Comments Add Comment

एभरेष्ट बैंकको मूनाफा ३ अर्ब नाघ्यो, ब्याज आम्दानी ५ अर्ब ६३ करोड

१६ साउन, काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले आर्थिक वर्ष २०७५/७६ को चौथो त्रैयमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । बैंकले बिहीबार सार्वजनिक गरेको वित्तीय विवरण अनुसार गत आर्थिक वर्षमा ३ अर्ब ४ करोड रुपैयाँ खुद मूनाफा आर्जन गरेको छ ।

अघिल्लो बर्ष बैंकको नाफा २ अर्ब ५८ करोड रुपैयाँ मात्रै थियो । एक वर्षको अवधिमा १८ प्रतिशतले मूनाफा बढाएर बैंकले ३ अर्ब ४ करोड रुपैयाँ खुद मूनाफा आर्जन गरेको हो ।

नाफासँगै अन्य सूचकहरुमा पनि बैंकले सुधार गरेको छ । बैंकले ब्याज आम्दानी ५ अर्ब ६३ करोड रुपैयाँ पुर्याएको छ । आर्थिक वर्ष २०७४/७५ को तुलनामा २०७५/७६ मा करिब १६ प्रतिशतले सुधार गर्दै बैंकले खुद आम्दानी ५ अर्ब ६३ करोड रुपैयाँ आर्जन गर्न सफल भएको हो ।

कर्जामा लिने र निक्षेपमा दिने ब्याजदर बिचको अन्तर (स्प्रेड रेट) बैंकको ४.२९ प्रतिशत देखिएको छ । नेपाल राष्ट्र बैंकले स्प्रेड रेट ४.५ सम्म झार्न असार मसान्तसम्मको समयसीमा दिएको थियो ।

वित्तीय विवरण अनुसार बैंकले राष्ट्र बै.कले भनेको भन्दा कम स्प्रेड रेट बनाउन सफल भएको हो । उता बैंकको आधार दर (बेस रेट) मा पनि सुधार भएको छ ।

अघिल्लो आर्थिक वर्षमा ८.४५ प्रतिशत रहेको बेस रेटलाई घटाएर बैंकले गत आर्थिक वर्षमा ८.१२ प्रतिशतमा झारेको छ । बैंकले ऋण लगानी १ खर्ब ४ अर्ब रुपैयाँ पुर्याएको छ भने निक्षेप १ खर्ब २९ अर्ब रुपैयाँ पुर्याएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment