Comments Add Comment

एक दर्जन जिल्लाका एनसेल टावरमा विष्फोट र आगजनी

अर्घाखाँचीको एनटीसी टावरमा पनि आगजनी

Photo Credit : घनश्याम पौडेल । अर्घाखाँचीको एनटीसी टावरमा भएको आगजनी ।

१६ साउन, काठमाडौं । अज्ञात समूहले एक दर्जन बढी जिल्लाका एनसेल टावरमा आगजनी र विष्फोट गराएको छ । कतिपय जिल्लामा सञ्चार सम्पर्क विच्छेद हुँदा सेवाग्राही मर्कामा परेका छन् ।

प्रहरीका अनुसार झापा, ललितपुर, सिन्धुपाल्चोक, धादिङ, पूर्वी नवलपरासी, पर्वत, बाग्लुङ, म्याग्दी, कपिलवस्तु, डडेलधुरा, कैलाली, रुपन्देही जिल्लाका एनसेल टावरमा आगजनी र विष्फोट भएको छ । त्यस्तै, मोरङको उर्लाबारीमा रहेको एनसेल टावरमा पनि आगजनी भएको छ ।

रुपन्देहीको गैडहवा गाउँपालिका वडा नं. २ सानो धुपईस्थित टावरमा गएराति १२ बजेतिर आगजनी गरिएको थियो । यद्यपि आगजनीबाट सञ्चार सम्पर्क भने विच्छेद भएको छैन ।

आगजनीबाट टावरमा राखिएका केबल तारको बाहिर बेरिएको प्लास्टिक  जलेको तर सञ्चार सेवा बिच्छेद हुने गरी क्षति नभएको इलाका प्रहरी कार्यालय लुम्बिनीका प्रमुख प्रहरी निरीक्षक ईश्वर कार्कीले जानकारी दिए । आगजनी भएको खबर पाएलगत्तै लुम्बिनी र सूर्यपुराबाट प्रहरी टोली घटनास्थल पुगेकाले ठूलो क्षति हुन नपाएको उल्लेख गर्दै कार्कीले घटनाबारे अनुसन्धान भइरहेको बताए ।

एनटीसी टावरमा पनि आगजनी

यसैगरी अर्घाखाँची जिल्लाको पाणिनी गाउँपालिका वडा नम्बर ५ मैदानको अमजामा रहेको नेपाल टेलिकमको टावरमा पनि आगजनी भएको छ । गएराति करिब ८ बजे आगजनी भएको र सामान्य क्षति पुगेको प्रहरीले जनाएको छ ।

यी सबै आगजनी र विष्फोटका घटना बुधबार रातिदेखि बिहीबार बिहान ८ बजेको बीचमा भएका छन् ।

विष्फोट र आगजनी कसले गरायो भनेर एकीन भएको छैन, तर विप्लव समूहको संलग्नता रहेको अनुमान छ । विप्लव समूहले एनसेल र एनटीसीका टावरमा क्षति पुर्‍याउँदै आएको छ ।

विप्लव समूहले ललितपुरको नख्खुस्थित एनसेल मुख्यालय अगाडि १० फागुनमा बम विष्फोट गराउँदा एक जनाको मृत्यु र तीन जना घाइतेसमेत भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment