Comments Add Comment

बाघ संरक्षण : लक्ष्यको नजिक, चुनौती अधिक

१४ साउन, चितवन । सन् २०२२ सम्ममा बाघको संख्या दोब्बरले बढाउने सरकारी लक्ष्य हासिल हुन लागेको भन्दै संरक्षणकर्मीहरू खुसी बनेका छन् ।

बाघ पाइने देशका राष्ट्र प्रमुखहरूको सन् २०१० मा रुसको पिटर्सबर्गमा भएको पहिलो सम्मेलनले बाघ दिवस मनाउने घोषणासँगै सन् २०२२ सम्म ती देशमा बाघको संख्या दोब्बर बनाउने निर्णय गरेको थियो ।

सम्मेलनले यस्तो निर्णय लिँदा नेपालमा बाघको संख्या १ सय २१ थियो । अहिले २ सय ३५ पुगेको छ । विभिन्न ५ राष्ट्रिय निकुञ्जमा यी बाघ भेटिएका हुन् । अबको ३ वर्षमा १५ वटा बाघ थपिएमा नेपालको संकल्प पूरा हुनेछ । सन् २०१८ मै नेपालमा बाघको संख्या संकल्प नजिक पुग्नुलाई संरक्षणकर्मीले सकारात्मक सन्देशका रूपमा लिएका छन् ।

विश्वका विभिन्न १३ देशमा बाघ पाइन्छन् । नेपालका पाँचवटा निकुञ्जमा बाघ पाइन्छन् । बाघ गणना हरेक पाँच वर्षमा गर्ने गरिन्छ । नेपालमा बाघको संख्या सन् १९९५ मा ९८, सन् २००० मा १०९, सन् २००५ मा १२६, सन् २००९ मा १२१, सन् २०१३ मा १९८ रहेको निकुञ्ज विभागको तथ्यांकमा उल्लेख छ ।

सन् २०१३ को गणनामा १९८ वटा रहेको बाघ ५ वर्षमा बढेर २ सय ३५ पुग्नुलाई सकारात्मक रूपमा लिनुपर्ने बताउँछन्, बाघबारे विद्यावारिधि गरेका विज्ञ डा. चिरञ्जीविप्रसाद पोखरेल । संरक्षणलाई प्रभावकारी बनाउन सके अन्तर्राष्ट्रिय जगतमा नेपालले गरेको प्रतिवद्धतामा सफलता पाउने नेपाल पहिलो देश बन्ने उनले बताए । सन् २०१६ को तथ्यांक अनुसार सबैभन्दा बढी भारतमा दुई हजार २२६, सबैभन्दा कम लाओसमा दुई बाघ छन् । इण्डोनेसिया, कम्बोडिया, चीन, थाइल्याण्ड, नेपाल, बङ्गलादेश, भारत, भुटान, भियतनाम, मलेसिया, म्यानमार, रसिया र लाओसमा पनि बाघ पाइन्छ । विश्वभर बाघको सख्ंया तीन हजार ८ सय ९० रहेको तथ्यांक छ ।

कहाँ कति बाघ ?

सरकारले गत वर्ष भदौमा सार्वजनिक गरेको तथ्यांकअनुसार नेपालमा २३५ बटा पाटे बाघ रहेको देखिएको छ । सन् २०१८ को गणनामा सवैभन्दा बढी बाघ चितवन राष्ट्रिय निकुञ्जमा छ । यहाँ मात्रै ९३ बाघ छन् । सन् २०१३ मा चितवन राष्ट्रिय निकुञ्जमा १२१ बाघ थिए ।

सन् २०१८ को गणनामा पर्सा राष्ट्रिय निकुञ्जमा १८, बर्दिया राष्ट्रिय निकुञ्जमा ८७, बाँके राष्ट्रिय निकुञ्जमा २१ र शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा १६ बटा वयस्क बाघ भेटिएका थिए । यसअघि सन् २०१३ मा गरिएको वाघ गणनामा बर्दियामा ५०, शुक्लाफाँटामा १७, बाँके राष्ट्रिय निकुञ्जमा ४ वटा बाघ रहेका थिए । ०६७ स्थापित बाँके निकुञ्जमा पछिल्लो समय बाघको संख्या बढिरहेको छ । छोटो समयमै बाघ संख्यामा उल्लेख्य वृद्धि गर्न निकुञ्ज सफल बनेको छ । सन् २०१३ मा ५ वटा बाघ रहेको यस निकुञ्जमा सन् २०१८ मा २१ वटा बाघ पुग्नु आफैंमा सकारात्मक विषय भएको बाघ विज्ञ डा. चिरञ्जीवीप्रसाद पोखरेलले बताए । ‘सरकारले घोषित लक्ष्य निर्धारणका लागि नै यो निकुञ्ज स्थापना गरेको हो’, विज्ञ पोखरेलले भने, ‘लक्ष्य भेट्टाउन बाँके राष्ट्रिय निकुञ्जको ठूलो साथ रहने देखियो ।’

किन घटे चितवन राष्ट्रिय निकुञ्जमा बाघ ?

बाघको राजधानी मानिने चितवन राष्ट्रिय निकुञ्जमा पाँच वर्षको अवधिमा बाघको संख्यामा झण्डै ३७ ले घटेको छ । यसलाई केही संरक्षणकर्मीले चिन्ता व्यक्त गरेका छन् भने केहीले आत्तिहाल्नुनपर्ने बताउँदै आएका छन् । निकुञ्जमा बाघ मर्ने क्रम पनि बढेको देखिन्छ । हरेक वर्ष बाघको मृत्युदर बढ्दा चिन्ता थपिनु स्वभाविक भएको निकुञ्जका प्रमुख संरक्षण अधिकृत बेदकुमार ढकालले बताए ।

गत बर्ष मात्रै निकुञ्जमा ८ बाघ मरे । बाघको सरदर आयु १५ बर्षको हुन्छ । निकुञ्जमा हाल ५२ पोथी बाघ, २९ भाले र ४ वटा भालेपोथी नछुट्टिएको अवस्थामा वयस्क बाघ छन् ।

निकुञ्जमा क्यारिङ क्यापासिटी अध्ययन भइरहेको विज्ञ डा. चिरञ्जीवीप्रसाद पोखरेलले बताए । निकुञ्जमा औसत एक सयको हराहारीमा बाघ हुनुलाई त्यति नकारात्मक रुपमा लिन नहुने उनको धारणा छ । ‘म यसलाई नर्मल्ली नै लिन्छु, आत्तिनुपर्ने अवस्था छैन, १५ वर्ष बाँच्ने बाघले म्याक्सिमम् टेरोटोरी मेन्टेन गर्नुपर्ने हुन्छ’, डा. पोखरेलले भने, कोचिङ भयो भने थ्रेट हो, त्यो छैन भने सामान्य कारणका बारेमा मात्रै जानकारी राखे हुन्छ ।

पोथी बाघको प्रजनन दर अधिक हुने भएकाले चितवन निकुञ्जमा संख्या फेरि बढ्न सक्ने उनको धारणा छ ।

निकुञ्जको भार क्षमता अध्ययन गरेपछि मात्रै बाघको संख्या वृद्धि हुँदा पर्ने असर र के गर्ने भन्ने बारेमा थाहा हुने उनको धारणा छ । एउटा बाघले एक वर्षमा औसतमा ६० वटासम्म सिकार गर्छ भने एक पटकमा १५ देखि ४० किलोसम्म मासु खान्छ । पर्सा र चितवन निकुञ्जसँगै भारततर्फको वाल्मीकि टाइगर रिजर्भको सीमासँगै भएकाले बाघ दुवैतिर ओहोरदोहोर गर्ने कारण संख्या कम हुनसक्ने चितवन राष्ट्रिय निकुञ्ज कार्यालयको दाबी छ ।

चितवन राष्ट्रिय निकुञ्जमा गत आथिक वर्ष मात्रै ८ वटा बाघ मरेको पाइएको छ । यो अघिल्लो आर्थिक वर्षको भन्दा दोब्बर हो ।

आर्थिक वर्ष ०७५/७६ मा ८ वटा बाघ मरेको निकुञ्ज कार्यालयले हालै सार्वजनिक गरेको तथ्यांकमा उल्लेख छ । केही बाघ बुढो भएर केही उपचारको क्रममा, केही बिषादीमा परेर मरेको निकुञ्जले बताएपछि केहीको भने अझै मृत्युको कारण खुलेको छैन ।

आर्थिक वर्ष ०७२/७३ मा एक, ०७३/७४ मा एक र ०७४/७५ मा चारवटा बाघ जुधेर मरेका थिए । आर्थिक वर्ष ०७२/७३ अघिको बाघको मृत्युको संख्या निकुञ्जसँग छैन ।

चितवन निकुञ्जमा पछिल्लो चार वर्षमा १९ वटा बाघ विभिन्न कारणले मरेको छ । केही बाघ बुढो भएर मरेको देखिएको छ भने केही उपचारको क्रममा, केही बिषादीमा परेर मरेकोले संख्या घटेको चितवन निकुञ्जले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment