Comments Add Comment

केन्याबाट उद्दार गर्दा नेपाली चेली बेखुश

Photo Credit : www.nation.co.ke

६ साउन, काठमाडौं । नेपाली चेलीलाई केन्यामा यौनदास बनाएको खबर ‘सन्डे नेशन’ले पहिलो पृष्ठमै छाप्यो ।

त्यहाँको प्रहरीले अप्रिलमा विभिन्न बारमा छापा मार्दा पक्राउ परेका १२ नेपाली युवतीलाई आधारमा यो समाचार छापिएको थियो ।
लामो प्रक्रिया पूरा गरेपछि उद्दार गरिएका १२ नेपाली युवती काठमाडौं आइपुगेका छन् ।

अन्तर्राष्ट्रिय आप्रवासी संस्था आईओएमको सहयोगमा नेपाल ल्याइएका १२ युवतीसँग नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरो (एचटीबी) का अधिकृतहरुले बयान लिएका छन् ।

बयानका क्रममा युवतीहरुले उल्टै उद्दारकर्ता र सरकारमाथि नै आक्रोश पोखेका छन् । उनीहरुले केन्यामा मानसिक वा शारीरिक यातना नभएको दाबी गरेका छन् ।

‘सरकारले नै दुःख दियो’

उद्दार गरिएकामध्ये अधिकांश नेपालमा पनि डान्स बारमा नर्तकीका रुपमा काम गर्थें । नेपालबाट केन्या गएलगत्तै आफूहरुलाई ६० हजार रुपैयाँसम्म तलब दिएको उनीहरुको बयान छ ।

दोस्रो पटक केन्या गएको आफूलाई ८० हजार रुपैयाँ दिइने गरिएको उद्दार गरिएकी एक युवतीले बताइन् । बारमा काम गर्दै गर्दा चिनजान भएकी एक दिदी केन्या पुगेपछि त्यहाँ पाइने आकर्षक सेवा सुविधाबारे थाहा भएको र उनैमार्फत केन्याको एक बार सञ्चालकसँग सम्पर्क गरेर पूर्वी नाका काँकरभिट्टा हुँदै बागडोग्रा, कोलकता हुँदै केन्या पुगेको उनको भनाइ छ ।

‘हामीलाई अग्रिम तलबसमेत पठाइएको थियो’, उनले प्रहरीलाई दिएको बयानमा भनेकी छन्, ‘नेपालमा तलब लिनै गाह्रो हुन्छ, त्यहाँ तलब लिन कुनै असहज थिएन ।’

नाच्नेबाहेक अरु काममा नलगाएको र तलब नियमित आउने गरेको उनको दाबी छ । राति ८–९ बजेदेखि बिहान २–३ बजेसम्म बारमा काम गरेको उनले सुनाइन् ।

सरकार र प्रहरी प्रशासनले उद्दार गरेको बताइरहँदा उनीहरुले भने दुःख दिएको आरोप लगाएका छन् । ‘राम्रोसँग काम गरिरहेका हामीलाई यहाँ ल्याएर सरकारले दुःख मात्र दियो’,एक युवतीले भनिन्, ‘हामीले यातना पायौं तर, फेरि जान्छौं ।’

केन्या पुगेलगत्तै समातिए दुई युवती

प्रहरी स्रोतकाअनुसार उद्दार गरिएका मध्ये दुई जना केन्या पुगेको एक दिन मात्र भएको थियो । तर प्रहरीले पक्राउ गरेर नेपाल पठाइदियो ।

मनोपरामर्शदाताको सहयोगमा गरिएको सोधपुछमा दुवै जनाले पुनः केन्या फर्किने इच्छा व्यक्त गरेका छन् । काम गर्ने सर्तमा अग्रिम रकमसमेत लिइसकेको उनीहरुको भनाइ छ ।

तर, प्रहरीले पनि परिवारलाई बोलाएर जिम्मा लगाएको छ । स्रोतका अनुसार सुरुमा उनीहरुले प्रहरीलाई बयान दिनसमेत अस्वीकार गरेका थिए ।

उनीहरुले बयान त दिएका छन् तर, न केन्यामा समस्या भोगेको बयान दिएका छैनन्, न कोहीविरुद्ध उजुरी । यसले उद्दार प्रकरण यत्तिकै सकिने देखिएको छ ।

उनीहरु फेरि उद्दार गरेर ल्याइएका ठाउँमै फर्किने सम्भावना देखिएको प्रहरीले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment