Comments Add Comment

स्कूल विभाग विवाद : पोखरेलको मानमर्दन नगर्न चेतावनी

७ साउन, काठमाडौं । पार्टी स्कूल विभागको प्रमुखबारे सहमति नजुटेपछि मंगलबार बोलाइएको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक स्थगित भएको छ ।

सोमबार साँझ शीर्ष नेताहरुबीच सहमति नजुटेपछि सचिवालय बैठक अनिश्चित भएको हो । पार्टीको दृष्टिकोण र सिद्धान्तबारे तल्लो तहसम्म सैद्धान्तिक प्रशिक्षण तथा स्कूल सञ्चालन गर्ने विभागको प्रमुखमा पूर्वएमालेबाट ईश्वर पोखरेल र पूर्वमाओवादीबाट नारायणकाजी श्रेष्ठको दाबी छ ।

स्कुल विभागबारे सहमति नजुट्दा दुबै समूहका नेता कार्यकर्ताबीच आरोप प्रत्यारोपसमेत शुरु भएको छ ।

पछिल्लो समय नेकपामा सुरु भएको बैचारिक ध्रुवीकरणमा पोखरेलले पार्टीको न्यूनतम कार्यक्रम जनताको बहुदलीय जनवाद (जबज) बनाउनुपर्ने बताएका थिए । त्यही कारण पूर्व माओवादीले पोखरेललाई स्कूल विभागको प्रमुख स्वीकार गर्न नमानेको उनी निकटवर्तीको बुझाइ छ । साथै पूर्वएमालेको एउटा खेमाले पनि पोखरेललाई पेल्ने अवसरका रुपमा यो प्रकरणलई प्रयोग गरेको पोखरेल निकटका नेताहरु बताउँछन् ।

नेकपा केन्द्रीय सदस्य सूर्य थापाले पार्टी अध्यक्ष प्रचण्डमथि पूर्व एमालेभित्र खेल्न खोजेको आरोप लगाए । विभिन्न सञ्चार माध्यमको प्रयोग गरेर पोखरेलको मानमर्दन गर्ने काम भइरहेको भन्दै उनले पूर्वएमाले नेताहरुको मर्यादा नराख्ने हो भने प्रचण्डको मर्यादा राख्न पनि आफूहरु बाध्य नहुने चेतावनी दिए ।

स्कूल विभागको विवाद चलिरहेका बेला सचिवालय सदस्य तथा उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेल भने बिभिन्न कार्यक्रममा सहभागी हुन प्रदेश १ तिर लागेका छन् । पूर्वमाओवादी पक्षबाट सिलसिलेवार आक्रमण भएको भन्दै उनले स्कूल विभागबाट पछि नहट्ने सन्देश अध्यक्ष ओलीलाई दिएको स्रोतले जनाएको छ ।

पार्टी प्रवक्तासमेत रहेका नारायणकाजी श्रेष्ठले पनि स्कूल विभाग प्रमुखमा आफ्नो दाबी छाडेका छैनन् । श्रेष्ठलाई स्कुल विभाग प्रमुख बनाउन पूर्वमाओवादीभित्र एकमत छ । पार्टीको वरियतामा पनि पोखरेलभन्दा श्रेष्ठ माथि छन् ।

ओलीसँग पनि गुनासो

नवौं महाधिवेशनदेखि सहयोग गर्दै आए पनि ओलीबाटै पोखरेलले अपेक्षित साथ नपाएको उनी निकट कार्यकर्ताहरु बताउँछन् । महासचिव पद खोस्दा एकपटक पनि नसोध्नु र मन्त्रिपरिषद गठनमा लो-प्रोफाइलको मन्त्रालय दिनुले पोखरेलले ओलीको विश्वास जित्न नसकेको टिप्पणी पूर्वएमालेभित्र हुने गरेको छ ।

‘प्रधानमन्त्री ओलीले शुरुमै स्कूल विभाग पोखरेललाई दिने प्रस्ताव राखेको भए प्रचण्डले अस्वीकार गर्ने अवस्था थिएन । तर ओली नै पोखरेलका लागि पूर्वमाओवादीसँग लड्न नचाहेको हो कि भन्ने पनि देखिन्छ,’ एक नेता भन्छन् ।

नेकपाका ३३ वटा विभाग छन्, जसमध्ये स्कुल एक हो । यसमा उपप्रमुख र अन्य २५ सदस्य हुन्छन् ।

त्यसैले पोखरेल निकटवर्तीहरुले भने स्कूल विभाग प्रमुखको विवादको बहाना मात्र भएको, ‘ईश्वर पोखरेललाई देखाइदिने’ पूर्वमाओवादी पक्षधरको इगो भएको दाबी गर्छन् । पोखरेलको पूर्वमाओवादी विरोधी रुझानका कारण स्कूल विभागलाई प्रतिष्ठाको विषय बनाइएको एक नेताले बताए ।

पार्टी एकतापछि पहिलो पटक पूर्वएमालेका नेताहरुको मात्र बैठक गत साता बसेको थियो । त्यो बैठकले माधव नेपालको विदेश विभाग, झलनाथ खनालको नीति प्रतिष्ठान विभाग र बामदेव गौतमको संगठन विभाग टुंगो लागेको थियो । बैठकमा पोखरेलले स्कुल विभागमा आफ्नो दबी प्रस्तुत गरेका थिए, तर प्रचण्ड र ओलीबीच नै यसबारे सहमति हुन बाँकी रहेकाले निर्णय भएन ।

पार्टीभित्र पूर्वएमालेका माधव नेपालले शक्ति बढाउँदै लगेको र बामदेव तथा झलनाथ खनालसमेत उनलाई नै साथ दिएकाले प्रधानमन्त्री ओलीले पोखरेललाई थप चिढ्याउन नसक्ने उनी निकटको दाबी छ । तर जसरी ओलीमाथि स्कूल विभाग नछाड्न दबाव छ, प्रचण्डमाथि पोखरेललाई नदिन दबाव छ ।

यो विवादमा केही नेताले तत्कालका लागि स्कुल विभाग दुवै अध्यक्षले हेर्ने गरी राख्ने विकल्प हुने तर्क गरेका छन् । तर विवादका बीच श्रेष्ठ र पोखरेलमध्ये एकजनालाई स्कूल विभाग प्रमुख बनाउने वा तत्काल खाली राख्ने ओली र प्रचण्डको हातमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment