
२२ साउन, काठमाडौं । विद्युतीय कारोबार गर्ने न्यूरोडका एक व्यापारीले आर्थिक वर्ष २०६८/०६९ यता साढे ५६ करोड रुपैयाँ कर छलेको विवरण आन्तरिक राजस्व विभागले सार्वजनिक गरेको छ ।
व्यापारी अनिल केडियाले अनिल ट्रेड कन्सर्नबाट बास्तविक कारोवार लुकाई आयकर र मूल्य अभिवृद्धि करवापत ५६ करोड ४२ लाख रुपैयाँ राजस्व छलि गरेको विभाग अन्तरगतको आन्तरिक राजस्व कार्यालय नयाँ सडकले जनाएको हो ।
गोप्य सूचनाका आधारमा अनुसन्धान गर्दा उक्त रकम बराबरको कर छलि भएको पाइएको कार्यालयको भनाइ छ । कार्यालयका अनुसार उक्त कम्पनीका कागजात २५ पुस २०७५ मै बरामद गरिएको थियो । छानविन गर्दा केडियाले आफ्नो कम्पनीको कारोबार कर्मचारी र अन्य व्यक्तिका नाममा दर्ता गरी कारोबार भने आफैंले गर्दै आएका थिए ।
कर्मचारीका नाममा दर्ता गरेका फर्म/कम्पनीबाट टिभीका पार्टपूर्जा विदेशबाट आयात गरी सामसुङ, सोनी ब्राण्डमा टिभी उत्पादन गरी बजारमा पठाउने गरेको कार्यालयले तथ्य फेला पारेको हो ।
कार्यालयका अनुसार उक्त कम्पनीका लागि आर्थिक वर्ष २०६८/६९ का लागि ३ करोड ६० लाख, आव २०६९/७० का लागि ३ करोड ६८ लाख, आव २०७०/७१ का लागि ४ करोड ६८ लाख, आव २०७२/७३ का लागि ९ करोड ५७ लाख, आव २०७३/७४ मा ७ करोड ७५ लाख र आव २०७४/७५ का लागि १० करोड ८९ लाख गरी कूल ४० करोड २० लाख ६ हजार आयकर निर्धारण भएको छ । मूल्य अभिवृद्धि करतर्फ आव २०६८/६९ देखि २०७५/७६ सम्म १६ करोड २२ लाख २१ हजार रुपैयाँ तिर्नुपर्ने गरी कर निर्धारण गरिएको छ ।
कार्यालयका अनुसार कम्पनीको आव २०७५/७६ मा करयोग्य आय ८ करोड ९१ लाख ४९ हजार रुपैयाँ रहेको छ । यस रकमको विवरणसमेत समावेश गर्न कार्यालयले केडियाका नाममा पत्राचार गरेको छ । कार्यालयबाट तय भएको अन्तिम कर निर्धारण कम्पनीलाई पठाउँदा नबुझेपछि हुलाकबाट बुधबार नै रजिस्ट्री गरी पठाइएको कार्यालयबाट जारी विज्ञप्तीमा उल्लेख छ ।
प्रतिक्रिया 4