Comments Add Comment

समाजवादी पार्टीसँग औपचारिक वार्ता नै भएको छैन : राजपा

Photo Credit : फाइल तस्वीर

१४ साउन, काठमाडौं । राष्ट्रिय जनता पार्टीले पार्टी एकताबारे समाजवादी पार्टीसँग औपचारिक संवाद नै नभएको बताएको छ ।

मंगलबार बसेको अध्यक्ष मण्डलको बैठकमा वार्ता टोलीका संयोजक राजेन्द्र महतोले वार्ताबारे ब्रिफिङ गरेका थिए । बैठकपछि अध्यक्ष मण्डलका सदस्य अनिल झाले भने, ‘वार्ता समिति वा नेतृत्व स्तरमा औपचारिक रुपमा कुराकानी भएको छैन । व्यक्तिगत रुपमा भेटघाट हुने र एकता गर्नुपर्छ भन्ने सैद्धान्तिक कुरा मात्र भएको छ ।’

समाजवादी पार्टीसँग एकता हुन्छ, महाधिवेशन रोक्नुपर्छ भन्ने सोच नेता कार्यकर्तामा देखिएको भन्दै उनले यसलाई चिर्नुपर्ने बताए । ‘पार्टीको महाधिवेशन हुन्छ र गर्नुपर्छ’ अध्यक्ष मण्डलका सदस्य झाले भने, ‘पार्टी एकता एकीकरण जहाँसम्म सम्भव हुन्छ, गर्नुपर्छ । तर त्यसलाई नै गुरुमन्त्र मानेर बस्ने हो भने राजपालाई घाटाबाहेक केही हुँदैन ।’

यसबारे बैठकमा थप छलफल हुने नेताहरुले बताएका छन् ।

बैठकले संसदमा कांग्रेससँग भएको सहकार्यप्रति सन्तोष व्यक्त गरेको छ । साथै उसले मिडिया काउन्सिल, सूचना प्रविधिलगायतका विचाराधीन विधेयकको विरोध गरेको छ भने लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्नुपर्ने र सर्लाही घटनाबारे छानविन गर्न संसदीय समिति बनाउनुपर्ने अडान कायमै राख्ने निर्णय समेत गरेको छ ।

अध्यक्ष मण्डलको बैठकले तराई मधेसको बाढीमा केन्द्रीय सरकारले केही गर्न नसकेको आरोप लगाएको छ । ‘यो देशमा संघीय सरकार छ भन्ने अनुभूति समेत दिलाउन सकेन । यसप्रति दुःख व्यक्त गरेका छौं’ झाले भने ।

डेढ दर्जन एजेन्डामा एक साथ छलफल

राजपा अध्यक्ष मण्डलको बैठकमा झण्डै डेढ दर्जन प्रस्ताव छलफलका लागि राखिएको छ । वर्तमान राष्ट्रिय राजनीति र राजपाको भूमिका, बाढीपहिरोबाट पीडित जनताको राहतको विषयमा छलफल गर्ने जनाएको राजपाले विधानको विषयमा पनि छलफल गर्नेछ ।

यही बैठकले महाधिवेशनको स्थान चयन गर्दै समिति गठन गर्ने तयारी राजपाको छ । यस्तै २ नम्बर प्रदेश सरकाको बिषयमा पनि छलफल हुनेछ । सरकारमा सहभागी आफ्ना मन्त्रीहरुले गरिरहेको कामकार्वाहीको समीक्षा र मूल्यांकनसमेत हुने राजपा स्रोतले जनाएको छ ।

भ्रातृ संगठनको बारेमा, जिल्ला कार्यालयहरु सञ्चालन सम्बन्धमा, पदाधिकारी बैठकबारे पनि बैठकमा छलफल हुने भएको छ । स्थानीय चुनाव लडेका प्रमुख, मेयरका उम्मेदबारहरुको बैठक, प्रदेश र संघीय चुनावमा उम्मेदबार भएकाहरुको बैठकबारे, पदाधिकारीलाई जिल्ला–जिल्लामा खटाइनेबारे समेत बैठकले निर्णय गर्नेछ ।

केन्द्रीय समितिको बैठकको बारे, केन्द्रीय कार्यालय व्यवस्थापन गर्ने सन्दर्भमा छलफल गर्दै राजपाले बिभिन्न विभागसमेत यही बैठकबाट गठन गर्नेछ ।

सदनदेखि सडक आन्दोलनसम्म शुरु हुन्छ

राजपा अध्यक्ष मण्डल संयोजक यादवले सरकार लोकतान्त्रिक मूल्यमान्यता विपरीत काम गरिरहेको जनाउँदै यसविरुद्व राजपाले चाँडै आन्दोलन गर्ने बताए ।

‘सरकार लोकतान्त्रिक मूल्यमान्यता विपरीत काम गरिरहेको छ’ हामी यसको साक्षी बन्न सक्दैनौं’ संयोजक यादवले भने, ‘विगतमा गरेका प्रतिबद्वता अनुरुप पनि सरकारले काम गर्न सकेको छैन् ।’

उनले सरकारबिरुद्व सदनदेखि सडकसम्म आन्दोलनको तयारी हुने बताए । यसका निम्ति कार्यकर्तालाई तयार रहन उनले निर्देशनसमेत दिएका छन् । ‘आन्दोलन सँगसँगै संगठनलाई चुस्तदुरुस्त बनाउँछौं’ उनले भने, ‘वडा तहसम्म संगठन मजबुत बनाउने, गतिशीलता प्रदान गर्नेतर्फ हामी लागिपर्छौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment