२८ भदौ, दाङ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराही दाङ र जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञानबीच स्वास्थ्य शिक्षा, सेवा र अनुसन्धानका क्षेत्रमा सहकार्य गर्न आज सम्झौता भएको छ ।
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति प्राडा. अजयकुमार मिश्रको तर्फबाट रजिस्ट्रार प्रा. श्याम लम्साल र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति प्राडा. सूर्यमान मेयान्ग्बोले आज सम्झौतामा हस्ताक्षर गर्नुभएको प्रतिष्ठानका सूचना अधिकारी निशानदाजु भट्टराईले जानकारी दिए ।
सूचना अधिकारी भट्टराईका अनुसार दुवै प्रतिष्ठान देशको दुर्गम र जटिल क्षेत्रमा स्थापना भएका सन्दर्भमा दुवैले एकआपसमा सहकार्य गरेर पिछडिएका क्षेत्रको स्वास्थ्य अवस्थालाई सुधार्दै विविध विषयमा संयुक्त रूपमा कार्य गर्ने सम्झौतामा उल्लेख छ ।
सम्झौतामा दुवै संस्थाले जलवायु परिवर्तनले स्वास्थ्य क्षेत्रमा पारेको असर र त्यसका समाधानका उपाय तथा हिमाली जडीबुटीको अध्ययन एवं देशभित्र उपलब्ध जडीबुटीबाट स्वदेशमै आधुनिक औषधि उत्पादन गर्न सकिने सम्भावनालगायत महत्वपूर्ण क्षेत्रमा संयुक्त अनुसन्धान गर्ने उल्लेख छ । वर्तमान समयमा जलवायु परिवर्तन र हिमाली जडीबुटी सम्बन्धित स्वास्थ्य अनुसन्धान राष्ट्रिय र अन्तरराष्ट्रिय रूपमा अत्यन्तै महत्वको विषय हो ।
दुवै संस्थाले दुर्गम क्षेत्रको स्वास्थ्यसम्बन्धी मुद्दामा संयुक्त अनुसन्धान सञ्चालन गरी स्वास्थ्य सेवा, स्वास्थ्य संरचना सुधार, जनशक्ति व्यवस्थापनमा निरन्तर सहकार्य गर्ने सम्झौतामा उल्लेख छ ।
त्यसैगरी, दुवै संस्थाका प्राविधिक र प्रशासनिक जनशक्तिको एकअर्काको आवश्यकताअनुसार आदानप्रदान गरी सेवा प्रवाह, तालिम, शैक्षिक गतिविधि र अनुसन्धानका क्रियाकलाप सञ्चालन गर्न सहज बनाउनेसमेत प्रतिबद्धता उल्लेख गरिएको छ ।
सम्झौताले पिछडिएका क्षेत्रको स्वास्थ्य सेवालाई सुधार गर्ने नेपाल सरकारको नीति तथा कार्यक्रमलाई सफल पार्न एवं समान उद्देश्यका लागि उपलब्ध साधनस्रोतलाई एकीकृत गरी स्वास्थ्य सेवा, शिक्षा र अनुसन्धानसँग सम्बन्धित क्रियाकलाप सञ्चालन गर्न सहज हुने विश्वास लिएका दुवै प्रतिष्ठानका पदाधिकारीहरूले बताएका छन् ।
प्रतिक्रिया 4