
२० साउन, काठमाडौं । काभ्रेको भुम्लु गाँउपालिकाको एनसेल टावरमा आगजनी गरेको आरोपमा प्रहरीले विप्लव समूहका रामेछाप जिल्ला इन्चार्जलाई पक्राउ गरेको छ ।
टावरमा आगो लगाएको र बम पड्काएको आरोपमा विप्लव समूहका रामेछाप जिल्ला इन्चार्ज काभ्रेको धुलिखेल नगरपालिका ५ का यादव ढुंगेल पक्राउ परेका हुन् ।
ढुंगेललाई भम्लु गाउँपालिकाको एनसेल टावरमा आगजनी गरेको आरोप छ । काभ्रेका प्रहरी प्रमुख एसपी जयराज सापकोटाले ढुंगेललाई टावर आगजनी कसुरमा पक्राउ गरेको बताए । ‘आगजनी र बिष्फोटमा सहभागिता देखिएकाले नियन्त्रणमा लिएका हौं’ उनले भने ।
त्यस्तै इलाका प्रहरी कार्यालय बनेपाले शुक्रबार राति विप्लव समूहका दुई कार्यकर्तालाई पक्राउ गरेको छ । पनौती–४ वाट विप्लव समूहका जिल्ला सदस्य अनिल रायमाझी र सुन्दर रायमाझीलाई पक्राउ गरेको इलाका प्रहरी कार्यालय बनेपाका प्रहरी निरीक्षक निरञ्जन भट्टराइले पुष्टि गरे ।
उनीहरुलाई २०७६ वैशाख १ गते विप्लव समूहले आह्वान गरेको नेपाल बन्दको क्रममा पनौती–७ खोपासीमा बिष्फोटक पर्दाथ राखेर आंतक सिर्जना गरेको आरोपमा पक्राउ गरेको उनले बताए । पक्राउ परेका दुबै जनालाई जिल्ला अदालत काभ्रेवाट ७ दिनको म्याद थप गरेर अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया 4