Comments Add Comment

चीन भ्रमण टोलीका सदस्य चयनप्रति कांग्रेस सांसदको आपत्ति

१६ साउन, बुटवल । प्रदेश सरकारले पार्टीसंग कुनै छलफल र सल्लाह नगरी चीन भ्रमणमा जाने टोलीमा आफ्नो पार्टीका सांसदको नाम समावेश गरेको भन्दै कांग्रेसकै सांसदले प्रदेश सभा वैठकमा आपत्ति जनाएका छन् ।

उद्योग, पर्यटन वन तथा वातावरण मन्त्री लिला गिरीको नेतृत्वमा आउँदो भदौ १० देखि १६ गतेसम्म हुने भ्रमण टोलीमा कांग्रेस सांसद निर्मला क्षेत्रीको नाम रहेको छ । प्रदेश सरकारले नेपाली कांग्रेस संसदीय दलसँग समन्वय नगरी आफ्नो दलकी सांसदको नाम समावेश गरेको भन्दै कांग्रेस सांसद बीरबहादुर रानाले प्रदेश सभा वैठकमा विरोध जनाएका हुन् ।

बिहीबार बसेको प्रदेशसभाको बैठकमा बिशेष समय लिएर बोल्दै सांसद रानाले प्रदेश सरकारले संसदीय मुल्य मान्यता मिचेर आफ्नो दलका सांसदको नाम आफुखुशी चयन गरेको भन्दै आपत्ति जनाए ।

‘हाम्रो दलका सांसदको नाम छनोट दलीय प्रतिनिधित्वको आधारमा गराइएको हो कि व्यक्तिगत रिलेशनको आधारमा हो ? सांसद रानाले प्रश्न गरे ‘यस विषयमा पार्टी संसदीय दलसँग समन्वय गरिएको छैन,यो संसदीय मूल्य मान्यता विपरीत हो ।’

सांसद रानाले पाल्पा दरवार संग्राहालय हाताभित्र हाल धमाधम बिभिन्न संरचनाहरु निर्माण भइरहेको भन्दै पुरातत्व विभागसँगको समन्वय र स्विकृति बिना त्यस्ता संरचना निमांण गर्न नहुने बताए ।
उनले पाल्पाको भैरवस्थान मन्दिरमा चढाइने भेटी तथा दानको रकम अनियमितताका बिषयमा छानबिन गर्न माग गरे ।

पार्टीसंग समन्वय नगरी प्रदेश सरकारले पार्टीका सांसदको नाम छनोट गरेको बिषयलाई लिएर बिहीबार नै कांग्रेस संसदीय दलको बैठक बसेको थियो । बैठकले त्यस बिषयमा मुख्यमन्त्री तथा मन्त्रिपरिषदको ध्यानाकर्षण गराउने निर्णय समेत गरेको छ । भ्रमण टोलीमा भ्रमणमा मन्त्री गिरी सहित प्रदेशसभा सदस्यहरु दधिराम न्यौपाने, सरस्वती गौतम, निर्मला क्षेत्री, बावुराम गौतम, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव बसन्त अधिकारी, उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयका सचिव धनञ्जय पौडेल, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका कृष्ण केसी र चिनीया भाषाका ज्ञाता डा. सागर न्यौपाने रहेका छन् ।

शुक्रबारको संसद वैठकमा बिशेष समय लिएर बोल्दै प्रदेशसभा सदस्य विजय बहादुर यादवले किसानलाई मलखाद र विउ विजन समयमै उपलब्ध गराउन पटक÷पटक आवाज उठाए पनि प्रदेश सरकारले चासो नदिएको गुनासो गरे ।

नेकपाका सांसद इन्द्रप्रसाद खरेलले दुई तिहाइ बहुमत हुदा पनि सरकारले काम गरेर देखाउन नसकेको गुनासो गरे । सांसद दिनेश पन्थीले गुल्मीको सत्यवती गाउँपालिकामा गएको बाढी पहिरो पिडितहरुको राहत,उद्धार र पुनःस्थापनामा प्रदेश र संघीय सरकारबाट भएको प्रयास पर्याप्त नभएको भन्दै राहत र पुनःस्थापना थप ध्यान दिन ध्यानाकर्षण गराए । अर्का सांसद डा. पुरनमान बज्राचार्यले तिलोत्तमा नगरपालिकामा रहेका बुद्धका ५ वटा मुर्तिहरु तोडफोड भएको घटनाका दोषिहरु अझै सम्म पक्राउ पर्न नसकेको भन्दै दोषिहरुलाई कानूनी दायरामा ल्याउन माग गरे ।

प्रदेशसभाको बिहिबारको बैठकमा सामाजिक विकास मन्त्री सुदर्शन बरालले आफ्नो मन्त्रालयले गत आर्थिक बर्षमा भए गरेका कार्यहरुको बारेमा प्रदेशसभालाई जानकारी गराएका थिए । बिहीबारकै बैठकमा आन्तरिक मामिला तथा कानून मन्त्री कुलप्रसाद केसीले प्रदेश सूचना तथा संचार प्रविधि प्रतिष्ठानको स्थापना तथा संचालन सम्वन्धमा व्यवस्था गर्न बनेको विधेयक पेश गरेका थिए ।

त्यसैगरी बिहिबारकै प्रदेशसभा बैठकले उद्योग,पर्यटन,वन तथा वातावरण मन्त्री लिला गिरीले पेश गरेको साझेदारी सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र प्राइभेट फर्म दर्ता गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक दफावार छलफका लागि प्रदेशसभाको अर्थ, उद्योग तथा पर्यटन समितिमा पठाउने निर्णय गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment