Comments Add Comment

जम्मु–कश्मीरमा दल होइन, देश बोल्नुपर्छः कांग्रेस

२३ असार, काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले ‘जम्मु–कश्मीर’मा विकसित घटनाक्रममा पार्टीको छुट्टै धारणा नभएको बताएका छन् । देशको धारणा नै कांग्रेसको धारणा भएको उनले बताए ।

भारत सरकारले जम्मु–कश्मीरले प्राप्त गर्दै आएको ‘विशेष दर्जा’ खारेज गरिदिएको विषयमा कांग्रेसको धारणा के हो ? भन्ने पत्रकारको प्रश्नमा कांग्रेस प्रवक्ता शर्मा भन्छन्, ‘यस्तो विषयहरुमा राजनीतिक दल भन्दा सिंगो राष्ट्रको धारणा बन्नुपर्छ । यसमा नेपाली कांग्रेसको तर्फबाट कुनै छुट्टै टिप्पणी छैन ।’

राष्ट्रको धारणा बन्ने प्रक्रियामा प्रमुख प्रतिपक्षीको सहभागिता हुनुपर्ने र सबै दलले बोक्ने मनोविज्ञान र संस्कृतिलाई पनि समेट्नुपर्ने उनी बताउँछन् । ‘यस्तो विषयहरुमा राष्ट्रको धारणा बनाउने क्रममा प्रतिपक्षको सहभागिता सरकारले जरुरी ठान्यो भने रहन्छ’, प्रवक्ता शर्मा अगाडि भन्छन्, ‘देशको जे धारणा बन्छ, त्यो धारणामा सबै दलहरुले बोक्ने मनोविज्ञान र संस्कृति जरुरी हुन्छ ।’

यद्यपि जारी केन्द्रीय कार्यसमितिमा जम्मु–कश्मीरबारे विकसित घटनाबारे छलफल भयो र पार्टीले कुनै निर्णय गरे जानकारी गराउने उनले प्रष्ट पारे ।

‘संविधान विपरीत ट्रेड यूनियनलाई कस्न खोजियो’

सरकारले संविधान विपरीत कर्मचारी ट्रेड यूनियनलाई कस्न खोजेको कांग्रेस प्रवक्ता शर्माको आरोप छ । खासगरी आधिकारिक ट्रेड युनियनले मात्रै सामूहिक रुपमा माग राख्न पाउने प्रस्तावित विधेयकको व्यवस्थाप्रति कांग्रेसको आपत्ति छ ।

राज्य व्यवस्था तथा सुशासन समितिमा विचाराधीन ‘निजामती सेवाको गठन, संचालन र संवादका शर्त’ सम्बन्धी विधेयकको दफा १२० को उपदफा ६ मा आधिकारिक ट्रेड यूनियन बाहेक अन्य कुनै पनि यूनियन वा निजामती कर्मचारीको समूहले सरकारसमक्ष सामूहिक रुपमा माग प्रस्तुत गर्न नपाउने व्यवस्था छ ।

यस्तो प्रावधान संविधानले प्रत्याभूत गरेको अधिकार विपरीत रहेको प्रवक्ता शर्माको जिकिर छ । ‘ट्रेड यूनियनलाई व्यवस्थित र व्यवहारिक बनाउने विषयमा छलफल गर्न सकिन्छ । तर, घुमाउरो ढंगले ट्रेड यूनियनलाई प्रतिबन्धित नै गर्ने वा अधिकार नदिएर कस्ने नियतसंग सम्झौता गर्न सकिन्न’, उनले भने ।

पत्रकार सम्मेलनमा प्रवक्ता शर्माले नेपाली कांग्रेसलाई हेर्ने नेकपाको प्रतिवेदनमा दृष्टि होइन दृष्टिदोष प्रस्तुत गरिएको भन्दै त्यो देख्दा दया मात्र लागेको टिप्पणी गरे ।

सत्तारुढ नेकपाले तत्कालीन एमाले र माओवादी एकीकरण भएपछि निर्माण गरिरहेको राजनीतिक दस्तावेज औपचारिक रुपमा सार्वजनिक गरिसकेको छैन । तर, विभिन्न सञ्चारमाधयममा आएका समाचारको आधारमा शर्माले टिप्पणी गरेका हुन् ।

‘मंसिरसम्म आन्तरिम संरचना टुङ्गिन्छ’

कांग्रेस प्रवक्ता शर्माले आगामी मंसिर मसान्तसम्म पार्टीको आन्तरिम संरचना टुङ्ग्याइने बताएका छन् ।

अन्तरिम संरचनालाई मंसिर मसान्तसम्म टुङ्ग्याउने गरी गृहकार्य अगाडि बढेको उनले बताए । मंसिर मसान्तसम्म अन्तरिम संरचनाको टुङ्गो लगाएर महाधिवेशनको कार्य तालिकामा प्रवेश पार्टीको तयारी रहेको उनले जानकारी दिए ।

कांग्रेसले पार्टीको एकता तथा सुदृढिकरणका लागि भन्दै राष्ट्रिय जागरण अभियान पनि सञ्चालन गरिरहेको छ । आगामी भदौ २४ गतेदेखि दोस्रो चरण सुरु हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment