यौवन जोगाउने अमला

हात पोल्यो, तुरुन्त के गर्ने ? जानी राखौं ६ घरेलु उपाय

हात पोल्यो, तुरुन्त के गर्ने ? जानी राखौं ६ घरेलु उपाय

बन्यो खोकीको आवाजबाट फोक्सोको समस्या पत्ता लगाउने एप, अस्पतालले दियो अनुमति

बन्यो खोकीको आवाजबाट फोक्सोको समस्या पत्ता लगाउने एप, अस्पतालले दियो अनुमति

गलगाँड हटायो आयोडिनयुक्त नुनले, तर त्यसैले बढाउँदैछ थाइराइडको जोखिम

गलगाँड हटायो आयोडिनयुक्त नुनले, तर त्यसैले बढाउँदैछ थाइराइडको जोखिम