Comments Add Comment

कर्मचारी सञ्चय कोषबाट लिएको कर्जा अब सीधै लाभग्राहीको खातामा

९ साउन, काठमाडौं । कर्मचारी सञ्चय कोषले प्रदान गर्ने धितो कर्जा सोझै लाभग्राहीको बैंक खातामा जम्मा हुने व्यवस्था बिहीबारबाट शुरु भएको छ । उक्त व्यवस्था लागू गर्न कोषले नेपाल क्लियरिङ्ग हाउसको ‘इ पेमेन्ट’ प्रणालीसँग पूर्णरुपमा आवद्ध गरेको जानकारी दिएको छ ।

बिहीबार कोषका प्रशासक तुलसीप्रसाद गौतम, एनसिएचएलका प्रमुख कार्यकारी अधिकृत निलेशमान सिंह प्रधानलगायतले यस प्रणालीको शुभारम्भ गरे । कोषले धितो कर्जा स्किम अन्तर्गत स्वीकृत भएको आवास कर्जाको भुक्तानी अहिले हिमालयन बैंक तथा एनएमबी बैंकमार्फत गर्ने भएको छ ।

लाभग्राहीले कोषमा आफ्नो बैंक खाता अध्यावधिक गराएको अवस्थामा स्वीकृत कर्जा नेपाल क्लियरिङ्ग हाउसमा आबद्ध सदस्य बैंक तथा वित्तिय संस्थाहरुमा रहेकोे लाभग्राहीको जुनसुकै खातामा पनि जम्मा गर्न सकिनेछ । यसबाट सेवाग्राहीले रकम प्राप्त गर्न बैंक वा कोषको कार्यालय धाउनु पर्नेछैन ।

यसरी जम्मा हुने रकममध्ये दश लाखसम्म अनलाईनमार्फत विद्युतीय भुक्तानी गर्न सकिने (कनेक्ट आइपीएस सीस्टम) मार्फत रियल टाइममा जम्मा हुनेछ । तथा सोभन्दा माथीको रकम अन्तरबैंक विद्युतीय भुक्तानी प्रणाली (एनसीएचएल-आइपीएस) मार्फत ‘सेटल्मेन्ट’ पश्चात सोही दिन वा अर्को दिन भुक्तानी गरिने व्यवस्था रहेको कोषले जानकारी दिएको छ ।

वार्षिक २ लाख ५ हजारको संख्यामा भुक्तानी गर्ने कोषले कर्जा व्यवस्थापन सोझै लाभग्राहीको बैंक खातामा जम्मा गर्न आफ्नो सेवा विस्तारको क्रमलाई अझ सुढृढ गरीे विद्युत्तीय प्रणाली प्रयोग बढाएको छ । प्रणालीले कोषको आन्तरिक सञ्चालन कार्यमा समेत सहजता ल्याउने र लाभग्राहीलाई थप सुविधा प्रदान गर्ने विश्वास कोषको छ ।

कर्मचारी सञ्चय कोष ऐनअन्तर्गत स्थापित कर्मचारी सञ्चय कोष नेपालको सबैभन्दा ठूलो कोष हो । यसमा साढे लाख सञ्चयकर्ता र ३० हजार संस्था आबद्ध छन् ।

नेपाल राष्ट्र बैंक, बैंक वित्तीय संस्थाहरु र स्मार्ट च्वाइस टेक्नोलोजीबाट प्रवर्द्धित नेपाल क्लियरिङ्ग हाउस लिमिटेडले हालसम्म विद्युतीय माध्यमबाट चेकको राफसाफ गर्ने प्रणाली (एनसीएचएल-इसीसी), अन्तरबैंक विद्युतीय भुक्तानी प्रणाली (एनसीएचएल-आइपीएस) र अनलाईनमार्फत सर्वसाधारणले सजिलैसँग विद्युतीय भुक्तानी गर्न सकिने (कनेक्ट आइपीएस इ-पेमेन्ट) प्रणाली लागू गरी सञ्चालनमा ल्याएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment