Comments Add Comment

कम बजेटमा कसरी गर्ने घरको सजावट ?

साउन महिनाको सुरुवातसँगै चाडपर्वको पनि शुरुआत हुन थाल्छ । साउन महिनामा पर्ने नागपञ्चमीपछि नेपालीको महान चाड दसैं आउन लागेको संकेत मिल्छ । हामी दसैंको कल्पना मात्र गर्दा पनि खुशी हुन्छौं । दसैं नजिकिदै छ भनेर हामी धेरै कुराको योजनामा गर्न थाल्छौ । जसमध्ये घरको सजावट पनि एक हो । अरु समयमा हामी घरको बारेमा त्यति ध्यान दिन पाउँदैनौ, तर दसैलाई ध्यानमा राखेर हामी घरको सजावट कसरी गर्ने भन्ने सोच्न थाल्छौं । घर सफा र व्यवस्थित हुँदा मन शान्त हुनुको साथै खुशी पनि हुन्छ  ।

घर सजाउनका लागि दुई कुराको आवश्यक पर्छ-समय र पैसा । समय त हामी जसरी पनि निकाल्छौ तर पैसा हामीले चाहेको समयमा नहुन पनि सक्छ । हिजोआज जिम्मेबारीहरु धेरै बढेकाले घरको सजावटको लागि धेरै पैसा खर्च गर्ने हिम्मत गरिदैन । त्यसैले आज हामी धेरै पैसा खर्च नगरी तपाईंको घरलाई नयाँ र फ्रस लुक कसरी दिने भन्ने बारेमा  केही जानकारीहरु उल्लेख गर्छौ ।

पुराना फर्नीचरको प्रयोग

यदि तपाइर्ं पुराना फर्नीचरलाई परिर्वतन गर्ने सोचमा हुनुहुन्छ भने त्यसलाई  बेडरुमको साइड टेबलको रुपमा प्रयोग गर्न सक्नु हुन्छ । यदि तपाईको स्टूल प्वाल परेको छ भने त्यसमाथि ट्रे राखेर त्यो प्वाललाई छोप्न सक्नु हुन्छ । ट्रेमाथि ल्याम्प, स्ट्यान्ड भएको घडि अथवा फुलदानी राखेर प्वाल परेको स्टूललाई पुनः प्रयोगमा ल्याउन सक्नु हुन्छ ।

सजावटमा प्लेटको प्रयोग

हामी बुट्टा भरिएका प्लेटको प्रयोग खाना खानु बाहेक घरको भित्ताहरु सजाउनका लागि  पनि गर्न सक्छौं । घरमा भएका प्लेटहरुलाई स्ट्यान्ड अथवा स्टोरमा थन्काउनु भन्दा घरको खाली भित्तामा वायर प्लेट हृयाङ्गरको सहायताले टाङ्न सकिन्छ । तपाईंको सानो मेहिनतले घरको खाली भित्ता सुन्दर र आकर्षक देखिन्छ ।

सबै भन्दा राम्रो प्रकृति

प्राकृतिक कुराले सबैलाई लोभ्याउँछ । त्यस्ता कुराले घरको सजावट गर्दा सुनमा सुगन्ध भरिदिन्छ । विभिन्न किसिमका रुखविरुवाले घरको सजावट गर्न सकिन्छ,  जसले घरलाई आकर्षक त देखाउँछ नै तपाइर्ंको स्वस्थको लागि पनि लाभदायक हुन्छ ।

घर भित्रका विभिन्न कुना अथवा खाली ठाउँमा सुहाउदो विरुवा राख्न सकिन्छ । बजारमा अचेल विरुवा राख्ने गमलाहरु विभिन्न आकर्षक डिजाइनहरुमा उपलब्ध छन् । त्यसको प्रयोगले तपाईंको कोठा झन् आकर्षक बनाइदिन्छ । त्यस्तै विरुवा लगाएको गमलामा सुन्दर आकारका साना चिल्ला ढुंगाहरुलाई आकर्षक तरिकाले राखेर पनि त्यसलाई थप सुन्दर बनाउन सकिन्छ । त्यस्तै घरको कुनै कुनामा काँचको गिलास अथवा कचौरामा त्यस्ता साना चिल्ला ढुंगा भरेर राख्न सक्नु हुन्छ । त्यस्तै घरमा भएको शंखलाई क्यान्डल स्ट्यान्डको रुपमा पनि प्रयोग गर्न सकिन्छ ।

घर सजावटमा क्यान्डल

क्यान्डलको नाम सुन्ना साथ उज्यालोको सम्झना आउँछ, तर क्यान्डल केवल उज्यालोको लागि मात्र नभएर तपाईको घर सजावटमा पनि प्रयोग गर्न सकिन्छ । कुनै खाली टेबलमा विभिन्न आकार प्रकारका क्यान्डलहरु राख्नुहोस । त्यसो गर्दा तपाईको त्यो खाली टेबल र टेबल राखेको ठाउँ दुवै सुन्दर र आकर्षक देखिन्छ ।

भित्ताहरुलाई नयाँ देखाउने काइदा

आफ्नो घरका भित्तालाई अरुको भन्दा भिन्न देखाउन चाहानु हुन्छ भने भित्तामा विभिन्न किसिमका डिजाइन बनाउन सक्नु हुन्छ । डिजाइन बनाउने भनेर घरको सबै भित्ताम बुट्टाहरु राख्नु हुँदैन । यसले कोठा झन् फोहोर देखिन्छ । त्यसैले घरको कुनै एक अथवा दुईवटा भित्ताहरुमा मात्र हल्का डिजाइन बनाउनु पर्छ । यसले तपाईलाई घर नयाँ र विशेष देखाउन मद्दत गर्छ ।

घरमा बिजुली बत्तिको प्रयोग

घरमा आवश्यक अनुसार बत्ति राख्नु पर्छ । आवश्यकभन्दा बढि अथवा कम  बत्तिले घरको सुन्दरतामा नकारात्मक असर पुर्याउँछ । तपाईं थाकेर आउँदा आराम गर्ने ठाउँको बत्तिले आँखालाई शान्ति दिने हुनु पर्छ । तर जुन कोठामा तपाई काम गर्नु हुन्छ, छोराछोरी पढ्छन्, त्यस्ता कोठाको बत्ति केहि चम्किलो हुनु आवश्यक छ ।

घर सजाउदा ध्यान दिनु पर्ने कुरा

घर सजाउनका लागि यदि तपाइर्ं कुनै सामान बनाउँदै हुनुहुन्छ भने घरको आकार-प्रकारमा ध्यान दिनु आवश्यक छ । तपाइर्ंले बनाएको सामान घरमा सजिलै र सुन्दर तरिकाले राख्नका लागि समान बनाउनु अगाडि कोठा, भित्ता र ढोका -झ्यालको नाप राम्रोसंग लिनु पर्छ ।

तपाईंको घरको सजावटमा थीमको प्रयोग गर्न सक्नु हुन्छ । घरलाई एउटै थिम अथवा हरेक कोठालाई फरक-फरक थिम अनुसार सजाउन सक्नु हुन्छ । यदि तपाईको भान्छा आधुनिक छ भने कोठालाई पारम्पारिक थीममा सजाउन सक्नु हुन्छ ।

घर सजावटका लागि कम्बिनेशनमा ध्यान दिनु आवश्यक हुन्छ । त्यसैले घरको सजावटको सामान एकै पटक किन्नु हुँदैन । कुन सामान कहाँ राख्दा सहि र राम्रो देखिन्छ  भन्ने ध्यान दिएर मात्र किन्नु पर्छ ।

घर सजावट गर्दा सूर्यको किरणलाई पनि ध्यान दिनु पर्छ । सूर्यको किरण ढाकिने गरि सजावट गर्नु हुँदैन  । कोठा जति उज्यालो भयो, त्यति नै सुन्दर र स्वस्थकर पनि हुन्छ । झ्यालहरुमा पर्दा राख्दा आवश्यक परेको समयमा उज्यालो कोठा भित्र छिर्ने प्रकारको हुनु आवश्यक छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment