Comments Add Comment

राष्ट्र बैंकमा उच्च तहका कर्मचारीको जिम्मेवारी हेरफेर

१० साउन, काठमाडौं । नेपाल राष्ट्र बैंकले आफ्ना उच्च तहका कर्मचारीहरुको जिम्मेवारीमा ब्यापक हेरफेेर गरेको छ । राष्ट्र बैंकले मौदि्रक नीति सार्वजनिक भएलगत्तै विभागीय प्रमुखहरुको जिम्मेवारी हेरफेर गरेको हो ।

राष्ट्र बैंकका प्रवक्ता लक्ष्मीप्रपन्न निरौलाले ८ जना कार्यकारी निर्देशकहरुको जिम्मेवारी फेरिएको बताए । राष्ट्र बैंकमा कूल १६ जना कार्यकारी निर्देशकहरु रहेका छन् । शुक्रबार ५० प्रतिशत कार्यकारी निर्देशकको सरुवा भएको हो ।

राष्ट्र ऋण विभागमा निलम तिमिल्सिनालाई सरुवा गरिएको छ । आन्तरिक लेखा परिक्षण विभागमा रहेकी उनलाई राष्ट्र ऋणमा लगिएको हो । यो विभागमा यसअघि अनुसन्धानमा निकै दख्खल राख्ने कार्यकारी निर्देशक नरबहादुर थापा थिए ।

थापा अनिवार्य अवकाशबाट बिदा भएपछि यो विभाग कार्यकारी निर्देशकबिहिन थियो । यसैगरी बैंक तथा वित्तीय संस्था नियमन विभागको कार्यकारी निर्देशकमा देवकुमार ढकालको सरुवा भएको छ । उनी यसअघि भुक्तानी विभागका प्रमुख थिए । भुक्तानी विभागमा भने कामू कार्यकारी निर्देशक बमबहादुर मिश्रको सरुवा भएको छ । उनी यसअघि बैंक तथा वित्तीय संस्था नियमन विभागमा प्रमुख रहेका थिए ।

यसैगरी वाणिज्य बैंक सुपरीवेक्षण विभागको जिम्मेवारी सम्हालिरहेका महेश्वरलाल श्रेष्ठ संस्थागत सेवा विभागमा सरुवा भएका छन् । अब भने वाणिज्य बैंक सुपरीवेक्षण विभागको जिम्बेवारी मुकुन्द क्षेत्रीले गर्नेछन् । संस्थागत विभागमा प्रमुख रहेका उनलाई राष्ट्र बैंकले सुपरीवेक्षण विभागमा सरुवा गरेको हो ।

विकास बैंक सुपरीवेक्षण विभागको प्रमुख रहेका भुवन कँडेलको आन्तरिक लेखा परिक्षण विभागमा सरुवा भएको छ भने विकास बैंक सुपरीवेक्षण विभागमा ऋषिकेश भट्ट आएका छन् । उनी यसअघि वित्त कम्पनी सुपरीवेक्षण विभागमा थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment