Comments Add Comment

६० वर्षका भए सञ्जय दत्त, यस्ता छन् उनका रोचक कुरा

आज २९ जुलाईमा बलिउडका अभिनेता सञ्जय दत्तले ६० औं जन्मदिन मनाएका छन् । सञ्जयको बर्डडेकै अवसर पारेर उनको आगामी फिल्म ‘केजिएफ-२’ को उनको नयाँ लुक पनि सार्वजनिक गरिएको छ ।

सञ्जयले उक्त फिल्ममा अधीराको चरित्र निर्वाह गरेका छन्, जसको एउटा स्केच निर्माताहरुले सार्वजनिक गरेका हुन् । सामाजिक सञ्जालमा सञ्जयको नयाँ लुक सार्वजनिक गर्दै फिल्मका निर्माताले लेखेका छन्-‘सञ्जय दत्त अधीराको रुपमा । तपाईंलाई जन्मदिनको धेरै धेरै शुभकामना सर ।’

फिल्मको आफ्नो नयाँ लुक सार्वजनिक गरिनुका अतिरिक्त सञ्जयले परिवारका सदस्यहरुसँग मिलेर आफ्नो जन्मदिनको केक समेत काटेका छन् । आईतबार राती उनले श्रीमती मान्यता तथा छोराहरु शाहरान तथा इकरासँग बर्थडे डिनरमा समेत रमाए । त्यसक्रममा सञ्जयकी बहिनी पि्रया दत्त तथा परिवारका अन्य सदस्यहरु पनि उपस्थित थिए ।

सञ्जय दत्तका पाँच रोचक कुरा

२९ जुलाई १९५९ मा जन्मिएका सञ्जय दत्तको पहिलो फिल्म हो ‘रकी’, जुन सन् १९८१ मा प्रदर्शन भएको थियो । उक्त फिल्म प्रदर्शन हुनु भन्दा अघि नै सञ्जय दत्त लागूऔषदको सेवन तथा अन्य नराम्रा लतमा फसिसकेका थिए ।

उनी लागू औषदको दुव्र्यसनमा यसरी फसेका थिए कि एक दिन उनी हेरोइन लिएर सुतेका थिए । भोक लागेर उठेपछि उनकै छेउमा रहेका काम गर्ने व्यक्ति उनलाई देखेर रुन थाले । सञ्जयले उनलाई किन रोएको भनेर जिज्ञासा राखे ।

उनको जवाफ थियो-बाबा, तपाईं दुई दिनपछि उठ्नु भएको हो । त्यसको केही महिनापछि सञ्जयलाई अमेरिकामा दुई वर्षसम्म उपचार गरियो । उपचार सफल भएपछि मात्रै उनी लागू औषदको प्रयोगबाट टाढा रहन सफल भए ।

सञ्जय दत्त र रेखाबीचको अफेयरको प्रसंगले पनि एक पटक राम्रै चर्चा पाएको थियो । त्यसताका केही अखबारहरुले त सञ्जय र रेखाले विवाह नै गरेको समाचार समेत प्रकाशित गरेका थिए । केही व्यक्तिहरुको भनाइ के छ भने अमिताभ बच्चन र रेखाको जोडीलाई टुक्क्र्याउनका लागि त्यसप्रकारको चर्चा चलाइएको थियो ।

झट्ट हेर्दा रफ-टफ देखिने सञ्जय दत्तको नाम थुप्रै अभिनेत्रीहरुसँग पनि जोडियो । ती मध्ये अभिनेत्री माधुरी दिक्षितप्रति भने सञ्जय दत्त निकै गम्भिर भएका थिए । श्रीमती ऋचाको निधनपछि सञ्जय निकै दुःखी भए । त्यसक्रममा उनले माधुरी दीक्षितसँग केही फिल्महरु गरिरहेका थिए । भनिन्छ, दुबै जना नै एक-अर्काप्रति आकषिर्त भएका थिए र दुबैले विवाह नै गर्ने निर्णय गरिसकेका थिए ।

यद्यपि, टाडाका कारण सञ्जय दत्त जेल जानु परेपछि माधुरीले उनीसंग विवाह गर्ने योजनाबाट पछि हटेको बताइन्छ । त्यसपछि दुबैको सम्बन्ध टुक्रियो । यद्यपि, आफूहरुबीच अफेयर भएको कुरालाई भने दुबैले कहिले पनि स्विकारेनन् ।

सन् १९८६ मा अभिनेता राजेन्द्र कुमारले आफ्ना छोरा कुमार गौरवको अभिनय करियरलाई स्थिरता दिनका लागि ‘नाम’ शीर्षकको फिल्म निर्माण गरेका थिए, जसमा उनले सञ्जय दत्तलाई पनि लिएका थिए । परिणाम ठिक उल्टो निस्कियो ।

उक्त फिल्म सञ्जय दत्तको करियरको टर्निङ प्वाइन्ट बनिदियो । त्यही फिल्मपछि सञ्जय दत्त बलिउडमा राम्ररी स्थापित भए । सञ्जय दत्तको अभिनयबाट अभिताभ बच्चन यति धेरै प्रभावित भए कि कुमार गौरव तथा सञ्जय दत्त दुबैलाई उनले आफ्नो घरमा बोलाएर संगै डिनर मात्र खुवाएनन्, सुनको सिक्री उपहार समेत दिए ।

सलमान खान सञ्जय दत्तका निकै ठूला प्रसंशक रहिसकेका छन् । सलमान खानले सन् ९० को दशकमा सञ्जय दत्तको जस्तो हेयरस्टाइल समेत अपनाएका थिए । ‘साजन’ फिल्ममा दुबैले संग-संगै अभिनय गरेका थिए । त्यही क्रममा उनीहरु क्लोज फ्रेण्ड समेत बने । सञ्जयले नै सलमानलाई जिमप्रति प्रेरित गरेका थिए । पछि टेलिभिजन रियालिटी शो बिग बोसमा समेत उनीहरु दुबै कार्यक्रम प्रस्तोताको रुपमा समेत देखा परे ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment