Comments Add Comment

हलमा छैनन् दर्शक, संचालक भन्छन्–‘कर्मचारीलाई तलब नदिएको २ महिना भयो’

आइतबार दिउँसो २ बजेर १५ मिनेटको समय । काठमाण्डौको बालाजुमा रहेको अष्ट नारायण हलमा साढे २ बजेको शो सुरु हुने तरखरमा थियो । हलमा उपस्थित दर्शक हेर्दा उदेक लाग्थ्यो । दर्शकको संख्या गन्न सजिलै सकिन्थ्यो । टिकट काउन्टरमा बसेका दुई कर्मचारी टिकट काट्न भन्दा पनि मोवाइल चलाउनमा व्यस्त देखिन्थे ।

अष्ट नारायण हलमा ४ वटा पर्दा छन् । पहिलो पर्दामा घर, दोस्रो पर्दामा सानो मन, तेस्रो पर्दामा कविर सिंह र चौथो पर्दामा एकलब्य प्रदर्शन भइरहेको थियो । दर्शकको उपस्थिति कम भएपनि दर्शक नफर्काउने उद्देश्यले चलचित्र चलाइरहेको हल संचालक बताउँछन् ।

२ः३० बजेको शोमा उपस्थित जम्मा दर्शकको संख्या ७३ थियो । त्यसमा ‘घर’ हेर्नेको संख्या २४, ‘सानो मन’ र ‘कविर सिंह’मा १९–१९ र ‘एकलब्य’ हेर्नेको संख्या ११ जना थियो । यो प्रकारको दर्शकको उपस्थिती उदेकलाग्दो भएको अष्ट नारायण हलका संचालक सोहित मानन्धरले प्रतिक्रिया दिए । उनी भन्छन्–‘अहिले राम्रो चलचित्र पनि रिलिज भएका छैनन् । त्यसैले होला हलमा दर्शक छैनन् ।’

अष्ट नारायणमा ४ वटा शो टाइम छ । ८ः१५, ११ः१५, २ः३० र ५ः३० । शनिबार बाहेक बिहान र बेलुकाको शो बन्द नै हुने गरेको गुनासो संचालकको छ । उनी भन्छन्–‘शनिबार केही दर्शक हुन्छन् । नत्र अरु दिन त १–२ शो मात्र चलाउँछौ ।’
हलमा दर्शकको कम उपस्थितिको घाटा निर्मातालाई मात्र होइन, हललाई पनि छ । कहिले त निर्माताले उल्टो पैसा तिर्नुपर्ने अवस्था पनि हुन्छ । संचालक मानन्धर भन्छन्–‘केडीएमको चार्ज निर्माताले तिर्नुपर्छ । कहिले त त्यो पैसा नि उठेको हुन्न ।’ कतिपय चलचित्रलाई हलले फिक्समा किन्छन् । त्यो बेलाको घाटा भने हलले पूर्ण रुपमा ब्यहोर्नु पर्ने पीडा संचालकहरुको छ ।

निर्माताको लगानी बचाइदिने अर्को हल, गोपीकृष्णको हालत पनि उस्तै थियो । गोपीकृष्णमा ७ वटा पर्दा छन् । तर, सोमबार बिहान ८ः१५ को शोमा जम्मा ३ पर्दामा चलचित्र प्रदर्शन भयो । बाँकी ४ पर्दा बन्द भए । गुनासो गर्दै गोपीकृष्णका व्यवस्थापक प्रदिप दाहाल भन्छन्– ‘ दर्शकको यो उपस्थिती त हाम्रो लागि पीडादायक नै हो ।’

चलेका ३ पर्दामा पनि दर्शकको संख्या न्युन थियो । २ हजार ८ सय सिट क्षमता भएको गोपीकृष्ण हलमा जम्मा दर्शकको उपस्थिति १ सय १९ थियो । गोपी पर्दामा ‘जज मेन्टल हे क्या’ चल्दै गर्दा दर्शकको संख्या जम्मा ४९ थियो । कृष्ण पर्दामा ‘घर’ प्रदर्शन भएको थियो । त्यसमा दर्शकको संख्या ५५ थियो । अर्को प्रदर्शन भएको चलचित्र ‘एकलब्य’मा जम्मा ९ जना दर्शक थिए ।

९ जना दर्शक उपस्थित भएको ‘एकलब्य’का निर्माताले ८ः१५ बजेको शोबाट जम्मा २ सय ८१ रुपैयाँ पाए । व्यवस्थापक दाहालले भने–‘केडीएम चार्ज, कर, हललाई दिदाँ त निर्माताको हतमा २ सय ८१ रुपैयाँ पर्ने रहेछ । यसमा हललाई पनि बत्ती र चिमको पैसा पनि उठ्दैन ।’

थोरै दर्शक भए हल बन्द गर्न मिल्दैन ? भन्ने प्रश्नमा प्रदीपले भने–‘अब चलचित्र हेर्न आएका दर्शकलाई हामीले फर्काउन त मिल्दैन नि । त्यसैले जति भएपनि चलाइदिन्छौँ । कहिलेकाही २–३ जना हुँदा दर्शक आफैले हेर्दैनौ भन्छन् ।’
दिउँसो ११ः१५ को शोको हालत पनि उस्तै थियो । केही पर्दामा चलचित्र चलेका थिएनन् ।

सबै हलमा दर्शकको उपस्थिती न त निर्माताका लागि न त संचालकका लागि, सन्तुष्ट बनाउने खालको थिएन ।  मिरा पर्दाको माथिल्लो सिटमा बसेर एक्लै चलचित्र हेरिरहेका दिलिप राइले गुनासो गर्दै भने– ‘यो चलचित्रमा त बबाल दर्शक छन् भनेर हेर्न आएको, म त एक्लै परेँ ।’

‘राधा’मा विराज भट्ट र रेखा थापाको ‘प्रतिकार’ चलचित्र लागेको रहेछ । पुरानो यो चलचित्र हेर्ने दर्शकको संख्या पनि आधा दर्जन कै हाराहारीमा थियो । यो किसिमको खडेरीे ‘जात्रै जात्रा’ र ‘वीर बिक्रम २’ पछि सुरु भएको व्यवस्थापक दाहालले बताए । उनले भने–‘जेठ ३ मा आएका ‘जात्रै जात्रा’ र ‘वीर बिक्रम २’ ले दर्शक तानेका थिए । यसपछि भने हल सुख्खा छ ।’

चलचित्र नचलेका कारण त्यहाँको कर्मचारीलाई तलब समेत दिन नसकेको गुनासो गर्छन् दाहाल । उनले भने–‘साउन पनि आधा हुन लागिसक्यो । असारको तलब कसैले पाएको छैन ।’

ललितपुरमा अर्को ठुलो हल गुण सिनेमामा पनि दर्शकको उपस्थिती न्युन छ । ८ वटा पर्दा भएको यो हलमा दिउँसो १२ बजेको शोमा जम्मा एक सय जना पनि दर्शक नभएको गुनासो व्यवस्थापक महेश किजुको छ । उनी भन्छन्–‘८ वटा पर्दा छन् । सबै पर्दामा चलचित्र नदेखाएको धेरै भयो । प्रायः पर्दा बन्द नै हुन्छन् । २–३ वटा पर्दा मात्र चलचित्र प्रदर्शनरत छन् ।’

अहिले गुणमा ‘दाल भात तरकारी’, ‘जात्रै जात्रा’, ‘कविर सिंह’, ‘घर’, ‘एकलब्य’, ‘सुपर गोर्खे’, ‘जज मेन्टल हे क्या’, ‘प्रतिकार’ प्रदर्शन भइरहेका छन् । तुलनात्मक रुपमा दर्शक अहिले ‘घर’मा बढि छन् । व्यवस्थापक महेश भन्छन्–‘तुलनात्मक रुपमा मात्र बढी हो । सन्तोषजनक दर्शक त कतै पनि छैनन् ।’

महेश पनि कर्मचारीलाई तलब दिन नसकेको गुनासो गर्छन् । उनले थपे–‘हलबाट पैसा आएको छैन । खल्तीबाट झिकेर दिने कुरा भएन । दुई महिनाबाट कर्मचारीले पैसा पाएका छैनन् ।’

पर्खाइमा ‘हजार जुनी सम्म’ र दशैं रिलिज
अहिले हलवालाहरु कहिले साउन ३० आउला भनेर कुरिरहेका छन् । त्यसको एकमात्र कारण भनेको उक्त मितिमा चलचित्र ‘हजार जुनीसम्म’ रिलिज हुँदैछ । गोपीकृष्णका व्यवस्थापक दाहालले भने–‘राम्रो व्यानरमा बनेको र पहिला पनि हिट चलचित्र दिएको टिमले बनाएको चलचित्र भएका कारण यो चलचित्रमा दर्शक आउँछन् कि भन्ने छ । यसमा पनि दर्शक आएनन् भने त खत्तम भइहाल्यो नी ।’

अष्ट नारायणका संचालकको भनाई पनि उस्तै छ । साउन ३० र भदौबाट उनी केही आशावादी छन् । उनले भने–‘हजार जुनीसम्ममा दर्शक आउँछन् होला । त्यसपछि भदौमा केही राम्रो चलचित्रहरु छन् ती चलचित्रले दर्शक तान्लान कि !’
गुण सिनेमामा व्यवस्थापक भने साउथ इन्डियन चलचित्र ‘साहो’को रिलिज मिति कुरेर बसेका छन् । उनी भन्छन्–‘साउन पनि आधा भइसक्यो । यो महिनाको खासै आश भएन । अबको आश भनेको ‘साहो’मा छ । त्यसपछिको आशा त दशैं नै हो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment