Comments Add Comment

‘चालकसँग एक मिनेट’ले घटेन दुर्घटना, सुरु भयो ‘चालकसँग चिया’ कार्यक्रम

रौतहटमा एक वर्षमा १८० दुर्घटना हुँदा ६४ को मृत्यु 

२० साउन, रौतहट । रौतहटका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै सडक दुर्घटनामा एक वर्षको अवधिमा ६४ जनाको मृत्यु भएको छ । आर्थिक वर्ष २०७५/७६ मा भएका १८० दुर्घटनामा ६४ जनाको मृत्यु र २८५ जना घाइते भएका हुन् । आर्थिक वर्ष २०७४/७५ मा ४३ जनाको मृत्यु भएको थियो ।

दुर्घटना र मृतकको संख्या बढ्दै जानुमा चालकको लापरवाही प्रमुख कारण रहेको जिल्ला ट्राफिक कार्यालय रौतहटका प्रहरी निरीक्षक विजय श्रेष्ठले बताए । सडकको अवस्था, मेशिनरी गडबडी, चालकमा दक्षताको कमी र ट्राफिक नियम उल्लघंन गरी जथाभावी सवारी साधन चलाउँदा प्रत्येक वर्ष दुर्घटना बढ्ने गरेको श्रेष्ठको भनाइ छ ।

दुर्घटना नरोकिएपछि ट्राफिक प्रहरीले सचेतनाका कार्यक्रमहरु पनि सन्चालन गर्दै आएको छ । दुर्घटना न्यूनीकरणका लागि गत वर्षसम्म ‘चालकसँग एक मिनेट’, कार्यक्रम चलाएको ट्राफिक प्रहरीले यसै वर्षदेखि ‘चालकसँग चिया’ कार्यक्रम पनि सुरू गरेको छ ।

चालकसँग चिया कार्यक्रममा ट्राफिक प्रहरीहरुले चालकहरुसँग बसेर चिया खाँदै ट्राफिक नियम पालना गर्न सिकाउँछन् । यो कार्यक्रम प्रायजसो वागमती चेक पोष्टमा राति ११-१२ बजेदेखि एक घण्टासम्म चल्ने गर्दछ ।

जिल्ला ट्राफिक कार्यालय रौतहटका अनुसार सबैभन्दा बढी मोटरसाइकल दुर्घटनामा परेका छन् । खास गरी युवाहरुको मोटरसाइकलप्रति बढ्दो मोह र अत्याधिक गतिमा चलाउने जस्ता कार्यले मोटरसाइकल दुर्घटना हुने गरेको प्रहरीको निष्कर्ष छ । चालक अनुमति पत्र नभएका कम उमेरका किशोरहरुले हेलमेटसमेत नलगाइ मोटरसाइकल चलाउँदा क्षति बढी हुने गरेको छ । त्यसैले विद्यालय उमेरका किशोर किशोरीहरुलाई लक्षित गरी ट्राफिकसम्बन्धी जनचेतना फैलाउन प्रशिक्षण कार्यक्रमहरु समेत सन्चालन गरेको जिल्ला ट्राफिक कार्यालय रौतहटले जनाएको छ ।

ट्राफिक प्रहरीले गत आर्थिक वर्षमा २२ हजार ७२९ सवारी साधनहरुलाई कारवाही गरेको छ । कारवाहीबाट १ करोड ४६ लाख ३८ हजार रुपैयाँ राजश्व संकलनसमेत भएको छ । कारवाहीमा पर्नेमा सबैभन्दा बढी ट्रक चालकहरु छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment