Comments Add Comment

वनमन्त्री बस्नेत र सचिव ओलीबीच करार सम्झौता

सचिव र सहसचिवबीच पनि सम्झौतामा हस्ताक्षर

Photo Credit : दयानिधी भट्ट

२१ साउन, काठमाडौं । वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेत र मन्त्रालयका सचिव डा. विश्वनाथ ओलीबीच वार्षिक करार सम्झौता भएको छ । मन्त्रालयमा सोमबार आयोजित कार्यक्रममा मन्त्री बस्नेत र सचिव ओलीबीच सम्झौतापत्रमा हस्ताक्षर भएको हो । मन्त्री बस्नेतसँग सम्झौतापछि सचिव ओली र १४ सहसचिवहरुबीच पनि सम्झौता गरिएको थियो ।

सो अवसरमा मन्त्री बस्नेतले मुलुकको आवश्यकता र जनताको अपेक्षालाई परिणाममा व्यक्त हुने गरी काम गर्न मातहतका कर्मचारीलाई निर्देशन दिएको मन्त्री बस्नेतका प्रेस संयोजक दयानिधी भट्टले जानकारी दिए । ‘मुलुकको आवश्यकता र जनताको अपेक्षा परिणाममा देखिने गरी काम हुनुपर्छ’, मन्त्री बस्नेतले भन्नुभयो, ‘काम गर्दा हामी सबैले सुशासनलाई प्राथमिकतामा राख्नैपर्छ, अन्यथा सरकारको लक्ष्य पूरा हुन सक्दैन ।’

यो पनि पढ्नुहोस प्रधानमन्त्री र मन्त्रीवीच एकवर्षे लिखित सम्झौता !

मन्त्री बस्नेतले दण्ड र पुरस्कारको व्यवस्थालाई पारदर्शी बनाउन प्रधानमन्त्रीले मन्त्रीसँग र सचिवले सहसचिव तथा विभागीय प्रमुखहरुसँग करार सम्झौताको नीति सरकारले ल्याएको उल्लेख गरे ।

कार्यक्रममा वन तथा वातावरण मन्त्रालय हेर्ने राष्ट्रिय योजना आयोगका सदस्य डा. कृष्णप्रसाद ओलीले इतिहासमै पहिलोपटक सरकारले मन्त्रीहरुसँग कार्यसम्पादन सम्झौता गरेको भन्दै त्यसले मन्त्रीहरुलाई र कर्मचारीलाई आत्मअनुशासित बनाउन मद्दत गर्ने विश्वास व्यक्त गरे ।

मन्त्रालयका सचिव डा. ओलीले चालु आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटले निर्धारण गरेका योजनाहरुलाई कार्यसम्पादन सम्झौतामा समेटिएको जानकारी दिए ।

कार्यक्रममा सचिव ओली र १४ सह-सचिवहरुबीच पनि कार्यसम्पादन सम्झौतामा हस्ताक्षर भयो । सचिव ओलीले हरेक एक महिनामा कार्यप्रगतिबारे जानकारी लिने-दिने काम गर्ने बताए ।

सचिव ओली र वन तथा जलाधार महाशाखा प्रमुख कृष्णप्रसाद आचार्य, जलवायु परिवर्तन व्यवस्थापन महाशाखा प्रमुख डा. महेश्वर ढकाल, सहभागितामुलक वन व्यवस्थापन महाशाखा प्रमुख चन्द्रमान डंगोल, वातावरण तथा जैविक विविधता महाशाखा प्रमुख यज्ञनाथ दाहाल, प्रशासन महाशाखा प्रमुख चक्रपाणि पाण्डे, वन विभागका महानिर्देशक डा. रामप्रसाद लम्साल, वन अनुसन्धान तथा प्रशिक्षण केन्द्रका महानिर्देशक दीपक खराल र वनस्पति विभागका महानिर्देशक सञ्जिवकुमार राईबीच पनि कार्यसम्पादन सम्झौतामा हस्ताक्षर भएको छ ।

यस्तै सचिव ओली र रेड कार्यान्यवन केन्द्रकी प्रमुख राधा वाग्ले, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक मनबहादुर खड्का, राष्ट्रपति चुरे संरक्षण कार्यक्रमका सदस्यसचिव डा. पेमनारायण कँडेल ननगठित नेपाल वन निगमका प्रमुख कार्यकारी अधिकृत डा. रामप्रसाद लम्साल र जडिबुटी उत्पादन तथा प्रशोधन कम्पनी लिमिटेडका महाप्रबन्धक ज्ञानेश्वर कार्कीबीच पनि करार सम्झौतामा हस्ताक्षर भएको मन्त्रालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment